ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

११ महीनापछि खुल्यो मिरगञ्ज पुल, ढुवानी खर्च प्रतिट्रक १६ हजार रुपैयाँले घट्ने

२०७९ मंसिर, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
भारतको जोगवनीबाट चार किलोमीटर दक्षिणपश्चिममा रहेको मिरगञ्जस्थित प्रमाणा नदीमाथि बनेको आरसीसी मोटरेबल पुलबाट बुधवार विराटनगर भन्सारतर्फ हिँडेको ६० टन क्षमताको मालवाहक साधन । तस्वीर : वेदराज पौडेल/आर्थिक अभियान
author avatar वेदराज पौडेल

विराटनगर । ११ महीनापछि भारतको जोगवनी नाकाबाट चार किलोमीटरनजिक रहेको मिरगञ्ज पुल सञ्चालनमा आएको छ । साविकको पुल भासिएपछि बनेको नयाँ आरसीसी मोटरेबल पुल सञ्चालनमा आएको हो ।

अब भारतलगायत तेस्रो मुलुकबाट आउने औद्योगिक कच्चा पदार्थलगायत सामग्री बोकेका ढुवानी साधनले विराटनगर भन्सार आइपुग्न तय गर्नुपर्ने दूरी ११६ किलोमीटरले छोटिएको छ । यसबाट व्यवसायीको समय र पैसा दुवै बचत हुनेछ भने व्यवसायको लागत पनि केही कम हुनेछ ।

पुल सञ्चालन नहुँदासम्म जोगवनी नाकाबाट चार किलोमीटर पर आइसकेका ढुवानी साधन सुनसरीको भण्टाबारी नाकाबाट घुमेर विराटनगर भन्सार ल्याउनुपथ्र्यो । पुल नहुँदा दैनिक औसत ६८ ओटा मालवाहक साधन घुमेर आइरहेकोमा बुधवार १६८ ओटा भारतको जोगवनी र नेपालको रानीमा बनेको नेपाल–भारत एकीकृत जाँच चौकी (आईसीपी) बाट नेपाल प्रवेश गरेका छन् । घुम्न नपर्दा एउटा ट्रक/कन्टेनरको १६ हजार रुपैयाँ ढुवानी भाडा जोगिने व्यवसायीको भनाइ छ ।

विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र ढुंगानाले उक्त एकीकृत जाँच चौकीबाट बुधवारदेखि मालवाहक साधन आउन थालेको पुष्टि गरे । भन्सार प्रमुख ताराप्रसाद सापकोटाले मिरगञ्जको पुल आधिकारिक रूपमा सञ्चालनमा आउन बाँकी भए पनि मालवाहक गाडी आईसीपी हुँदै आएको र तिनको संख्या बढेको बताए । मिरगञ्ज पुल भासिँदा १० महीनामा विराटनगर भन्सारबाट हुने कारोबार १८ अर्ब ७५ करोडले घटेको थियो । सुनसरीको भण्टाबारी नाकाबाट घुमाएर ल्याउँदा १० महीनामा व्यवसायीले ९ करोड ६० लाख बराबर अतिरिक्त ढुवानी भाडा तिरेका छन् ।

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाललगायत कार्यसमितिले पुल सञ्चालनमा ल्याउन निकै मेहनत गरेको थियो । संघका महानिर्देशक कृष्ण रेग्मीले मिरगञ्ज पुल सञ्चालनमा आएपछि ढुवानी भाडा कटौती हुँदा औद्योगिक उत्पादनको लागत घट्ने बताए । ढुवानीको समय पनि छोटिने उनले बताए ।

भारतको ल्यान्ड पोर्ट अथोरिटीको जोगवनी कार्यालयका प्रमुख रत्नाकर यादवले मिरगञ्ज पुल तयार भई मालवाहक सवारीसाधनका लागि खोल्न मिल्ने देखिएपछि मंगलवार रातिदेखि आईसीपीबाटै आवतजावतको अनुमति दिएको बताए । पुल र फ्लाइओभरको केही काम बाँकी रहे पनि मालवाहक सवारी आवतजावतमा समस्या नहुने भएपछि लामो यात्रा तय गर्नुभन्दा छोटो बाटो खुला गरिएको उनको भनाइ छ । औपचारिक रूपमा दुवै भन्सार कार्यालयलाई पत्राचार हुन बाँकी रहे पनि अब भीमनगर–भण्टाबारी नाकाबाट ढुवानी साधन आउनजान बन्द हुने र एकीकृत जाँच चौकीबाटै आउजाउ शुरू हुने उनले जानकारी दिए । उनले मंगलवार राति १६० भन्दा बढी मालवाहक साधन नेपाल भन्सारतर्फ प्रवेश गरेको जानकारी दिए ।

राजस्व संकलनमा कमी
सुनसरीको भन्टाबारी नाकाबाट घुमाएर ल्याउनुपर्दा व्यापारमा २५ प्रतिशतले गिरावट आएको अधिकारीहरूको भनाइ छ । पुल भासिनुअघिसम्म विराटनगर भन्सार कार्यालयले दैनिक १४ करोड ५० लाख राजस्व संकलन गर्दै आएको थियो । पुल भासिनु, भारतसँगको उधारो व्यापार बन्द हुनु र आर्थिक मन्दीलगायत कारण अहिले दैनिक १० करोड मात्र राजस्व संकलन भइरहेको छ ।

विराटनगर भन्सारका प्रमुख सापकोटाका अनुसार २०७८ पुस २२ गते मिरगञ्जको पुल भासिएपछि विराटनगर नाकाको व्यापार २५ प्रतिशत घटेको हो ।

यहाँबाट हुने व्यापार मेची भन्सारतिर सरेको थियो । चार किलोमीटर पर आइसकेको सामान फेरि ११६ किलोमीटर घुमाएर जाँचपासका लागि विराटनगर भन्सार ल्याउनुपर्ने र त्यसो गर्दा ढुवानी भाडा बढी पर्ने भएकाले कतिपय व्यवसायीले सामान मगाउन कम गर्दा पनि कारोबारमा कमी आएको उनको भनाइ छ ।

पुल भासिनुअघि दैनिक ४ सय गाडी सामान विराटनगर भन्सारबाट जाँचपास हुन्थ्यो । अहिले दैनिक २०० हाराहारीको मात्र जाँचपास हुने गरेको भन्सार प्रमुख सापकोटाले जानकारी दिए । पुल भासिएयताको १० महीनामा १८ अर्ब ७५ करोडले विराटनगर भन्सारबाट हुने कारोबारमा कमी आएको उनको भनाइ छ ।

२०७२ सालमा आएको बाढीले पनि मिरगञ्ज पुल भासिएको थियो । त्यो बेलामा पनि जोगवनी नाकाबाट हुने आयातनिर्यात ६ महीनासम्म वीरपुर नाका हुँदै सुनसरीको भन्टाबारी नाकाबाट गरिएको थियो । त्यसबेला भारतले पुल मर्मत गरेर पूर्ण भारवहन क्षमतामा सञ्चालन गरेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)