ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कुचकुचे वनमा पर्यटकीय गतिविधि बढ्यो, प्रतिसवारी ५०० रुपैयाँ शुल्क

२०७९ मंसिर, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । जिल्लाको खैरहनीको कुचकुचे मध्यवर्ती सामुदायिक वनमा पर्यटन गतिविधि बढ्न थालेको छ । पर्यटकको लागि यहाँ जीप सफारी शुरु भएसँगै पर्यटकको आकर्षण पनि बढ्दै गएको छ ।

पर्यटकको मनोरञ्जनका लागि डोको स्टेट पनि बनाइएको छ । पछिल्लो समय सौराहादेखि जिप सफारीका लागि यो वनमा पर्यटकहरु आउने गरेका छन् । कुचकुचे वनका अध्यक्ष राजकुमार सिटौलाले सौराहामा बुकिङ गरेर जिप सफारीमार्फत यस वनमा पर्यटक आउने गरेको बताए ।

कतिपय पर्यटकहरु सोझै यस वनमा घुम्न आउने गरेका छन् ।‘अहिले दैनिक सरदर ३० ओटा जिपमार्फत पर्यटकहरु यहाँ घुम्न आइरहेका छन् । सौराहाबाटै बुक गरेर जिप सफारीमार्फत पर्यटक आउँछन, वनका अध्यक्ष सिटौलाले भने’, कतिपय सोझै आइरहेका छन्, तर बस्ने ठाउँ भयो भने थप पर्यटक बढ्छन् । ’

केही समय अघिसम्म कुमरोज वन र कुचकुचे वनमा संयुक्तरुपमा जिप आउने गरे पनि पछिल्लो तीन महिना यता कुचकुचेका लागि छुट्टै जिप आउने गरेको वनका अध्यक्ष सिटौलाले बताए । सौराहादेखि कुमरोज हुँदै कुचकुचेसम्म आउने गरेकोमा विगत तीन महिनादेखि लगातार सोझै यहीं आउने गरेको उनको भनाई छ ।

कुचकुचे वनसँगै कण्ठेश्वरी वन, देवीथान वन र राप्ती एकता सामुदायिक वन जोडिएको छ । पर्यटकहरुलाई यी चार ओटै वन घुम्ने रुट मिलाइएको छ । यी वन क्षेत्रमा चिसापानी ताल, नागदह, हरियाली पार्क, भास्माणी ताल, अजिंगरे घोल, स्टे टावर, घाँसे मैदान रहेका छन् । यहाँ दुर्लभ एकसिंगे गैंडा, बाघ, मृग, बँदेल, भालु, चित्तल, लोर्खके लगायत वन्यजन्तु र चराहरु अवलोकन गर्न पाइने वनका अध्यक्ष सिटौलाले जानकारी दिए ।

सौराहाबाट बुकिङ गरी यहाँ आएपछि वन प्रवेशका लागि प्रतिसवारी ५०० रुपैयाँ शुल्क लाग्नेछ । आम्दानी भएको रकम चार ओटा सामुदायिक वनले भागवण्डा गर्नेछन् । वनको प्रवेशद्धारमा पर्यटन सूचना केन्द्र, कफी सप, फोटो खिच्नका लागि डोको स्टेट बनाइएको छ ।

यहाँ पर्यटकको आकर्षण बढे पनि बास बस्नका लागि सुविधा भने छैन् । सौराहादेखि घुम्न आएर बास बस्न पुन सौराहा नै पुग्नुपर्ने वाध्यता छ । सुरुमा होमस्टेबाट यहाँ पर्यटक राख्ने व्यवस्था गर्न आवश्यक रहेको वनका अध्यक्ष सिटौलाले बताए ।

‘घुम्ने व्यवस्था भयो, बस्न ठाउँ छैन’,वनका अध्यक्ष सिटौलाले भने, ‘यही बास बस्ने वातावरण मिलाउन सके स्थानीयको आम्दानीको स्रोत र रोजगारी पनि बढ्ने थियो ।’ यसका अलावा पिकनिक स्पट, पार्क बनाउन सके आन्तरिक तथा बाह्य पर्यटकमा वृद्धि गर्न सकिने उनको भनाइ छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)