ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मुर्लीधर रुंगटा : कपडा व्यापारबाट उठेको औद्योगिक समूहका असल अभिभावक 

२०७९ मंसिर, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । उद्यमी मुर्लीधर रुंगटा । वीरगञ्जका अग्रज उद्यमी । उनी वीरगञ्जको त्रिजुद्ध हाइस्कूलमा पढ्दा उनका हजुरबुबा लक्ष्मीनारायणले मुख्य सडक खण्डको महावीर मन्दिरअगाडि कपडा पसल चलाउँथे । उनका बुबा रामेश्वरलाल पनि कपडा पसलकै काममा व्यस्त हुने त्यो समयमा मुर्लीधर स्कूलबाट फर्किनेबित्तिकै व्यापारमा सघाउन हतारहतार पसलतिर दौडिन्थे । 

वीरगञ्ज त्यतिबेला अहिलेजस्तो घना बस्तीले भरिएको थिएन । बजारमा औंलामा गन्न सकिने व्यापारी थिए । न वीरगञ्जमा उद्योग कलकारखाना नै अहिलेजस्तो थियो । जीवनका ८५ वसन्त पार गरिसक्दा मुर्लीधरले वीरगञ्जको आर्थिक र सामाजिक जीवनमा धेरै बदलाव देखे/भोगे । तर, आज पनि व्यापारप्रतिको उनको त्यो लगावमा कत्ति पनि कमी आएको छैन । 

बिहान ११ बन्दा नबज्दै वीरगञ्ज आदर्शनगरको कार्यालयमा पुगिसक्छन् । छोरा र नातिहरूले अघि बढाइरहेको उद्यम व्यापारमा अभिभावकीय भूमिका निभाइरहेका रुंगटा पारिवारिक उद्यम यात्रामा आज पनि त्यत्ति नै सक्रिय छन् जतिबेला उनका छोरा नाति पुस्ता उद्यममा सक्रिय भइसकेका थिएनन्, हरेक काममा आफै दौडधुप गर्नुपर्थ्यो । 

रुंगटा परिवार डेढ सय वर्षभन्दा पहिला भारतको राजस्थानबाट वीरगञ्ज आएको थियो । त्यतिबेला वीरगञ्जको छपकैया मुख्य बजार थियो । मुर्लीधरका हजुरबुबा व्यापारका क्रममा वीरगञ्ज आएका थिए । आदर्शनगर विकास भएपछि आफ्नो परिवारको पुस्तौनी कपडा व्यापार पनि यतै सरेको स्मरण गर्छन्, मुर्लीधर । वीरगञ्जका पुराना व्यापारीहरू कपडाको व्यापारबाटै अघि बढेका हुन्, त्यसको अपवाद रुंगटा परिवार पनि होइन । 

रुंगटा सम्झिन्छन्, ‘त्यतिबेला वीरगञ्ज यति ठूलो थिएन । आदर्शनगरमा कपडाका केही पसल मात्र थिए । पुस–माघ महीनामा पहाडबाट लाहुरेहरू भारतको काशी/गया जान आउँथे । उनीहरू चाँदीका सिक्का लिएर कपडा किन्न पसलमा आउँथे ।’  

त्यतिबेला भारतको पटना युनिभर्सिटीबाट सम्बन्धन लिएको त्रिजुद्ध हाइस्कूलबाट बीए उत्तीर्ण गरेका मुर्लीधरले उद्यमबाहेक अरू पेशा सोच्दै सोचेनन् । बुबा रामेश्वरलालको प्रेरणाबाट उद्यममा लागेका उनी आज अरूका लागि प्रेरणास्रोत बनेका छन् । व्यापारका अतिरिक्त सामाजिक सेवाको क्षेत्रमा उनको योगदान उदाहरणीय मानिन्छ । उद्योग व्यापारबाट कमाएको रकमको केही अंश अनिवार्य रूपमा समाज सेवामा लगाउन छोरानातिलाई घचघच्याइरहने उनले रुंगटा वेलफेयर प्रतिष्ठानमार्फत सामाजिक काम गरेका छन् ।

शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरणको क्षेत्रमा रुंगटा समूहको योगदान बढी छ । उक्त योगदानका लागि विभिन्न संघसंस्था र निकायबाट सम्मानित भएका छन् उनी । हालै सरकारले संविधान दिवस २०७९ को अवसरमा उनलाई सुप्रबल जनसेवाश्री विभूषणबाट सम्मानित गरेको छ । 

अभाव र समस्याकै बीचबाट खारिएर अघि बढेका मुर्लीधरले अभावको पीडालाई नजिकबाट भोगेका छन् । अहिले वर्षेनि ४ हजार करोड रुपैयाँको कारोबार गर्ने व्यापारिक समूहका संरक्षक रुंगटाले चाहेका सबै सुखसुविधा उपलब्ध हुन सक्छन् । तर, उनी अहिले पनि आफू एसएलसी दिन काठमाडौं जाँदा भाडा बचाउन ट्रकको पछाडि बसेर आउजाउ गरेको सम्झिन्छन् । ‘सीटमा बसेको १० रुपैयाँ लाग्ने । पछाडि बस्दा २/३ रुपैयाँ तिरे पुग्थ्यो । त्यतिबेला अहिलेजस्तो पैसा थिएन । सीटमा बस्ने पैसा कहाँबाट ल्याउने ?’ उनी स्मरण गर्छन् । 

उनी आफ्नो क्षमताले भ्याउने जतिमात्रै व्यापार विस्तारको सुझाव दिन्छन् । ‘त्यतिमात्रै कर्जा लिनुपर्छ, जति आफ्नो जेथाले थेग्न सक्छ । जथाभावी कर्जा लिनु राम्रो होइन । यसले व्यवसाय र व्यक्ति कसैलाई पनि राम्रो गर्दैन,’ उद्यमीहरूलाई उनको सुझाव छ । अहिलेको औसत व्यापार बढी नाफामुखीमात्र भएकोमा उनलाई चित्त बुझेको छैन । व्यवसायीले व्यापारमा लाभसँगै समाज सेवालाई पनि अघि बढाउनुपर्ने उनको मान्यता छ ।  

हजुरबुबाको निधनपछि कपडाको व्यापार छुट्यो । मुर्लीधरले आदर्शनरमा कुटानी पिसानी उद्योग शुरू गरे । धान, गहुँ, तेल, चिउरा कुटानी पिसानीबाट शुरू भएको रुंगटा समूहको उद्यमयात्रा आज खाद्यान्न उद्यमका नमूना प्रतिष्ठानका रूपमा उभिएको छ । 

रुंगटा समूहमा करीब १ दर्जन उत्पादन र व्यापार उपक्रमहरू आबद्ध छन् । छोराहरू शिव, सुरेश र प्रदीपसँगै नाति राजेश, नारायण, सुधीर र आकाशले यी उद्यमलाई गति दिएका छन् । कुखुराको दाना उत्पादन र पोल्ट्रीमा नमूना काम गरेको यो समूहले चामल, दाल, खानेतेल, पिठो, मैदा, सुजीलगायत उत्पादन गर्दै आएको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)