ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विराटनगर भन्सार कार्यालयको आरोप- प्रहरीले तस्करलाई संरक्षण गर्‍यो

२०७९ मंसिर, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । विराटनगर भन्सार कार्यालयले नेपाल प्रहरी र सशस्त्रले चोरीपैठारीमा संलग्न तस्करलाई संरक्षण दिएको आरोप लगाएको छ । कार्यालयका अनुसार गत शुक्रवार भन्सार कर्मचारीले तस्करी रोक्न गरेको प्रयास प्रहरीले सहयोग नगर्दा असफल भएको छ । सीमामा तैनाथ सशस्त्र प्रहरीले पनि भन्सार कर्मचारीलाई सहयोग नगरेको कार्यालयका सूचना अधिकृत रामचन्द्र ढुंगानाले बताए । 

प्रहरी र सशस्त्रले सहयोग नगर्दा भन्सार कर्मचारीले नियन्त्रणमा लिइसकेका तस्करलाई समेत उनका साथीहरूले फुत्काएर लगेको ढुंगानाले दाबी गरे । प्रहरीले भने ढुंगानाको दाबीको खण्डन गरेको छ । 

ढुंगानाका अनुसार शुक्रवार राति विराटनगर भन्सारका ६ अधिकृत र तीन कार्यालय सहयोगी तस्करीको सूचना आएपछि गस्तीमा निस्किएका थिए । त्यसै क्रममा पुरानो भन्सारको गेट नं ३ मा रहेको प्रहरी बिटअगाडि राति साढे १० बजे तस्करले ठूलो परिमाणमा कपडा प्याक गरिरहेको देखे ।

उनीहरू त्यहाँ पुगेर तस्करीमा संलग्नलाई घेरा हालेर चारजनालाई नियन्त्रणमा लिए । तस्करलाई नियन्त्रणमा लिइसकेपछि प्रहरी टोली पनि पुग्यो । ‘प्रहरी पुगेपछि त झन् ५० जनाभन्दा बढी तस्कर आएर नियन्त्रणमा रहेका चारजनासहित लत्ताकपडा लिएर भागे,’ ढुंगानाले भने, ‘प्रहरीले सामान्य प्रतिकारसमेत गरेन ।’

उक्त घटनाको सीसीटीभी फुटेज भन्सारसँग सुरक्षित रहेको ढुंगानाले बताए । ‘भन्सार अधिकृतले नियन्त्रणमा लिएका तस्करले प्रहरीकै आँखाअगाडि लाखौंको सामान लिएर भाग्दा प्रहरीले सामान्य प्रतिकारसम्म नगर्नु रहस्यमय छ,’ उनले थपे । 

गस्तीमा भन्सार अधिकृत प्रेम सुवेदी, रमेश शाह, अंकित शर्मा, नवकुल शर्मा र जगदिन पूर्वेसहित नौ जना नि:शस्त्र कर्मचारी खटिएका थिए । ‘उनीहरू सबैलाई लछारपछार गर्दै तस्कर भागे,’ ढुंगाना भन्छन्, ‘नि:शस्त्र भन्सार कर्मचारी हेरेका हेर्‍यै भए ।’

घटना स्वीकार्दै इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्लामीले अवैध कारोबार गर्ने समूह र भन्सार कर्मचारीबीच जम्काभेट भएको र त्यसक्रममा तस्करहरू भन्सार कर्मचारीलाई लछारपछार गरी भागेको बताए । ‘प्रहरी घटनास्थल पुग्दा तस्कर भागिसकेका थिए,’ दर्लामीले भने, ‘प्रहरी घटनास्थल पुग्दा भन्सार कर्मचारी सुरक्षाका लागि सीमा प्रहरी थानामा पुगेका थिए ।’

पुरानो भन्सारको गेट नं ३ मा नेपाल प्रहरी र सशस्त्रको चेकपोस्ट छ । पोस्टकै पूर्वउत्तरमा इलाका प्रहरी कार्यालय रानी र पश्चिमउत्तरमा सीमा प्रहरी चौकी छ । सीमा प्रहरी चौकीबाट उत्तरमा क्रमश: सशस्त्र सीमा सुरक्षा बल र प्रदेश १ प्रहरी प्रमुखसहित दंगा नियन्त्रण प्रहरीको मुख्यालय छ ।

भन्सार स्रोतले भने प्रहरीका तिनै निकायको गेटअगाडिबाट हरेक रात संगठित रूपमा तस्करी हुने र प्रहरीले नदेखेझैं गर्ने दाबी गरेको छ । ‘भन्सार कर्मचारीलाई तस्करी भइरहेको सूचना आउँछ, प्रहरीको सहयोग माग्दा प्रहरीले उल्टै तस्करलाई सूचना दिएर भगाउँछ,’ भन्सार स्रोतले भन्यो, ‘नि:शस्त्र कर्मचारी तस्करीका सामान पक्राउ गर्न जाँदा तस्करले उल्टै लछारपछार पार्दै भाग्छन् ।’ तस्करी नियन्त्रण गरेर भन्सार राजस्व असुली बढाउनुभन्दा पनि तस्करबाट ज्यान जोगाउनै सकस हुन थालेको भन्सार कर्मचारी बताउँछन् ।

सरकारले विभिन्न सामानको आयातमा लगाएको बन्देज र चोरीपैठारीले प्रदेश १ को मुख्य भन्सारको राजस्व असुली उल्लेख्य घटेको छ । चालू आर्थिक वर्षको पहिलो चौमासमा विराटनगर भन्सारको राजस्व असुली लक्ष्यभन्दा झन्डै ३६ प्रतिशत कम रहेको प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटाले बताए । 

यो कार्यालयले चालू आर्थिक वर्षको साउनमा ३ अर्ब ६४ करोड लक्ष्यमा २ अर्ब ९५ करोड, भदौमा ४ अर्ब ७६ करोड लक्ष्यमा ३ अर्ब ९१ करोड, असोजमा ५ अर्ब ५ करोड लक्ष्यमा २ अर्ब ७८ करोड र कात्तिकमा ४ अर्ब ७७ करोड लक्ष्यमा २ अर्ब ९३ करोड राजस्व संकलन गरेको छ । 

यसैबीच, विराटनगर भन्सारले एक विज्ञप्ति जारी गर्दै तस्करले भन्सार कर्मचारीको गस्तीमाथि ढुंगामुढा गर्दै अवैध सामान र नियन्त्रणमा रहेका तस्करलाई फुत्काएर लगेको उल्लेख गरेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)