ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

घर-घरमा आलु उत्पादन हुने समयमा नेपालीका भान्सामा भारतीय आलुकै रजगज, पौने ४ अर्बको आयात

२०७९ मंसिर, २७  
समाचार उपभोक्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रतिक्षा कडेल

काठमाडौं । नेपालमा अहिले आलु उत्पादन हुने सिजन हो । शहरी वस्ती बाहेक हरेकका घरमा अहिले आलु उत्पादन हुन्छ । तर, घर-घरमा आलु उत्पादन हुने समयमा पनि नेपालीका भान्सामा भने भारत लगायत तेस्रो मुलुकमा उत्पादन भएको आलुकै रजगज चलिरहेको छ ।

कालीमाटी लगायत उपत्यकाका तरकारी बजारमा अहिले नयाँ आलु देखिन थालेका छन् । तर ती आलु नेपाली माटोमा उत्पादन भएका भने होइनन् । भारत लगायत तेस्रो मुलुकमा उत्पादन भएका कृषि उपजले नेपाली बजारमा राज गरिरहेका छन् ।

नेपालले चालू आर्थिक वर्षको पहिलो ४ महीनामा ३ अर्ब ८८ करोड ३० लाख रुपैयाँ बराबरको १५ करोड २२ लाख २४ हजार ६०० किलोग आलु आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

गत वर्षको सोही अवधिमा नेपालले ४ अर्ब २२ करोड ९८ लाख रुपैयाँ बराबरको १६ करोड ७४ लाख ६७ हजार ६६६ किलो आलु आयात गरेको थियो । यो वर्ष आलु उतपादन बढ्दा आयात हुने परिमाण केही घटेको देखिएनि सिजनमै ५५ प्रतिशत आलु आयात भइरहेको कालीमाटी तरकारी बजारको तथ्याङ्कले देखाउँछ ।

नेपालमा बंगलादेश,भारत, इण्डोनेशिया लगायतका मुलुकबाट आलु आयात हुने गरेको भन्सारको तथ्याङ्क छ ।त्यो मध्ये सबैभन्दा ठूलो हिस्सा भारतीय आलुको रहेको छ ।

५० प्रतिशतले घट्यो आलुको भाउ

नेपाल लगायत छिमेकी मुलुकमा पनि आलु उत्पादन हुने सिजन भएकाले आलुको मूल्य ५० प्रतिशतले घटेको छ । १/२ महीना अघि प्रतिकिलो १२० रुपैयाँसम्म पुगेको आलुको खुद्रा विक्री मूल्य अहिले ६० रुपैयाँमा झरेको छ ।

कालीमाटी तरकारी बजार विकास समितिका अनुसार थोक बजारमा अहिले नेपाली रातो आलु प्रतिकेजी ४५ रुपैयाँदेखि अधिकतम ४८ रुपैयाँसम्म विक्री भइरहेको छ । त्यसै गरी भारतीय रातो आलु प्रतिकेजी ३६ रुपैयाँदेखि ३८ रुपैयाँसम्म विक्री भइरहेको छ । सेतो आलु पनि ३८ देखि ४० रुपैयाँसम्म विक्री भइरहेको छ । खुद्रा बजारमा भने व्यापारी र ठाउँ अनुसार प्रतिकिलो ६० देखि ६५ रुपैयाँसम्म खरीदविक्री भइरहेको छ ।

भर्खर भर्खर आलुको सिजन शुरू भएकाले मूल्य घट्दोक्रममा रहेको र आगामी दिनमा थप मूल्य घट्ने कालीमाटी तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले बताए ।  

उनका अनुसार अहिले नेपालमा आलुको उतपादन बढी हुने बेला हो । अहिले कालीमाटी बजारमा भारतपछि नाला,काभ्रे, साँखु एरियाको आलु बढी भित्रिरहेको छ । यताको उतपादन सकिएपछि पनौती,पाँचखाल एरियाको आलु आउने र नेपाली बजारमा अब वैशाख सम्म नै नेपाली आलु आइरहने श्रेष्ठले बताए ।  

सिजनमै ५५ प्रतिशत आलु आयात

कालीमाटी बजारमा अहिले दैनिक १५० देखि २०० मेट्रिक टन आलु भित्रिरहेको छ । जसमध्ये ५५ प्रतिशत भारत लगायतका मुलुकबाट आयात गरिएको र ४५ प्रतिशत नेपालको आन्तरिक उतपादन रहेको श्रेष्ठको भनाइ छ।

उनका अनुसार नेपाली आलुको माग धेरै छ । तर नेपाली आलुले औषतमा ३०/३२ प्रतिशत मात्रै माग धान्ने हुनाले सिजनमा पनि भारत लगायतका मुलुकमा उत्पादन भएको आलु नै धेरै भित्रिरहेको छ ।

उनले भने, 'हाम्रो उपभोक्ताको माग यति धेरै छ कि हाम्रो आन्तरिक उतपादनले मात्रै माग धान्न सकिँदैन । त्यसैले यहाँको उतपादन भन्दा पनि बढी हामीले भारतबाट आयात गर्नु परेको छ ।'

अहिले आलुको सिजनमै पनि भारत बाट आयात भएन भने नेपालीको भान्सामा आलु नपाक्ने अवस्था रहेको उनको भनाइ छ । नेपालमा अफ सिजनमा त ८० प्रतिसतसम्म भारत, बंगलादेश र भुटानको आलुले माग धान्ने गरेको छ ।

चालू आर्थिक वर्षको साउन देखि मंसिर अन्तिमसातासम्म कालीमाटी बजारमा २६ हजार ८७२ मेट्रिक टन आलु भित्रिएकोमा १८ हजार १९६ मेट्रिक टन अर्थात करीब ६७ प्रतिशत भारत लगायतका मुलुकबाट आयात भएको तथ्याङ्क छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)