ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्याग्दीमा निर्माणाधीन दर्जनौं विकास योजना अलपत्र

२०७९ मंसिर, २८  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीमा निर्माणाधीन विकास निर्माणका दर्जनौं योजना अलपत्र परेका छन् । ठेकेदारले सम्झौताअनुसार काम नगर्दा योजनाहरू अलपत्र परेको स्थानीयको गुनासो छ ।

अलपत्र परेका योजनाहरूमा सडक, मोटरेबल पुल, भवनलगायत छन् । जिल्लामा गण्डकी प्रदेश सरकारका ११ र संघीय सरकारका ९ ओटा विकास योजना अलपत्र परेका हुन् ।

पूर्वाधार विकास कार्यालय म्याग्दीअन्तर्गतका ६ ओटा सडक र पाँचओटा मोटरेबल पुल अलपत्र छन् । यसैगरी खानेपानी र अस्पताल भवन निर्माण योजना समेत रोकिएका छन् । बेनी–जोमसोम, बेनी–दरवाङ, गलेश्वर–पोखरेबगर–भगवती, दरवाङ–ताकम धारापानी, बेनी–बागलुङ र बेनी–बालढुंगा सडक खण्डको काम पटक पटक म्याद थप्दा समेत सम्पन्न हुन सकेको छैन । म्याग्दीका नवनिर्वाचित जनप्रतिनिधि र प्रदेशसभाका सदस्यले जिल्लाका अधुरा योजनालाई ६ महीनाभित्र सम्पन्न गराउन पहल थाल्ने बताएका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजाले जिल्लामा रोकिएका विकास निर्माणका योजना तत्काल अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तीन वर्षदेखि म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर–पिप्ले–भगवती सडकको स्तरोन्नतिको काम अलपत्र छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेको योजना निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले समयमै काम नगर्दा यथास्थितिमा छ ।

आयोजनाको थप भएको समयमा समेत निर्माण कम्पनीले काम शुरू नगरेपछि रघुगंगा गाउँपालिका वडा नं २ र ३ का जनप्रतिनिधिले पूर्वाधार विकास कार्यालयको ध्यानाकर्षण गराएका छन् । वडाध्यक्षद्वय अमृत भण्डारी र खिमबहादुर शाहीले सडक कालोपत्र गर्ने काम छिटोभन्दा छिटो अघि बढाउन माग गर्दै कार्यालय प्रमुख गुरुदत्त अधिकारीलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् । ध्यानाकर्षणपत्रमा सडक कालोपत्र गर्ने योजना निर्माण कम्पनीको लापरबाहीले अलपत्र परेको भन्दै समन्वय गरेर अघि बढाउन माग गरिएको छ ।

प्रमुख अधिकारीले पिप्लेदेखि भगवतीसम्मको सडक कालोपत्रको काम तत्काल अघि बढाउन निर्माण कम्पनीलाई निर्देशन दिइएको बताए । ‘निर्माण कम्पनीलाई कार्यक्षेत्रमा खटिन हामीले पटकपटक पत्र काटेका छौं, यही महीनाको अन्तिमदेखि काम सुचारु हुन्छ,’ उनले भने ।

पिप्लेदेखि भगवती जोड्ने सडक कालोपत्र गर्न निर्माण कम्पनीले सडक फराकिलो बनाउने, ग्रेड मिलाउने, नाली निर्माण गर्ने लगायत काम गरेर छाडेको थियो । भ्याटसहित १८ करोड ४१ लाख ८३८ रुपैयाँमा ठेक्का सम्झौता भएको यो योजनाअन्तर्गत ८ किलोमिटर सडक ८ मिटर फराकिलो बनाउने र ५ दशमलव ५ मिटर कालोपत्र गर्नुपर्नेछ । प्रदेशका अन्य योजना तत्काल काम अघि बढाउन निर्माण कम्पनीलाई ताकेता गरिरहेको पूर्वाधार कार्यालयले बताएको छ । राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोरअन्तर्गत म्याग्दीको बेनीदेखि पर्वतको मालढुंगासम्मको १३ किलोमिटर लामो बेनी–मालढुंगा सडक आयोजना पनि अलपत्र परेको छ । ठेकेदार कम्पनीले बीचैमा छाडेपछि यो खण्डको काम रोकिएको हो । सडक अस्तव्यस्त पारेर ठेकेदार कम्पनी चार महीनादेखि कार्यस्थलबाट बाहिरिएको छ । सडक अस्तव्यस्त हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । यो सडकमा १३ किलोमिटर दूरी पार गर्न सवारीसाधनलाई डेढ घण्टा लाग्ने गरेको छ । बेनी र मुस्ताङ भ्रमण गर्न आउने पर्यटक सडकको दूरवस्थाका कारण घण्टौंसम्म जाममा फस्ने गरेका छन् । वर्षात्को समयमा सडक माथिबाट खसेको पहिरो, खाल्डाखुल्डी र अव्यवस्थित रूपमा राखिएका निर्माण सामग्रीका कारण यात्रुले सास्ती भोग्नुपरेको छ ।

राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत मालढुंगा–बेनी खण्डको १३ किलोमिटर स्तरोन्नति गर्ने कामको २०७७ चैतमा ठेक्का सम्झौता भएको थियो । बेनी–जोमसोम–कोरला सडक आयोजनाले ५२ करोड ८६ लाखमा ३१ हजार २८१ रुपैयाँमा एपेक्स–खड्का–कृष्ण जेभीसँग ठेक्का सम्झौता गरेको हो ।

निर्माणको जिम्मा लिएको कम्पनीका सहायक ठेकेदार कम्पनी ओमकारेश्वर कन्स्ट्रक्सनले अघिल्लो वर्ष सडक स्तरोन्नति थालेको थियो । पछिल्लो समय ठेकेदारबीच विवाद र असमझदारी बढेपछि योजना निर्माण रोकिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका इन्जिनीयर मन्दा पन्तले बताइन् । यो सडक खण्डको भौतिक प्रगति अहिलेसम्म २४ प्रतिशत मात्र छ ।

आगामी चैत मसान्तसम्ममा योजना सम्पन्न गर्ने आयोजनाले लक्ष्य राखेको थियो । तर ठेकेदारले ढिलासुस्ती गर्दा समयमै सम्पन्न हुने देखिँदैन । ६ मिटर चौडाइको यो सडकलाई ९ मिटर फराकिलो बनाएर अमेरिकी अस्फाल्ट प्रविधिको कालोपत्र गरिने योजनामा उल्लेख छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)