ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विदेश निर्यात हुन थाल्यो म्याग्दीको टिमुर

२०७९ पौष, १  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीमा उत्पादित टिमुर विदेश निर्यात हुन थालेको छ । यहाँ उत्पादित टिमुर बेल्जियम, कोरिया, जापान र तिब्बतमा निर्यात हुन थालेको हो । टिमुर निर्यात हुन थालेपछि किसानको आम्दानी समेत बढेको छ ।

खोल्सा, भिरालो जमीन र खाद्यान्न बाली उत्पादन नहुने ठाउँमा गरिएको टिमुरखेती म्याग्दीका किसानका लागि आम्दानीको गतिलो स्रोत बनिरहेको छ । म्याग्दीमा सबैभन्दा धेरै टिमुरखेती बेनी नगरपालिका–१० स्थित तोरीपानीमा हुने गरेको छ । टिमुर कृषक आनन्द रिजालका अनुसार गतवर्ष यहाँ ५० मुरीभन्दा बढी टिमुर उत्पादन भएको थियो ।

यहाँ उत्पादन भएको टिमुर बेनी, जोमसोम, पोखरा, काठमाडौं लगायत बजारमा विक्री हुनुका साथै विदेशमा समेत निर्यात हुन थालेको उनले बताए । टिमुर प्रतिकिलो २ हजार ५०० देखि ४ हजार रुपैयाँमा विक्री हुने गरेको कृषकहरू बताउँछन् ।

बेनी नगरपालिका–९ का तोरीपानी, धावा, धुपीबोट, ढोलथानका करीब १५० घरपरिवारले व्यावसायिक टिमुरखेती गरिरहेका छन् । म्याग्दीमा २५ हेक्टर क्षेत्रफल जमीनमा टिमुरखेती भएको डिभिजन वन कार्यालयले जानकारी दिएको छ ।

धेरैजसो कृषक टिमुर टिपेर सुकाई बजारमा पुर्‍याउने गर्छन् भने व्यापारीहरू खरीद गर्न गाउँमै समेत पुग्ने गरेको भुमेसिद्ध टिमुर सञ्जाल, घतानका अध्यक्ष सागर बानियाँले बताए ।

यस वर्ष तोरीपानीमा ११० मुरी टिमुर उत्पादन हुने अनुमान गरिएको बानियाँको भनाइ छ । सञ्जाल अन्तर्गत १९ ओटा समूहका करीब १०० घरपरिवार कृषकले टिमुरखेती गरेका छन् ।

तोरीपानीका साथै नेप्टेचौर, स्यानीखेत, काउलेगौडा, भगवती, नारच्याङ, वेग, पिप्ले, ताकम, दरवाङ र मुदी टिमुरखेतीका लागि पकेट क्षेत्र हुन् । असोज–कात्तिक टिमुर टिप्ने उपयुक्त समय हो । तर यस वर्ष फललाई राम्रोसँग बोटमै पकाएर टिप्ने योजनामा यहाँका किसान छन् ।

टिमुरखेतीले यहाँका विपन्न परिवारको आर्थिक अवस्थामा सुधार आएको छ । स्थानीय जुनकेरी परियारले आफ्नो आम्दानीको मुख्य स्रोत नै टिमुर भएको बताइन् । गतवर्ष टिमुर विक्री गरेर रू. ३५ हजार आम्दानी भएको उनले सुनाइन् । यस वर्ष फल लाग्ने समयमा असिनापानी परेकाले टिमुर उत्पादन घटेकाले आम्दानी पनि कम हुने उनको भनाइ छ ।

म्याग्दीमा टिमुर उत्पादन र बजारीकरणमा गैरसरकारी संस्था इको हिमाल नेपालले सघाइरहेको छ । संस्थाका कार्यकारी प्रमुख एकनारायण ढकालले टिमुरखेतीको सम्भाव्यता अध्ययन गरी जर्मनीको प्रयोगशालामा परीक्षण गरेर अन्तरराष्ट्रिय बजारमा पुर्‍याउन सहजीकरण गरिरहेको बताए । संस्थाले यस वर्ष यहाँका कृषकलाई टिमुर टिप्न सजिलो होस् भनेर रू. दश लाख मूल्य बराबरका औजार उपलब्ध गराएको थियो ।

डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले म्याग्दीमा वार्षिक करीब ६ मेट्रिक टन हाराहारीमा टिमुर उत्पादन हुने बताए । फूल खेल्ने र फल लाग्ने समयमा परेको असिनापानीले यसपालि टिमुर उत्पादनमा कमी आएको उनको भनाइ छ ।

दाल र अचारमा मसलाको रूपमा टिमुर प्रयोग गरिन्छ । साथै यसलाई जडीबुटीको रूपमा पनि प्रयोग गरिन्छ । टिमुरको माग बढेपछि जिल्लामा यसको व्यावसायिक खेती विस्तार भइरहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)