ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

औद्योगिक क्षेत्रको समस्या हल गर्न राष्ट्रपतिको आग्रह 

२०७९ पौष, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

बिहीवारदेखि विराटनगरमा शुरू विराट एक्स्पो उद्घाटन सत्रमा राष्ट्रपति भण्डारीले विगतमा देशको प्रमुख औद्योगिक क्षेत्रका रूपमा  रहेको विराटनगर पछिल्लो समय आफ्नो गौरव कायम गर्न संघर्ष गरिरहेको पनि बताउनुभयो । आगामी दिनमा विराटनगरले औद्योगिकीकरणमा देशलाई नै सन्देश दिन अग्रसर हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । 

विराटनगरमा आर्थिक तथा औद्योगिक विकासको धेरै सम्भावना रहेको राष्ट्रपतिको भनाइ थियो । औद्योगिक कच्चा पदार्थका लागि आयातमै निर्भर रहनुपर्ने अवस्थाको अन्त्य गरी स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग स्थापना गर्नुपर्ने आवश्यकता पनि उहाँले औंल्याउनुभयो । राष्ट्रपति भण्डारीले उद्योगलाई चाहिने कच्चा पदार्थ देशभित्रै उत्पादन गर्न किसान र उद्योगीबीच समन्वय आवश्यक रहेको बताउनुभयो । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुक विगतको भन्दा फरक खालको आर्थिक मन्दीबाट गुज्रिरहेको बताए । उनले विगतमा भूकम्प, कोरोना र नाकाबन्दीजस्ता बाह्य कारणले अर्थतन्त्रमा समस्या देखिए पनि अहिले सरकार र राष्ट्र बैंकको नीतिले समस्या देखिएको बताए ।  

उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले देशका लागि निर्यात वृद्धि गर्ने र आयात प्रतिस्थापन गर्ने उद्योग चाहिएको बताए । प्याकुरेलले कोभिडपछिको मन्दीले सबै उद्योग प्रभावित भएकाले समग्र अर्थतन्त्रमा समस्या देखिन थालेको बताए । प्याकुरेलले विराटनगर–बथनाहा रेलवे तयार भए पनि सञ्चालनमा सरकारले बेवास्ता गरेको गुनासो गरे । सडक मार्गबाट आयात गर्नुपर्दा औद्योगिक कच्चा पदार्थको ढुवानीमा रेलको तुलनामा ३० प्रतिशत लागत थपिएको उनको भनाइ छ । 

उनले यथाशीघ्र विराटनगरसम्म निर्माण भइसकेको रेलमार्ग सञ्चालनमा ल्याउन सरकारसँग माग गरे ।

कार्यक्रममा प्रदेश १ का प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री राजेन्द्र राई, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालगायतले एक्स्पोको सफलताको शुभकामना दिएका थिए । उद्योग संगठनका उपाध्यक्ष तथा मेला संयोजक भोला दुलालले एक्स्पोबारे प्रकाश पारेका थिए । दुलालले स्वागत मन्तव्य राखेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारकाले धन्यवाद ज्ञापन गरे । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा शुरू भएको एक्स्पो पुस ६ गतेसम्म चल्नेछ । एक्स्पोमा ३ सय ६१ स्टल छन् ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)