ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विवाहको लगन सकिएसँगै घट्यो सुनको खपत, दैनिक ५० केजीसम्म खपत हुने सुन अहिले १० केजी मात्रै 

२०७९ पौष, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान
author avatar प्रतिक्षा कडेल

काठमाडौं । गत मंसिर तेस्रो सातासम्म सुनको खपत दैनिक ५० किलोग्रामसम्म थियो । अहिले भने सुनको खपत ह्वात्तै घटेर दैनिक १० किलोग्राममा सीमित भएको छ । 

खपत घटेर कारोबार घटेपछि व्यापारी र कामदार पनि फुर्सदिला बनेका छन् । कालीमाटीस्थित आर एन्ड आर सुनचाँदी पसलमा कार्यरत रोहित विष्ट मंसिर २० गतेयता सुनको कारोबार घट्दै गएको बताउँछन् । ‘विवाहको लगनले गर्दा मंसिर २० गतेसम्म गरगहना बनाउन भ्याइनभ्याइ थियो । काम गर्न नसकेर कतिपय ग्राहकलाई त हामीले फर्काएका थियौं,’ उनले भने । अहिले भने कामको चाप ह्वात्तै घटेको उनको भनाइ छ ।

रिद्धिसिद्धि ज्वैलर्समा कार्यरत राजन अधिकारीको भनाइ पनि उस्तै छ । विवाहको सिजन सकिएसँगै ग्राहक घट्न थालेको उनको भनाइ छ । ‘विवाहको सिजन सकियो । अब पुस महिनाभर ग्राहक त्यति आउँदैनन् । माघ लागेसँगै फेरि माग बढ्न सक्छ,’ उनले भने । 

मंसिरमा विवाहको लगन धेरै हुने भएकाले उक्त महीनामा सुनचाँदीको खपत बढ्ने गरेको हो । मंसिरमा विवाहका लागि गरगहना बनाउने ग्राहकको घुइँचो लाग्ने गरेको सुनचाँदी व्यवसायीहरू बताउँछन् । 

ग्राहक घट्नुमा सुनको मूल्य वृद्धि पनि अर्काे कारण रहेको उनको भनाइ छ । ‘अहिले सुन तोलामै लाख रूपैयाँ आसपास छ । त्यो कारणले सुन किन्नेभन्दा बेच्न आउने ग्राहक बढी छन्,’ उनले भने, ‘तोलामा ९०/९२ हजार हुँदा आउने ग्राहक र १ लाख नाघेपछि आउने ग्राहकको रेसियो फरक हुन्छ ।’ 

गत मंसिर २३ गतेयता (मंगलवारबाहेक) तोलाको लाख रूपैयाँमा भन्दा बढीमा कारोबार भएको सुन आज लाख रूपैयाँमुनि झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ९९ हजार ९०० रूपैयाँ तोकिएको छ । गत मंगलवार भने सुनको मूल्य तोलामा १ लाख रूपैयाँ थियो । 

मंसिरमा विवाहको लगन पर्ने भएकाले एउटै ग्राहकले ८–१० तोलासम्म सुन किनेको उनले बताए । ‘यस्ता ग्राहक दैनिक ७/८ जना आउँथे,’ उनले सुुनाए । अहिले दैनिक लगभग ८–१० तोला मात्रै सुन विक्री हुने गरेको छ । मंसिर, माघ, फागुन र वैशाखमा सुनको खपत बढी हुने गरेको व्यवसायीहरू बताउँछन् । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य मंसिर १५ यता सुनको कारोबार घट्न थालेको बताउँछन् । विवाहको सिजन सकिएसँगै सुनको कारोबार सुस्ताएको उनको भनाइ छ । 

उनले मंसिर शुरु भएयता १५ गतेसम्म भने सुनको कारोबार निकै बढेको बताए । ‘त्यो बेला विवाहको लगन परेकाले सुनको गरगहना बनाउने ग्राहकको संख्या बढी थियो । त्यतिबेला दैनिक खपत नै लगभग ५० किलोग्रामभन्दा बढी थियो । त्यसपछि भने सुनको मागमा ७५ प्रतिशत कमी आएको छ ।’ विवाहका लागि गरगहनाको माग १५ गतेअघि नै आउने भएकाले त्यो समयमा सुनको खपत बढी देखिएको उनको भनाइ छ । 

पछिल्लो समय सुनको मूल्य बढेकाले पनि कारोबार घटेको व्यवसायीहरू बताउँछन् । व्यापारीले सुनको मूल्य बढेकाले काराेबार घटेको दाबी गरे पनि मुख्यतया विवाहकाे लगन सकिएकाले काराेबार घटेको हाे । 

एक महिनामा कतिले बढ्यो भाउ ? 

पछिल्लो एक महीनामा सुनको मूल्य तोलामा २३ सय रूपैयाँ बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंसिर १ गते सुनको मूल्य तोलाको ९८ हजार रूपैयाँ थियो । मंसिर महिनाको अन्तिम दिन (२९ गते) सुन तोलाको १ लाख ३०० रूपैयाँमा कारोबार भएको थियो । 

महिनाभर सुनको मूल्यमा उतारचढाव रहेपनि महिनाको उच्चतम् मूल्य गत बुधवार (मंसिर २८) कायम भएको थियो । उक्त दिन सुन तोलाको १ लाख १ हजार रूपैयाँ कायम भएको थियो । उक्त अवधिमा सुनको न्यूनतम मूल्य मंसिर ७ गते कायम भएको थियो । उक्त दिन सुन तोलाको ९६ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो । महिनाको शुरुका २ साता सुनको मूल्यमा उतारचढाव आए पनि अन्तिममा भने मूल्य लगातार बढेको थियो । 

त्यसैगरी, चाँदीको मूल्य पनि यो महीना प्रतितोला ९५ रूपैयाँले बढेको छ । मंसिर १ गते प्रतितोला १ हजार २८५ रूपैयाँ रहेको चाँदीको मूल्य २९ गते प्रतितोला १ हजार ३८० रूपैयाँ पुगेको छ । यो महीना चाँदीको उच्चतम मूल्य २५ र २८ गते प्रतितोला १ हजार ४०० रूपैयाँसम्म पुगेको थियो भने न्यूनतम ७ गते १ हजार २७५ रूपैयाँमा किनबेच भएको थियो । 

पूर्वअध्यक्ष शाक्य सुनको मूल्य घटबढ हुनुमा विवाहको लगन मात्रै होइन, सुनको मूल्यलाई अन्तर्राष्ट्रिय बजारको मूल्य, अमेरिकी डलरको भाउसँगै आन्तरिक माग र आपूर्तिले प्रभाव पार्ने बताउँछन् । ‘सुनको मूल्य बढ्नुमा आन्तरिक कारण भन्ने हुँदैन,’ उनले भने, ‘बाहिरी मूल्य बढ्दा यसमा नि असर पर्छ । त्यसैगरी अमेरिकी डलर घटबढ हुँदा पनि सुनचाँदीको मूल्यमा असर पर्छ । डलरको मूल्य बढ्दा सुनको मूल्य घट्छ र सुनको मूल्य बढ्दा डलरको मूल्य घट्छ । किनभने लगानीकर्ताले की त सुनमा लगानी गर्छ की डलरमा । सुन र डलरचाहिँ रिभर्स ट्रेन्ड हो ।’ 

सुन आयात कति ? 

भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्ष (आव)मा सुन आयात घटेको छ । चालू आवको साउनदेखि कात्तिक मसान्तसम्म ७ अर्ब ९५ करोड रूपैयाँको सुन आयात भएको छ । गत वर्ष यसै अवधिमा १४ अर्ब ९५ करोड रूपैयाँको सुन आयात भएको थियो । समीक्षा अवधिमा सुनको आयात ४६ प्रतिशत घटेको हो ।

सरकारले दैनिक सुनको कोटा १० किलोग्राम बनाएपछि आयातमा कमी आएको व्यवसायी बताउँछन् । यसले कारोबार घटेको व्यवसायीको गुनासो छ । ‘सिजनको बेलामा कोटा प्रणालीले गर्दा ग्राहक फर्काउनुपर्ने अवस्था थियो,’ शाक्यले भने ।

सरकारले सुनमा कोटा प्रणाली लागू गरेपछि सिजनका बेला कालोबजारी भएको व्यवसायीको भनाइ छ । ‘सिजनका बेला माग धेरै थियो । तर, आपूर्ति थोरै भयो । यसले कालोबजारी भयो,’ उनले भने । उक्त समयमा तोलामा ५ हजार रूपैयाँसम्म कालोबजारी भएको उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)