ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सहमतिपछि अघि बढ्दै मालढुंगा–बेनी सडकको काम

२०७९ पौष, ३  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

पर्वत । मालढुंगा–बेनी सडकको काम सहमतिपछि पुन: अघि बढ्ने भएको छ । निर्माण व्यवसायीले रोकेपछि करीब २ महीनादेखि उक्त सडकको काम अलपत्र थियो ।

केही दिनअघि जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले तत्काल काम सुचारु गर्ने निर्णय गरेको हो । निर्माण अलपत्र हुँदा यात्रा गर्न असहज भएको जनगुनासो बढेपछि जलजला गाउँपालिकाको पहलमा जिल्ला प्रशासन कार्यालयमा बैठक बसी काम अघि बढाउने निर्णय गरिएको छ ।

बैठकको निर्णय अनुसार निर्माण कम्पनीलाई तत्काल काममा लगाइनेछ भने समस्या देखिएका ठाउँमा १५ दिनभित्र सहज बनाइनेछ । यसको प्रतिवेदन बेनी–जोमसोम–कोरल्ला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन पेश गर्ने सहमति भएको छ । निर्माण सामग्रीको अभावले काम रोक्नुपरेको बताएको ठेकेदार कम्पनीलाई जलजला गाउँपालिकाले त्यस्ता सामग्रीको व्यवस्थापनमा सघाउने सहमति समेत भएको छ ।

१३ किलोमिटर दूरीको सडक दुई लेनमा विस्तार गरी कालोपत्र गर्न २०७७ चैतमा एपेक्स खड्गकृष्ण जेभीसँग ठेक्का सम्झौता गरेको थियो । सडक चौडा पर्ने क्रममा जलजला गाउँपालिका–७ केराबारी नजिकै स्थानीयसँग सामान्य विवाद भएपछि असोजमा रोकिएको काम अघि बढ्न सकेको थिएन ।

निर्माण व्यवसायी र आयोजना कार्यालयका अनुसार सडक निर्माणका क्रममा आवश्यक निर्माण सामग्री स्थानीय खोलानदीबाट निकाल्ने शर्त थियो । सोही शर्तबमोजिम ५२ करोड ८६ लाख रुपैयाँमा उक्त कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । तर, कालीगण्डकीको धार्मिक तथा ऐतिहासिक पहिचान बिथोलिने गरी मेशिन लगाएर नदीजन्य पदार्थ ननिकाल्न २०७८ असार २९ मा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्‍यो । सर्वोच्चको सोही आदेशकै कारण कालीगण्डकी नदीबाट निर्माण सामग्री (गिट्टी, बालुवा, ढुंगा) निकाल्न नपाएपछि ठेकेदार कम्पनीले काम अघि नबढाउने बहाना खोजिरहेको थियो ।

कालीगण्डकीबाट निर्माण सामग्री निकाल्न नपाए पनि सडक चौडा पार्ने क्रममा निस्किएका ढुंगा, माटो लगायत प्रयोग गर्न पाउने गरी स्थानीय प्रशासन र आयोजना कार्यालयले सहमति दिएका थिए । त्यसपछि कम्पनीले जलजला–७ केराबारीमा सडकलाई आवश्यक पर्नेभन्दा धेरै ढुंगा उत्खनन गरेको थियो । त्यहाँ रहेको ढुंगाखानी केही स्थानीयको निजी र केही सामुदायिक वनमा परेको भन्दै विरोध भएपछि काम रोकिएको हो । गत असोजमा रोकिएको काम २ महीनासम्म सुचारु नहुँदा स्थानीयवासी र यो सडक हुँदै बेनी, जोमसोम, मुक्तिनाथसम्म आउजाउ गर्ने यात्रुहरू मर्कामा परेका छन् । यो सडक राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत पर्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)