ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उपत्यकामा मेट्रो रेल : बारम्बार चर्चा, निर्णयमा अन्योल

२०७९ पौष, ३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
प्रतीकात्मक तस्वीर ।
author avatar हिमा वि.क.

काठमाडौं । काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चालन गर्ने चर्चा लामो समयदेखि चल्दै आए पनि निर्माण गर्ने/नगर्ने विषय भने अन्योलमै छ । जनप्रतिनिधिहरूले महँगो भए पनि उपत्यकामा मेट्रो रेल चलाउने चर्चा गरिरहँदा सरकारले दशकअघि गरेको अध्ययन अहिलेसम्म पनि कागजमै सीमित छ ।

सन् २०१२ मा उपत्यकाका विभिन्न पाँचओटा रूटमा मेट्रो रेल सञ्चालन गर्न सकिने गरी सम्भाव्यता अध्ययन भएको थियो । उक्त अध्ययन त्यत्तिकै रोकिएको छ । आर्थिक र प्राविधिक हिसाबले मेट्रो रेल सञ्चालन महँगो सावित हुने भनिए पनि यसको सञ्चालनमा नियामक निकाय, विज्ञ, जनप्रतिनिधि एकमत छन् । शनिवार ललितपुर महानगरपालिकाको स्थापना दिवसको अवसरमा महानगरप्रमुख चिरिबाबु महर्जनले उपत्यकामा मेट्रो रेलको विकल्प नभएको बताए ।

जनप्रतिनिधिका घोषणापत्रदेखि सरकारले अध्ययनसमेत गरेको मेट्रो रेल सधैं चर्चा र चासोको विषय हुँदै गर्दा उनले पछिल्लो भाषणमा पनि त्यही विषय दोहोर्‍याए । ‘मेट्रो रेल महँगो छ, भनेर अब पछि हट्नु हुँदैन,’ महर्जनले भने, ‘मोटरसाइकल ल्याएर उपत्यकाको ट्राफिक जाम बढाउनुभन्दा रेल सञ्चालनका लागि आवश्यक तयारी थालौं ।’ सरकारको मुख हेरेर कहिले पनि रेल सञ्चालन नहुने भन्दै उनले काठमाडौं महानगर, ललितपुर र साथै उपत्यकाका अन्य पालिकाबीच आपसी सहयोगको आवश्यकता औंल्याए ।

उनको यस्तो धारणाबीच रेल विभागले चिनियाँ परामर्शदाताको सहयोगमा दशकअघि शुरू गरेको अध्ययन भने अहिले पनि अध्ययनमै रोकिएको छ । विभागका महानिर्देशक रोहितकुमार विसुरालले पाँचओटा रूटमध्ये २२ किलोमीटरको पहिलो रूटको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम अघि बढाउन नसकेको बताए । विभागले पहिलो चरणमा उक्त किलोमीटरको चोभार–सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक–बूढानीलकण्ठ रूटको काम अघि बढाउने योजना बनाएको थियो ।

तर, यो रूटमा विविध कारणले काम अघि बढाउन नसकिएको र अहिले अध्ययन नै रोकिएको उनको भनाइ छ । यसका साथै अन्य चारओटा रूटको सम्भाव्यता अध्ययन मात्रै भएको र अरू काम नै अघि नबढेको विसुरालले बताए । ‘२२ किलोमीटर रूटको डीपीआर अध्ययनका लागि साइटमा जाँदा सडकको चौडाइमा पनि समस्या देखिएको छ,’ उनले भने, ‘यसअतिरिक्त उक्त सडक हुँदै मेट्रो रेल जमीनमाथिबाट लैजाँदा ऐतिहासिक सम्पदामाथिबाट जाने, रातो मच्छिन्द्रनाथजस्ता परम्परा सञ्चालनमा अवरोध हुने भन्दै स्थानीयबाट विरोध भयो ।’ यी कारणले काम अघि बढ्न नसकेको उनको भनाइ छ ।

जमीनमाथि र जमीनमुनिबाट दुवै तरीकाले मेट्रो रेल बनाउन सकिने भए पनि निर्माणका विषयमा ठोस निर्णय नहुँदा काम अघि बढ्न नसकेको उनको भनाइ छ । ‘लगानी, प्रविधिका हिसाबले रेल निर्माण गाह्रो छैन,’ विसुरालले भने, ‘चर्चामा मात्रै रेल हुन्छ, मन्त्रीहरू फेरिइरहनुहुन्छ, ठोस निर्णय हुँदैन । रेल अघि बढाउन निर्णय नै ठूलो कुरा हो ।’ पाँचओटा रूटको कुल लम्बाइ ८७ दशमलव १८ किलोमीटर छ । पाँचओटै रूटमा मेट्रो सञ्चालन गर्न ५ खर्ब ४७ अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने त्यसबेला गरेको अध्ययनको प्रक्षेपण छ ।

यस्तै, शहरी पूर्वाधारविज्ञ किशोर थापा उपत्यकामा मेट्रो रेल सञ्चालन आवश्यक भएको बताउँछन् । ‘जनसंख्याको हिसाबले मेट्रो रेल आवश्यक हो तर क्षमता, लगानी, प्रविधिले अझै भ्याउँदैन,’ थापाले भने, ‘अहिलेलाई त सार्वजनिक सवारीसाधन सञ्चालन प्रणालीलाई व्यवस्थित बनाए पुग्छ ।’ उनले पहिला बस प्रणालीलाई सुधार गरेर मात्रै केही वर्षपछि छोटो/छोटो रूटमा रेल सञ्चालन गर्न सकिने बताए ।

काठमाडौं उपत्यकामा भन्दा पोखरा शहरमा सार्वजनिक बसको सेवा प्रवाह राम्रो भएको उदाहरण दिँदै उनले काठमाडौंमा सडकअनुसार सवारी सञ्चालन गर्ने र विद्युतीय सवारी (सफा) ट्याम्पो सञ्चालनलाई व्यवस्थित गर्न सुझाव दिए । उपत्यकामा सार्वजनिक सवारी र ट्याक्सी सेवालाई व्यवस्थित गर्नुपर्नेमा उनले जोड दिए । यसअघि अभियानसँगको कुराकानीमा पूर्वाधारविज्ञ तुलसी सिटौलाले यो परियोजनाका लागि ठूलो धनराशी आवश्यक पर्ने भएकाले स्रोत सुनिश्चित नै नेपालका लागि चुनौतीपूर्ण हुने बताएका थिए ।

उनले भारतका १० ओटा शहरमा मेट्रो रेल सञ्चालन भएको उदाहरण दिँदै भनेका थिए, ‘त्यहाँ प्रतिकिलोमीटर ४० करोड रुपैयाँसम्म खर्च भएको थियो भने हाम्रो शहरमा त्यसको दोब्बर महँगो पर्छ तर निर्माणको विकल्प पनि छैन ।’ विसुराल पनि जति ढिला गर्‍यो, उत्ति नै परियोजना महँगिने बताउँछन् । १० वर्षअघिको खाली जमीन अहिले भरिएको भन्दै उनले थपे, ‘सातदोबाटो–नारायणगोपाल खण्डको रूटमा पहिला खाली जमीन थिए, अहिले बस्ती बसिसकेको छ ।’ 

आर्थिक, प्राविधिक रूपमा महँगो मेट्रो रेल निर्माणमा ढिलाइ गर्दा व्ययभार थपिने बताइएको छ । जग्गा अधिग्रहण, मुआब्जामा समेत सरकारले रकम खर्चिनुपर्ने उल्लेख गरिएको छ ।

२०१२ मा अध्ययन भएका उपत्यकाका पाँच मेट्रो रूट

१. चोभार–सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक–बूढानीलकण्ठसम्म : २२ किलोमीटर

२. कीर्तिपुर–कालीमाटी–नयाँ बानेश्वर–एयरपोट : ११.१५ किलोमीटर 

३. कोटेश्वर–चाबहिल–स्वयम्भू–कोटेश्वर : २८.५३ किलोमीटर 

४. स्वयम्भू–डिल्लीबजार–बौद्ध : ११.७० किलोमीटर 

५. धोबीघाट–सिंहदरबार–नक्साल–गोंगबु : १३.८० किलोमीटर

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)