ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

५ महीनामा साढे ३ लाख नेपाली वैदेशिक रोजगारीमा, ५० % तलव बढ्दा मलेशिया पहिलो श्रम गन्तव्य

२०७९ पौष, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रतिक्षा कडेल

काठमाडौं । सोमवार बिहान बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको कार्यालय परिसरमा भेटिएका चितवनका खेम प्रसाद रोकाया मलेशिया जाने प्रक्रियाको बारेमा बुझ्न विभागमा पुगेका रहेछन् । कोभिडको दोस्रो लहरमा कुवेत छाडेर नेपाल आएका उनी फेरि मलेशिया जाने तयारीमा रहेछन् ।

कोरोनाका कारण कुवेतको कम्पनी बन्द भएपछि नेपाल फर्किएका रोकाया आफन्तले राम्रो छ भनेपछि मलेशिया जान लागेका हुन् । मलेशियामा अहिले नेपाली कामदारलाई राम्रो तलब सुविधा रहेकाले उनका आफन्तले आउन सुझाएको रोकायाको भनाइ छ ।

विभाग परिसरमै भेटिएका अछामका नरबहादुर बटाला, धादिङका उत्तम धिताल र सर्लाहीका प्रमोद साह पनि मलेशिया जान लागेका रहेछन् । उनीहरूको भनाइ पनि रोकायाका जस्तै थियो । आफन्तले मलेशियाको रोजगारी राम्रो छ भनेको र गएका साथीहरूले मासिक ५० हजार रुपैयाँसम्म कमाएर पठाएको प्रमाणले नै उनीहरूलाई त्यहीँ जान लालायित बनाइरहेको थियो ।

वैदेशिक रोजगारीमा जानलाई त्रिभुवन विमानस्थल पुगेका १० मध्ये ५ जना नेपालीहरू अहिले मलेशियाका लागि उडिरहेका छन् । ती मध्ये केही नेपालीहरू पहिले खाडी मुलुक कतार, साउदी, कुवेत लगायतका देशमा वैदेशिक रोजगारीमा गएर फर्केका पनि छन् ।

कोभिड महामारीमा केही समय सुस्ताएको नेपालको वैदेशिक रोजगार क्षेत्र अहिले पुन: फस्टाएको छ । यसमा पनि मलेशियाको रोजगारी ५/६ वर्ष अघिकै अवस्थामा फर्किएको छ ।

किन बढे मलेशिया जाने नेपालाी कामदार ?

वैदेशिक रोजगारीमा मलेशिया जान नेपालीको ताँती लाग्नुको पछाडि मलेशिया सरकारले कामदारको न्यूनतम तलवमान वृद्धि गर्नु नै प्रमुख कारण भएको वैदेशिक रोजगार क्षेत्रका जानकारहरूको भनाइ छ ।

वैदेशिक रोजगार विभागको प्रगति विवरण अनुसार गत वर्षको पहिलो ५ महीनामा मलेशिया जाने नेपाली कामदारको संख्या ५८३ जना मात्रै थियो । तर चालू आर्थिक वर्षको पहिलो ५ महीनामा भने १ लाख ४२ हजार ७२८ जना नेपाली कामदारले मलेशियाको लागि अन्तिम श्रम स्विकृति  लिएका छन् ।

जबकि यो ५ महीनामा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको कुल संख्या नै ३ लाख ४९ हजार ८२ जना रहेको छ । यस मध्ये ४० प्रतिशत भन्दा बढी नेपाली कामदार मलेशिया गएका छन् । गतवर्षको सोही अवधिमा भने जम्मा २ लाख ३० हजार ४११ जना नेपाली कामदार वैदेशिक रोजगारीमा गएका थिए । त्यतिबेला कुल कामदारको १ प्रतिशत भन्दा कम नेपाली कामदार मलेशिया गएका थिए ।

यो वर्ष मलेशियाकै कारण वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या पनि ५० प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ ।

श्रम तथा रोजगार विज्ञ सोमप्रसाद लुईटेल पनि मलेशियन सरकारले सबै कामदारको न्यूनतम तलव ५० प्रतिशतले वृद्धि गरेकै कारण पछिल्लो समय खाडी मूलुकभन्दा मलेशिया जाने कामदारको संख्यामा उल्लेख्य वृद्धि भएको बताउँछन् ।

कोरोनापछि नेपाल सरकारले मलेशिया सरकारसँग गरेका विभिन्न सम्झैताहरुले नेपाली श्रमिकहरूको लागि मलेसिया थप आकर्षक गन्तव्य बनेको उनको भनाइ छ । मलेशियन सरकारले यहि मार्चदेखि नेपाली कामदारको तलव ५० प्रतिशतले बढाएका कारण पनि नेपालीहरूको रोजाइमा परेको उनको बुझाइ छ ।

पहिले मलेशियामा काम गर्ने नेपालीले मासिक न्यूनतम १ हजार  रिङ्गिट मात्रै तलव पाउँथे । तर अहिले भने न्यूनतम नै मासिक १ हजार ५०० रिङ्गिट तलव पुगेको छ । र त्यो मलेशियन नागरिक र आप्रवासी सबैको लागि समान छ । मलेशियन सरकारले तलबसँगै खानबस्नका लागि सुविधाहरुपनि प्रदान गर्ने भएकाले नेपालीको रोजाइमा मलेशिया परेको छ ।

नेपाल सरकार र मलेशियन सरकारबीच २०७५,  कात्तिक ११ मा शून्य लागतमा कामदार पठाउने सम्झैता भएको थियो । तर सम्झैताअनुसार  नेपाली कामदारहरू शून्य लागतमा भने जान पाएका छैनन् । एकाध कम्पनी बाहेक अरू कम्पनीमा कामदार पठाउँदा नेपाली मेनपावर व्यवसायीले प्रतिव्यक्ति २ देखि ३ लाख रुपैयाँसम्म शूल्क लिइरहेका छन् ।

खाडी मूलुकभन्दा मलेशियाको वातावरण नेपालसँग मिल्दो भएको र अहिले तलव सुविधा पनि खाडी मुलुकको भन्दा राम्रो भएपछि वैदेशिक रोजगारीमा जाने आधा नेपालीको पहिलो रोजाइ मलेशिया भएको हो ।  'नेपालको लागि मलेशिया सधै प्रमुख गन्तव्य रहँदै आएको छ । बीचमा केही समय नेपाल सरकारले मेलेशियाको लागि श्रम स्वकृति दिन बन्द नै गरेको थियो' लुईंटेलले भने, 'त्यसपछाडि लगातै कोरोना महामारी आयो । त्यसले गर्दापनि पछिल्ला केही वर्षहरुमा मलेशियामात्रै नभएर अन्य मुलुकमै पनि वैदेशिक रोजगारीमा जानेको संख्या घटेको थियो । अहिले मलेशियाकै कारण नेपालको वैदेेशिक रोजगार क्षेत्र फस्टाएको छ ।'

कोभिड महामारीले गर्दा २०७७/७८ मा जम्मा १ हजार १३५ जनाले मलेशियाको लागि श्रम स्विकृति लिएको बैदेशिक रोजगार विभागको तथ्याङ्क छ । त्यसैगरि, गत वर्ष उक्त संख्या बढेर ३६ हजार ६४४ पुगेको थियो । 
मलेशिया जाने नेपाली कामदारको संख्या बढेसँगै अहिले साउदी अरब जाने कामदारको संख्या भने घटेको छ । साउदीमा पछिल्लो समय निकै समस्या देखिएकाले साउदी जाने ट्रेन्ड घटेको लुईंटेलले बताए ।

त्यसैगरी, यूरोपियन देशहरूमा पनि नेपाली कामदारहरू बढिरहेका छन् । कामदारहरुमा सचेतना बढेको कारणले गर्दापनि अहिले नयाँ श्रम गन्तव्यका रुपमा यूरोपियन देशहरु माल्टा, क्रोएशिया, रोमानियालगायतका देशमा जानेको संख्या बढेको छ ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)