काठमाडौं । पछिल्लो समय नेपालमा प्लास्टिकबाट बनेका सामग्रीको आयात र प्रयोग बढ्दो छ । आउटडोर र इनडोर प्रयोग हुने सामग्री मात्रै होइन, चाडपर्वदेखि उत्सवसम्ममा सजावटदेखि अन्य प्रयोजनसम्मका लागि प्लास्टिकबाट बनेका सामग्री प्रयोग हुने गरेको छ ।
वातावरणका दृष्टिले प्रतिकूल मानिने यस्ता सामान एक पटक प्रयोग गरिसकेपछि पुनःप्रयोग गर्न मिल्दैन । तर, नजिकिँदै गरेको पर्व क्रिसमसलाई लक्षित गरेर नेपाली बजारमा प्लास्टिकका सामग्रीहरू विक्री भइरहेका छन् ।
स्वदेशमै बनाइएका हस्तकलाका सामानमा भने नेपालीको रुचि देखिँदैन । बरु विदेशीले ती सामान रुचाउने गरेका छन् । तिनै सामान क्रिसमसका लागि यूरोप–अमेरिकासम्म निर्यात भइरहेका छन् ।
नेपाली हस्तकलालाई विश्व समुदायमा पुर्याउने काम गरेको छ– ‘हाइयर ग्राउण्ड क्राफ्ट’ले । हस्तकलाको सामग्री बनाउँदै आएकी ललितपुरकी विमला श्रेष्ठ पोखरेलले २००८ देखि उक्त क्राफ्ट सञ्चालन गरी फेल्टबाट बनेको हस्तकलाका सामग्री विक्री गर्दै आएकी छन् ।
फेल्ट जनावरका रौं र फाइबरको मिश्रणबाट बनाइएको हुन्छ । यो खेलौना, सजावटसँगै विभिन्न आकृतिका सामग्री बनाउन प्रयोग हुन्छ ।
उनले फेल्टबाट बनाएका सामग्री अहिले विश्वका विभिन्न मुलुकमा निर्यात हुने गरेको छ । ग्राउन्डले अमेरिका र नर्वेमा फेल्टबाट बनेका हस्तकलाको सामग्री निर्यात गर्दै आएको छ ।
विमलाको ‘हाइगर ग्राउण्ड क्राफ्ट’ वार्षिक ८० देखि १०० किलोग्राम अमेरिका निर्यात हुने र १०० देखि १२० किलोग्राम नर्वेमा निर्यात हुँदै आएको छ । रौं र फाइवरबाट बनाइने हुँदा ज्यादै हलुका हुने भएकाले यो मात्रा ठूलो भएको उनले बताइन् । ‘फेल्टबाट बनेका यी सामग्री बोक्न हलुका र लगाउन न्यानो साथै वातावरणमैत्री हुने हुँदा अहिले मानिसहरू योप्रति आकर्षित हुँदै आएका छन्,’ उनले भनिन् ।
विशेषगरी क्रिसमस, भ्यालेन्टाइन डे, नयाँ वर्ष, दशैं-तिहार जस्ता अवसरमा यस्ता सामग्रीको विक्री बढी हुने गरेको छ । ग्राउन्डमा अहिले १५० रूपैयाँको देखि ३५०० रूपैयाँसम्मको फेल्टबाट बनेका सामग्रीहरू विक्री भइरहेका छन् ।
उनले फेल्टका सामग्रीका साथै सुन्दर हस्तनिर्मित गहना र उत्पादन गर्दै आएको बताइन् ।
ग्राउन्ड क्राफ्टमा अहिले बुनाइतर्फ ऊनीको मोजा, पन्जा, टोपी, स्कार्फ, ह्यान्ड वार्मर र खुट्टा वार्मर साथै टेलरिङ्गमा झोला, बच्चाको लुगा, इन्फिनिटी स्कार्फ, अप–साइकल पुतली, कुशन कभर र तकिया कभरहरूलगायत शिल्पमा मौसमी हातले बनाएको कार्डहरू बन्ने गरेको छ ।
त्यहाँ आउने धेरैजसो ग्राहकहरू नयाँभन्दा पनि पुरानै बढी रहेकाे ग्राउन्डकी ओपरेशन ईन्चार्ज ओलिन राईले बताइन् । ‘पहिला पहिला अलि उमेर भएका ग्राहक आउँथे । अहिले भने प्रायः युथहरू आउँछन् । अहिलेको फेसन ट्रेन्ड नै भइसकेको छ, त्यसले गर्दा पनि युथहरूमा यस्तो सामग्रीको प्रभाव परेको छ,’ ओलिनले भनिन् ।
‘यहाँ हातले बनाएका गुणस्तरीय गहना, कपडा, झोला र सामानहरू बनाउँछौं । तपाईंले हाम्रा उत्पादनहरू एकपटक खरिद गरेपछि फेरि अन्त जानुहुन्न,’ उनले थपिन् ।
यी स्थानीय रूपमा उत्पादित सामग्रीहरूबाट बनाइएका गहना सुन्दर डिजाइनहरूको साथ महिलाहरूको सुन्दरता बढाउन डिजाइन गरिएको उनले बताइन् ।
उनले महिलाहरूलाई स्वरोजगारीका अवसरहरू सिर्जना गर्न, सीपमूलक तालिमहरूमार्फत आफ्नो जीविकोपार्जनलाई दिगो बनाउन, सम्मानका साथ बाँच्नको उत्प्रेरणा जगाउँदै आएकी छन् । जसका लागि मोती, सिलाइ–बुनाइ र डिजाइनिङ मार्फत सशक्त बनाउँदै आएकी छन् । हाल हाइगर ग्राउन्डमा ७ महिलाहरू कार्यरत छन् ।
हस्तकला उत्पादनको वार्षिक आन्तरिक र स्थानीय विक्री ३० देखि ४० लाखसम्म हुने गरेको अपरेसन इन्चार्ज ओलिन राईले बताइन् । हस्तकला उत्पादनको वार्षिक निर्यात विक्री ५० देखि ६० लाख हुने गरेको उनले जानकारी दिइन् । अहिले स्थानीय बजारमा २५ प्रतिशत मात्रै विक्री गरिरहेको हाइगरले ७५ प्रतिशत भने निर्यात गर्ने गरेको छ ।
किन रुचाए विदेशीले ?
फेल्टको सामग्री बढीजसो विदेशी पर्यटकहरूले किन्ने गरेको ओलिनले बताइन् । फेल्टका सामग्री हलुका, आकर्षक र वातावरणमैत्री भएकाले विदेशमा बढी रुचाइएको उनको भनाइ छ ।
नेपालमै पनि अहिले यस्तो सामग्रीको माग बढिरहेको उनको अनुभव छ । विगतको तुलनामा अहिले यसका नेपाली ग्राहक बढेको उनी बताउँछिन् । नेपालमा क्रिसमस डे, नयाँ वर्ष, बुबाको मुख हेर्ने दिन, जन्मदिन लगायतमा यसबाट बनेका सामग्रीको ग्राहक बढ्ने गरेको उनको भनाइ छ ।
‘फेल्टको सामग्रीको राम्रो पक्ष नै एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्न मिल्नु हो । त्यसैले कसैको बर्थडेमा ह्याप्पी बर्थडे लेखेको प्लास्टिकको सजावटभन्दा फेल्टबाट बनेको प्रयोग गरियो भने त्यो अर्काे बर्थडेलाई पनि प्रयोग हुन्छ,’ उनले भनिन्, ‘यसबाट बनेको सामान टिकाऊ हुने साथै उपयोगी पनि हुन्छ । आकर्षक पनि उत्तिकै हुनाले अहिलेको युवाहरूमा आकर्षण बढेको छ ।’
पहिला पहिला पर्यटकीय क्षेत्रहरूमा पर्यटनलाई मात्रै लक्षित गरेर विक्री गर्न राखिने यस्ता सामग्री अहिले आन्तरिक बजारकै माग पनि बढेको ठमेलस्थित एक हस्तकलाको सामग्री बेच्दै आएका हरि खकुरेलले बताए । ‘विगतमा पर्यटकले मात्रै किन्थे, नेपालीहरूले महँगो भन्दै किन्दैनथे । तर, अहिले आन्तरिक पर्यटकहरूले पनि हातले बनाएको सामग्रीको महत्त्व बुझेको पाइन्छ,’ उनले भने । अहिले दैनिक १०० जनामा ४० ग्राहक नेपाली हुने गरेको खकुरेलले बताए ।
हस्तकलाको पसलमा अहिले जुत्ता, ब्याग, मोजा, पन्जा, टोपी, स्कार्फ, ह्यान्ड वार्मर टोपी, किरिङलगायत सामग्रीहरू राखिएका छन् । नेपालीले भन्दा विदेशीले फेल्टका सामग्री बढी रुचाउने उक्त व्यापारीले बताए । ‘अहिले क्रिसमसको समय भएर यूरोपका पर्यटकले आफ्नो आफन्तहरूका लागि उपहारका लागि किन्ने गरेका छन्,’ उनले अभियानसँग भने ।