ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुनसरी मोरङ औद्योगिक कोरिडोरमा नयाँ स्टील उद्योग

२०७९ पुस, १०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । सुनसरी मोरङ औद्योगिक कोरिडोरमा २ अर्ब ५० करोड लगानीको स्वस्तिक रोलिङ मिल सञ्चालनमा आएको छ । अन्य उद्योगको उत्पादन खुम्चिरहेका बेला पूर्णरूपमा सञ्चालनमा आएको स्वस्तिकले ५ सय जनालाई रोजगारी दिएको दाबी गरेको छ । 
सुनसरी मोरङ औद्योगिक क्षेत्रअन्तर्गतको दुहबी नगरपालिका–१, परास्टोकीमा स्थापित यो रोलिङ मिल दोस्रो बन्दाबन्दीअघि नै सञ्चालनमा आउने तयारीमा थियो । कोभिड–१९ महामारी, बन्दाबन्दी र अन्य कारणले केही पछिमात्र मिल पूर्णरूपमा सञ्चालनमा आएको हो । 

उद्योगी रमेश राठी, राजकुमार गोल्छा, जीवन रिजाल, मदन रिजाल र फरान अख्तरको लगानी रहेको उद्योगको दैनिक उत्पादन क्षमता ५ सय मेट्रिक टन छ । स्वस्तिक रोलिङले बिलेटको पनि व्यावसायिक उत्पादन गर्छ । 
यसअतिरिक्त ‘बजरंग’ ब्रान्डको टीएमटी छड, बिलेट, एंगल, च्यानल र आई बिम उत्पादन शुरू गरेको छ । एंगल, च्यानल र आई बिमको प्रयोग सानाठूला घर बनाउन, घरमा ट्रस हाल्न, विद्युतीय प्रसारण लाइनको टावर बनाउन, सानाठूला सेड निर्माण लगायतमा हुन्छ । 
भारतको टाटा कम्पनी र स्थानीय स्तरमा उपलब्ध कच्चा पदार्थको सम्मिश्रणबाट आप्mनै भट्टीमा १७०० डिग्रीको तापक्रममा पगालेर ब्लेड उत्पादन गरिने सञ्चालक रमेश राठीले बताए । 
उच्च प्रविधियुक्त प्लान्टबाट उत्पादन गरिने भएकाले जुनसुकै उत्पादनमा शतप्रतिशत गुणस्तर रहने उनले बताए ।
बैंकको ब्याजदर वृद्धि र तरलता अभावबीच उद्योग सञ्चालन गर्नु जोखिमभन्दा पनि चुनौतीको सामना गर्दै अघि बढ्ने आँटको प्रतिफल भएको राठीले बताए । असहज परिस्थितिसँग जुधेर सहज परिस्थितिसम्म पुग्ने लक्ष्य रहेको उनले बताए । 
अर्का सञ्चालक राजकुमार गोल्छाले उद्योगले ७ एमएमदेखि ३२ एमएमसम्मका टीएमटी छड उत्पादन गर्ने जानकारी दिए । यस उद्योगले नेपालको हकमा नयाँ र अत्याधुनिक प्रविधि प्रयोगमा ल्याएको जानकारी दिँदै गोल्छाले छडमा ग्रिप उच्चस्तरको रहेकाले मसलाले बलियोसँग समात्न सक्ने र लचकदार रहेको दाबी गरे । यो ५०० ग्रेडको रड भएको उनको भनाइ छ ।
यूरोपेली प्रविधि प्रयोग भएकाले उद्योगका मेशिन पूर्णतया स्वचालित प्रणालीमा आधारित रहेको अर्का सञ्चालक जीवन रिजालले जानकारी दिए । 
तौलको समानता र गुणस्तरमा एकरूपता तथा प्रयोगशालाको स्पेक्ट्रो मेशिनले केमिकल परीक्षण गरेपछि मात्रै डन्डी उत्पादन हुने बताइएको छ । 

अहिले ३ सय जनाले प्रत्यक्ष रोजगारी पाएको र पुसभरिमा यो संख्या ५ सय पुग्ने राठीले बताए । उनका अनुसार नेपालका ९० प्रतिशत आइरन उद्योगले स्क्र्याप पगाल्ने भट्टी राखिसकेको र उनीहरूको उत्पादनसमेत बजारमा आउन थालेकाले पहिले किलोको १०५ रुपैयाँ रहेकोमा अहिले ८८ रुपैयाँमै टीएमटीलगायत उत्पादन बजारमा पाउन थालिएको बताए । नेपालकै कच्चा पदार्थबाट उत्पादन हुन थालेपछि उत्पादन २० प्रतिशत सस्तो भएको उनको भनाइ छ । 

ब्याजदरमा कमी आउने र विद्युत् महसुलमा सरकारले अनुदान दिने हो भने नेपाली उत्पादनको निकासी भारतमा पनि गर्न सकिने गोल्छाले बताए । सधैं परिस्थिति प्रतिकूल नहुने भएकाले अनुकूल स्थितिमा डन्डीलगायत उत्पादनले भारतीय बजार पाउनेमा आफू विश्वस्त रहेको उनले बताए । प्रदेश १ मा रहेका ६ ओटा स्टील उद्योगमध्ये केहीले फलाम पगाल्ने भट्टी राखेर उत्पादन शुरू गरेका छन् भने केही त्यसको तयारीमा छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)