ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आयल निगमकै कारण हवाई इन्धनको आयात घट्यो, नेपाललाई लाभभन्दा हानि धेरै !

२०७९ पुस, १०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रतिक्षा कडेल

काठमाडौं । नेपालमा पछिल्लो ५ महीनामा हवाई इन्धनको आयात घटेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्ष (आव)को ५ महीनामा नेपालले ९ अर्ब २० करोड रूपैयाँ बराबरको ७४ हजार २२१ किलोलिटर हवाई इन्धन आयात गरेको छ । 

गत आवको उक्त अवधिमा भने ४ अर्ब १८ करोड रुपैयाँ बराबरको ८० हजार ७४४ किलोलिटर हवाई इन्धन आयात गरिएको थियो ।  

अन्तरराष्ट्रिय वायुसेवा कम्पनीले नेपालमा हवाई इन्धन नभर्दा यसको आयातसँगै खपत घटेको जानकारहरू बताउँछन् ।

तर, नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्याय  कोरोना महामारीका कारण अन्तरराष्ट्रिय उडान घट्दा खपत घटेको दाबी गर्छन् । ‘२०७६ सालभन्दा अगाडिको खपतको जुन ट्रेन्ड थियो, त्यो अझै आइसकेको छैन । त्यतिबेलामा दैनिक ६०७ किलोलिटर हवाई इन्धन खपत हुन्थ्यो । अहिले करिब ५०० किलोलिटर हवाई इन्धन विक्री हुन्छ,’ उनले भने, ‘विस्तारै यो लयमा आउला ।’ 

एक वर्षअघिको तुलनामा अहिले हवाई इन्धनको खपत घटे पनि पछिल्लो ४/५ महीनायता अन्तरराष्ट्रिय उडान भने घटेको देखिँदैन । आन्तरिक तर्फ पनि उडान संख्या कटौति गरिएको छैन । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौला पछिल्लो ४/५ महीनायता उडान संख्यामा कुनै परिवर्तन नभएको बताउँछन् । उनका अनुसार अहिले दैनिक औषतमा ४० ओटा अन्तरराष्ट्रिय उडान हुने गरेका छन् ।

नेपालमा अन्तरराष्ट्रिय बजारकै बराबर हवाई इन्धनको मूल्य हुँदा अन्तरराष्ट्रिय वायु सेवा कम्पनीले नेपालबाटै इन्धन भर्ने गरेका थिए । अहिले अन्तरराष्ट्रिय बजारमा हवाई इन्धन लगायत सबै जसो इन्धनको मूल्य घटेपनि नेपाल आयल निगमले घाटा पूर्ति गर्ने भन्दै मूल्य समायोजन गरेको छैन । यसै कारण अहिले अन्तरराष्ट्रिय वायु सेवा कम्पनीले ट्रान्जिटमै हवाई इन्धन भर्न थालेको जानकारहरू बताउँछन् । 

नेपाल आयल निगमका प्रवक्ता उपाध्याय पनि यो कुरा स्वीकार्छन् । ‘नेपालमा हवाई इन्धन र एलपी ग्यासको मूल्य निगम सञ्चालक समितिको निर्णय अनुसार तोकिन्छ । निगम सञ्चालक समितिको बैठक बस्न नसकेकाले हवाई इन्धनको मूल्य समायोजन हुन सकेको छैन,’ उनले भने । 

निगमका अनुसार नेपालमा अहिले हवाई इन्धनको मूल्य प्रतिलिटर १.६४५ डलर छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको विक्रीदर १३२.८८ रूपैयाँ छ । यस आधारमा १.६४५ डलरको मूल्य २१८.५८ रूपैयाँ हुन्छ । 

अन्तरराष्ट्रियतर्फ हवाई इन्धनको मूल्य समायोजन नहुँदा खपत त घटेको छ नै, निगमको नाफामा समेत कमी आउने देखिएको छ । निगमले जति बढी हवाई इन्धन विक्री गर्छ, उति नै बढी नाफा कमाउँछ । 

आयात बढ्दा जति डलर बाहिरिन्छ, विक्रीबाट त्यति नै डलर भित्रिने भएकाले अन्तरराष्ट्रिय हवाई इन्धन आयातबाट विदेशी सञ्चिति पनि नघट्ने जानकारहरू बताउँछन् । बरु आयात घटेर खपत कम भए यसबाट आउने राजस्व पनि घट्ने उनीहरूको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)