काठमाडौं । वित्तीय कारोबार गर्ने संस्थामा सर्वसाधारणको पहुँच बढ्दै गए पनि अनौपचारिक माध्यमबाट वित्तीय कारोबार गर्ने नेपालीको संख्या उच्च रहेको पाइएको छ । कमजोर वित्तीय साक्षरता र औपचारिक माध्यमबाट कारोबार गर्दा सामना गर्नुपर्ने व्यावहारिक झमेलाका कारण अनौपचारिक माध्यमप्रतिको सर्वसाधारणको मोह नघटेको तथ्य नेपाल राष्ट्र बैंकको एक अध्ययनले उजागर गरेको हो ।
राष्ट्र बैंकले गरेको वित्तीय साक्षरतासम्बन्धी अध्ययनले अझै ४५ प्रतिशत नेपालीले बचत गर्न र २६ प्रतिशतले ऋणसापटीका लागि अनौपचारिक माध्यम प्रयोग गरेको तथ्य पत्ता लगाएको हो । समुदाय र साथीभाइबीच समूह बनाएर वित्तीय कारोबार गर्ने प्रचलन रहेकाले अनौपचारिक क्षेत्रमा वित्तीय कारोबार गर्नेको संख्या उच्च देखिएको राष्ट्र बैंक, अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ बताउँछन् । यसलाई घटाउन वित्तीय साक्षरता बढाउनुपर्ने आवश्यकता देखिएको उनले बताए ।
राष्ट्र बैंकले ७७ जिल्लाको प्रतिनिधित्व हुने गरी १८ वर्षमाथिका ९ हजार ३६१ सर्वसाधारणलाई नमूनाका रूपमा छनोट गरी सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा सहभागीमध्ये २६ दशमलव शून्य २ प्रतिशतले सामूहिक रूपमा बचत गर्ने गरेको जवाफ दिएका छन् । उत्तरदातामध्ये ७१ दशमलव शून्य ६ प्रतिशतले बैंक खाता रहेको बताएका छन् ।
सामूहिक रूपमा बचत गर्नेको संख्या सबैभन्दा उच्च कर्णाली प्रदेशमा ६३ दशमलव ३ प्रतिशत छ । यस्तै सबैभन्दा कम मधेश प्रदेशका ३१ दशमलव ६५ प्रतिशत सर्वसाधारणले अनौपचारिक समूह बनाएर बचत गर्ने गरेका छन् ।
बचत, अवकाश तथा लगानी उपकरणको प्रयोगसम्बन्धी प्रश्नावलीमा गरिएको सर्वेक्षणमा बैंकमा विभिन्न प्रकृतिका खाता खोल्नेको संख्या पनि उच्च छ । उत्तरदातामध्ये ७१ दशमलव ६ प्रतिशतसँग बचत खाता, ३० दशमलव ९४ प्रतिशतसँग चल्ती खाता र १२ दशमलव ८३ प्रतिशतसँग मुद्दती खाता छ ।
यस्तै १७ दशमलव १३ प्रतिशतले लघुवित्तको खातामा, ५६ दशमलव ७४ प्रतिशतले सहकारीको खातामा, ६ दशमलव १५ प्रतिशतले पेन्सन खातामा र ४ दशमलव ६५ प्रतिशतले नागरिक लगानी कोषको खातामा बचत गरेका छन् । यस्तै २३ दशमलव ९४ प्रतिशतले शेयरमा र ९ दशमलव ३८ प्रतिशतले ऋणपत्रमा बचत गरेका छन् ।
क्षेत्रगत रूपमा समूहमा बचत गर्नेको संख्या गाउँपालिकामा धेरै छ भने प्राथमिक शिक्षा मात्र पाउने वर्ग यसप्रति बढी आकर्षित छन् । यस्तै काम गर्ने वर्गको आधारमा गृहिणी वर्गले पनि यसको प्रयोग बढी गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । अनौपचारिक समूहबाट ऋण लिनेको संख्या २६ दशमलव शून्य २ प्रतिशत रहेको छ ।
यसरी अनौपचारिक ऋण लिनेमा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ३८ दशमलव १७ प्रतिशत छन् । सबैभन्दा कम मधेश प्रदेशमा २० दशमलव १० प्रतिशत सर्वसाधारणले समूहबाट ऋण लिने गरेको राष्ट्र बैंकले जानकारी दिएको छ । सर्वसाधारणमा वित्तीय क्षेत्रमध्ये सबैभन्दा बढी बैंकबाट ऋण लिने परिपाटी रहेको पाइएको छ । १७ दशमलव ६० प्रतिशतले बैंकबाट, १२ दशमलव ११ प्रतिशतले लघुवित्तबाट, ११ दशमलव ७६ प्रतिशतले सहकारीबाट र २ दशमलव ३५ प्रतिशतले सरकारको सहुलियत ऋण उपभोग गरेको बताएका छन् ।
अध्ययनले ५७ दशमलव ९ प्रतिशत नेपालीमा मात्र वित्तीय साक्षरता रहेको तथ्य पनि उजागर गरेको छ । नेपालमा हाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त बैंक, वित्तीय संस्थाका अतिरिक्त सहकारी संस्था, बीमा कम्पनी, भुक्तानी सेवाप्रदायक, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोषले वित्तीय सेवा दिइरहेका छन् । वित्तीय साक्षरता बढाउन राष्ट्र बैंकले वित्तीय साक्षरता मार्गदर्शन नै जारी गरी बैंक, वित्तीय संस्थालाई कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ । यस्तै राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्डलगायत नियामकले पनि वित्तीय साक्षरतासम्बन्धी चेतनामूलक कार्यक्रमहरू
गरिरहेका छन् ।