ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

औद्योगिक क्षेत्रका उद्योगको उत्पादन क्षमता खुम्चियो, भदौपछि विद्युत् खपतमा पनि उतारचढाव

२०७९ पुस, १३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं। सरकारको व्यवस्थापनमा सञ्चालनमा रहेका औद्योगिक क्षेत्रका उद्योगहरूको उत्पादन क्षमतामा कमी आएको छ । २ साताअघि नेपाल उद्योग परिसंघले सार्वजनिक गरेको तथ्यांकले पनि मागसँगै उत्पादन घटेको र नयाँ लगानीका लागि लगानीकर्ता इच्छुक नभएको देखाएको थियो ।

दशकौंअघि स्थापना भई सञ्चालनमा आएका १० ओटा औद्योगिक क्षेत्रका उद्योगहरूको औसत उत्पादन क्षमता ६० प्रतिशतमा सीमित भएको छ । यी औद्योगिक क्षेत्रको व्यवस्थापन गर्दै आएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले मङ्सिरमा गरेको अध्ययनले समग्र उद्योगहरूको उत्पादन क्षमतामा कमी आएको देखाएको हो । बालाजु, पाटन, हेटौंडा, धरान, नेपालगञ्ज, पोखरा, बुटवल, भक्तपुर, वीरेन्द्रनगर र गजेन्द्रनारायण औद्योगिक क्षेत्रमा सञ्चालित कुल ६१८ उद्योगको औसत उत्पादन क्षमता घटेको हो ।
औद्योगिक क्षेत्रका अनुसार १० ओटा औद्योगिक क्षेत्रमा ६८७ ओटा उद्योग छन् । त्यसमध्ये सञ्चालनमा आएका उद्योगहरूको उत्पादन क्षमता घटेको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकारी प्रकाश खड्काले बजारमा माग नभएको र उद्योगी व्यवसायी पनि नयाँ उत्पादन र लगानी थप्न उत्साहित नदेखिएको बताए । 

‘औद्योगिक क्षेत्रका उद्योगको उत्पादन विस्तार हुनुको साटो खुम्चिएको छ,’ खड्काले भने, ‘ब्याजदर वृद्धि, मागमा सुस्ती र बजारमा गएको वस्तुको रकम फिर्तामा समस्या छ, ९० दिनसम्ममा फिर्ता हुनुपर्ने उधारो रकम ३÷४ महीनासम्म फिर्ता हुँदैन । अहिले उत्पादनदेखि लगानी विस्तार र विद्युत्को खपत पनि घटेको छ ।’ परिसंघको तथ्यांकले पनि मागमा उल्लेख्य कमी आएको देखाएको थियो । 

परिसंघले विभिन्न क्षेत्रमा गरेको अध्ययनले मागमा औसत २८ प्रतिशतको कमी आएको देखाएको थियो । अर्काेतर्फ डलरको मूल्य उच्च हुँदा उत्पादन लागत महँगो भएको छ । यसले गर्दा उत्पादन बढाउन समस्या भएको सूचना अधिकारी खड्काले बताए । 

यसैगरी पछिल्ला महीनाहरूमा औद्योगिक क्षेत्रका उद्योगले खपत गरेको विद्युत् परिमाणमा पनि उतारचढाव देखिएको छ । औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका उद्योगमा साउनमा ९९ लाख युनिट विद्युत् खपत भएको थियो । भदौमा यो बढेर १ करोड २ लाख युनिट पुगे पनि त्यसपछिका महीनामा घट्दै गएर मङ्सिरमा ८४ लाख युनिटमा सीमित छ । उत्पादन कम हुँदा बिजुली खपत पनि घटेको हो । पछिल्लो समय तरलता अभाव, उच्च ब्याजदर, चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन जस्ता कारण देखाउँदै उद्योगी व्यवसायीले लगानीको वातावरण बिग्रिएको बताउँदै आएका छन् ।

अर्काेतर्फ, बजारमा माग घट्दा उद्योगीहरूले आफ्ना उत्पादन पनि घटाएका छन् । १० ओटा औद्योगिक क्षेत्रमा सरकारको लगानी ५६ अर्ब ३४ करोड रुपैयाँ लगानी छ भने निजीक्षेत्रको २० अर्ब ३१ करोड रुपैयाँ लगानी भएको छ ।

औद्योगिक क्षेत्रहरूमा रहेका सबै उद्योग सञ्चालनमा छैनन् । धेरै उद्योग रहेको बालाजु औद्योगिक क्षेत्रमा १४१ ओटा उद्योगमध्ये १२९ ओटा मात्र सञ्चालनमा छन् भने १३३ ओटा उद्योग रहेको हेटौंडा औद्योगिक क्षेत्रमा ११० ओटा उद्योग सञ्चालनमा छन् । यस्तै, ११७ ओटा उद्योग रहेको पाटन औद्योगिक क्षेत्रमा ११२ ओटा मात्र सञ्चालनमा छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)