ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चीनमा कोरोना संक्रमण बढेसँगै नेपालमा चिन्ता, पर्यटक आगमन प्रभावित नगरौं: पर्यटन बोर्ड 

२०७९ पुस, १५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रकाश जोशी

काठमाडौं । उत्तरी छिमेकी चीनमा नयाँ भेरियन्टसहितको कोरोनाको लहर फैलन थालेसँगै नेपालमा भित्रन सक्ने चिन्ता बढेको छ । कोरोनाको पहिलो र दोस्रो लहरपछि नेपालको पर्यटन व्यवसाय विस्तारै तंग्रिन थालेको छ । यो अवस्थामा चिनियाँ पर्यटक र नेपालका विभिन्न आयोजनामा काम गरिरहेका त्यहाँका श्रमिकको आवागमनले कोरोना संक्रमणको जोखिम बढ्न सक्ने सरोकारवालाहरू बताउँछन् ।

चीनबाट चालू आर्थिक वर्ष (आव)को पहिलो ५ महीनामा ५ हजार ९०६ जना चिनियाँ नागरिक नेपाल आएको अध्यागमन विभागको तथ्यांक छ । विभागका अनुसार साउनमा १ हजार ७०४, भदौमा १ हजार २०३, असोजमा १ हजार ९, कात्तिकमा १ हजार ६७ र मङ्सिरमा ९२३ जना चिनियाँ नागरिक नेपाल आएका हुन् ।

चीनबाट कम संख्यामै भए पनि अहिले नियमित रूपमा पर्यटक आइरहेको नेपाल पर्यटन बोर्डले बताएको छ । उनीहरू पूर्ण खोप लगाएर र चीनमा क्वारेन्टाइन लगायत प्रक्रिया पूरा गरेर आएकाले आगमनमा कडाइ गर्न नहुने पर्यटन बोर्डका अधिकारी बताउँछन् । ‘चिनियाँ पर्यटक कोभिडविरुद्धका सबै मापदण्ड पालना गरेर आएका छन्, यस्तोमा उनीहरूको आगमन प्रभावित पार्नुहुँदैन,’ नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मीले भने ।

जाडो याममा कोरोना संक्रमण सामान्य रूपमा देखिनु स्वाभाविक भएको भन्दै कार्यकारी निर्देशक रेग्मीले यसैलाई कारण देखाएर चिनियाँसहित बाह्य पर्यटक आगमनमा कडाइ गर्न नहुने रेग्मीले बताए ।

पछिल्ला केही महीनायता चीनको आर्थिक राजधानी शाङ्हाईसहितका शहरमा कोरोनाको संक्रमण तीव्र रूपमा फैलिइरहेको छ । तीव्र संक्रमण कम गर्न र कोरोना फैलिन नदिन चीन सरकारले उच्च संक्रमणमा रहेका शहरहरूमा लकडाउन लागू गरेको थियो । तर लकडाउनविरुद्ध जनस्तरबाट व्यापक प्रदर्शन भएपछि सरकारले लकडाउन खुकुलो पारेको छ ।

चीनमा अहिले फैलिएको कोरोना भाइरस ओमिक्रोनको सब–भेरियन्ट ‘बीएफ–७’ हो । यो भेरियन्टको संक्रमणदर निकै तीव्र रहेको विज्ञहरूले बताएका छन् । छोेटो समयमै यसले ठूलो जमातलाई संक्रमित पार्ने क्षमता राख्ने बताइएको छ । 

संक्रामक रोग विशेषज्ञ डा. प्रवीण श्रेष्ठले नेपालमा यो भेरियन्ट फैलन नदिन सरकारले बेलैमा पूर्वतयारी थाल्नुपर्ने बताए । ‘संक्रमणबाट बच्न सर्वसाधारणले पनि स्वास्थ्य सतर्कता अपनाउनुपर्छ,’ उनले भने, ‘कोरोनाको यसअघिका लहरबाट हामीले धेरै सिकिसकेका छौं, त्यसले पनि संक्रमण न्यूनीकरणमा सघाउ पुग्छ ।’

शाङ्हाई लगायत चिनियाँ शहरमा तीव्र गतिमा फैलिएको कोरोनाको नयाँ भेरियन्ट भारतका गुजरात लगायत राज्यमा पनि छिटफुट रूपमा देखिएका छन् । तर त्यसबाट संक्रमितको संख्या नगन्य रहेको भारत सरकारले बताएको छ ।

भारतसँग नेपालको खुला सिमाना भएकाले यस्तो भेरियन्ट भारतमा देखिँदा नेपालमा पनि भित्रन सक्ने जोखिम भने कायमै छ । यद्यपि अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले बताए । ‘नेपालमा धेरैले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्, केहीले बुस्टर डोज पनि लगाएका छन्,’ उनले भने, ‘लगाउन बाँकी रहेकाहरूलाई नियमित खोप र बुस्टर डोज दिने तयारी भइरहेको छ ।’

आफूहरू कोरोनाविरुद्धको प्रतिकार्यका लागि तयारी अवस्थामा रहेको मन्त्रालयका अधिकारीहरूले बताएका छन् । ‘खुला सिमाना रहेको भारतमा पनि संक्रमण दर बढेमा सीमा नाकामा कडाइ गर्नुका साथै पीसीआर परीक्षण र क्वारेन्टाइन अनिवार्य गर्नुपर्ने आवश्यकता देखिएको छ,’ प्रवक्ता डा. ठाकुरले भने ।

गृह मन्त्रालयले छिमेकी मुलुकसहित केही देशमा संक्रमणका नयाँ भेरियन्ट देखापरेको र त्यसको जोखिम नेपालमा पनि रहेको भन्दै अहिलेदेखि नै स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)