ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आधुनिक प्रविधि प्रयोगले हिउँदे तरकारीमा आत्मनिर्भर बन्दै म्याग्दीका किसान

२०७९ पुस, १५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी। म्याग्दीका किसान हिउँदे तरकारीमा आत्मनिर्भर बन्दै गएका छन् । हिउँदे तरकारीखेतीमा यहाँका किसानको आकर्षण बढेपछि परनिर्भरता पनि घट्दै गएको हो ।

तरकारीखेती म्याग्दीको बेनी नगरपालिकासहित मंगला र अन्नपूर्ण गाउँपालिकाका किसानको आम्दानीको मुख्य स्रोत बनेको छ । यस वर्ष बेनी नगरपालिका, मंगला र अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा करीब १३ हजार हेक्टर क्षेत्रफलमा तरकारीखेती गरिएको छ ।

विगत वर्षहरूमा सोही क्षेत्रका स्थानीयले किनेर तरकारी उपभोग गर्दै आएका थिए । तर केही वर्षयता यहाँका किसानले उत्पादन गरेको तरकारीले स्थानीय माग पूरा गरेको मात्र छैन, बाहिर निकासी समेत हुने गरेको छ ।

हिउँदे तरकारीखेतीका लागि परिचित पश्चिमी र उत्तरी म्याग्दीका विभिन्न भू–भागहरूमा किसानले काउली, ब्रोकाउली, आलु, सिमी, गोलभेडा र खुर्सानी खेती गरेको कृषि ज्ञान केन्द्र म्याग्दीले जानकारी दिएको छ ।

म्याग्दीका विभिन्न स्थानमा यस वर्ष गरिएको काउली, बन्दागोभी, गोलभेडा, खुर्सानीलगायत तरकारीखेतीबाट करीब ४ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको केन्द्रले बताएको छ । जिल्लाका विभिन्न क्षेत्रमा उत्पादन भएका तरकारी सदरमुकाम बेनीका साथै गलेश्वर, दरबाङ, तातोपानी, पोखरेबगरलगायत बजारमा विक्री गरिँदै आएको छ ।
विगतमा परम्परागत रूपमा गरिने अन्नबालीको तुलनामा आधुनिक तरकारीखेतीबाट बढी आम्दानी हुने र जीविकोपार्जनमा समेत सहज हुने स्थानीय किसान बताउँछन् । अन्नपूर्ण पदमार्गले छोएको म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका साथै रघुगंगा, मालिका, मंगला, धवलागिरि गाउँपालिका र बेनी नगरपालिकाका दर्जनभन्दा बढी गाउँका ३ हजारभन्दा बढी स्थानीयले व्यावसायिक तरकारी तथा फलफूल खेती गरेर मनग्गे आम्दानी गर्दै आएका छन् ।

२ लाख २९ हजार ७०६ हेक्टर क्षेत्रफलमा फैलिएको म्याग्दीमा ३० हजार ८५६ हेक्टर जमीन मात्र खेतीयोग्य रहेको कृषि ज्ञान केन्द्र म्याग्दीले बताएको छ । १ लाख १३ हजार ६४१ जनसंख्या रहेको जिल्लामा ३२ प्रतिशत कृषिमा आत्मनिर्भर छन् ।

अन्नपूर्ण गाउँपालिकाका हिस्तान दोसल्ले, राम्चे, मंगला  गाउँपालिकाका बाबियाचौर, अर्मन, बरंजा, कुँहू, धवलागिरि गाउँपालिकाको ताकम, मालिका गाउँपलिकाका बीम, दरबाङ, ओखरबोट, रघुगंगा गाउँपालिकाका पिप्ले, भगवती, बेग, झीँ, पात्लेखेत र बेनी नगरपालिकाका रत्नेचौर, ज्यामरुककोट, भकिम्ली, सिंगालगायत गाउँका अधिकांश बासिन्दा कृषिबाटै स्वरोजगार बनेका छन् । यी गाउँमा वार्षिक ५ करोड रुपैयाँभन्दा बढीको तरकारी उत्पादन हुने गरेको जिल्ला कृषि ज्ञान केन्द्रको तथ्यांक छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)