ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

यस्तो रह्यो २०२२ : महँगी, आयातमा कडाइ, युद्ध र कोभिडले अर्थतन्त्र उठ्नै हम्मेहम्मे

२०७९ पुस, १७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । सन् २०२२ मा विश्वभर देखिएको उतारचढावको असरले नेपाली अर्थतन्त्रसमेत प्रभावित भएको छ । खासगरी कोभिड महामारी पूर्ण नियन्त्रणमा आउन नसक्नु, रूस–युक्रेन युद्धले अस्तव्यस्त बनाएको आपूर्ति व्यवस्थापन, इन्धनको मूल्यवृद्धि, विश्व जगत्मा बढेको महँगी, आयातमा कडाइका कारण नेपाली अर्थतन्त्र यो वर्ष मारमा पर्‍यो । 

रूस–युक्रेन युद्ध र कोभिडले पुर्‍याएको असरका कारण नेपाली अर्थतन्त्रलाई उठ्न हम्मेहम्मे परिरहेको छ । अहिले नेपाली अर्थतन्त्रमा उच्च ब्याजदर, महँगी, पर्यटक आगमन पुरानै लयमा फर्कन नसक्नुजस्ता समस्या देखिएका छन् । विश्व बैंकले पछिल्लो नेपाल डेभलपमेन्ट अपडेटमा आर्थिक वर्ष २०२२/२३ मा ५ दशमलव १ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरेको छ ।

एशियाली विकास बैंक (एडीबी) ले गरेको प्रक्षेपण योभन्दा कम छ । एडीबीले यो वर्ष ४ दशमलव ७ प्रतिशतले नेपाली अर्थतन्त्र विस्तार हुने अनुमान गरेको छ । कोरोनापछि पर्यटन क्षेत्रमा देखिएको सुधार र विद्युत् उत्पादनमा भइरहेको वृद्धिले समग्र उत्पादन क्षेत्रमा पर्ने सकारात्मक प्रभावका कारण अर्थतन्त्र विस्तारमा योगदान पुग्ने विश्व बैंकको आकलन थियो ।

सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने र २० लाख पर्यटक ल्याउने सरकारको योजना कोरोना महामारीका कारण सम्भव हुन सकेन । यसका कारण सन् २०१९ को तुलनामा २०२० मा विदेशी पर्यटक आगमन ८० प्रतिशतले घटेर २ लाख ३० हजार ८२ मा सीमित भयो । कोरोना महामारीको असर सन् २०२१ मा पनि देखियो ।

सन् २०२१ मा अघिल्लो वर्षको तुलनामा पर्यटक आगमन ३४ दशमलव ८७ प्रतिशतले र २०१९ को तुलनामा ८७ प्रतिशतले घटेको थियो । सन् २०२२ को ११ महीनामा नेपाल आएका पर्यटकको संख्या हेर्ने हो भने यसमा सुधार देखिएको छ । सन् २०२१ को तुलनामा यस वर्षको नोभेम्बरसम्म २६६ प्रतिशतले पर्यटक आगमन बढेको छ । 

निराशाबीच सन् २०२२ मा नेपालले विद्युत् व्यापारमा सफलता पायो । ३ पुससम्ममा ११ अर्ब १६ करोड ३० लाख रुपैयाँको विद्युत् भारततर्पm निर्यात भएको देखिन्छ । देशभित्र खपत गरी अतिरिक्त भएको १ अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट बिजुली नेपाल विद्युत् प्राधिकरणले निर्यात गरी उक्त रकम आर्जन गरेको हो ।

अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ) ले गत अक्टोबरमा सार्वजनिक गरेको वल्र्ड इकोनोमिक आउटलुकले २०२२ मा विश्व अर्थतन्त्रको वृद्धिदर ३ दशमलव २ प्रतिशतमा खुम्चने अनुमान गरेकोमा यो सूचक २०२३ मा झन् खस्केर २ दशमलव ७ प्रतिशतमा सीमित हुने भनेको छ । सन् २०२१ को डिसेम्बरसम्मको तुलनामा यस वर्षको सरकारको आम्दानी घटेको छ । गतवर्ष डिसेम्बरसम्म ४ खर्ब ४५ अर्ब रुपैयाँ आम्दानी भएकोमा यस वर्ष ३ खर्ब ५० अर्बमा सीमित रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाउँछ । 

२०२२ मा डलरको भाउ उच्च बन्न पुग्यो । नेपालीे अर्थतन्त्र आयातमुखी भएकाले डलरको भाउ बढ्दा अर्थतन्त्रमा चाप बढ्यो । विदेश पढ्न जानेले बाहिर लगेको रकम हेर्ने हो भने चालू आर्थिक वर्षको ४ महीनामा नेपालबाट २२ अर्ब रुपैयाँभन्दा धेरै बाहिरिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउनदेखि कात्तिक मसान्तसम्म पढ्नका लागि विदेश जाने नेपालीले २२ अर्ब ६१ करोड रुपैयाँ खर्च गरेका छन् । यो गएको वर्षको तुलनामा दोब्बर हो । अघिल्लो आर्थिक वर्षको पहिलो ४ महीनामा वैदेशिक शिक्षाका लागि १० अर्ब ७० करोड रुपैयाँ बाहिरिएको थियो । यस्तै विदेश घुम्न जाने नेपालीले ४ महीनामा ३३ अर्ब ६ करोड रुपैयाँ खर्च गरेका छन् । पछिल्ला वर्षहरूमा नेपाल भम्रण गर्न आउनेले भन्दा नेपालबाट डलर लगेर विदेशमा खर्च गर्ने
बढेका छन् । 

२०२२ मा नेपालमा दोस्रो अन्तरराष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आयो । २०२३ शुरू भइरहँदा अर्थतन्त्रमा केही आशा भने पलाएको छ । आज (आइतवार) बाट पोखरास्थित नेपालको तेस्रो अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउन लागेको छ । यसले पर्यटन प्रवद्र्धनमा योगदान गर्नेछ । समग्रमा २०२२ केही निराशा र केही आशा जगाउँदै बिदा भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)