ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

४ महीनामै पौने २ अर्ब वैदेशिक लगानी फिर्ता : लगानीमैत्री वातावरण बनाउन कहाँ चुक्यो सरकार ?

२०७९ पुस, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रकाश जोशी

काठमाडौं । मुलुकमा वैदेशिक लगानी आउने क्रम घटिरहेको बेला ४ महीनामै १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी वैदेशिक लगानी फिर्ता भएको छ । यो आँकडा चालू आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो ४ महीनाको हो । यसपालि ४ महीनामा फिर्ता गएको विदेशी लगानी अघिल्ला २ आवको वार्षिक फिर्ताभन्दा करीब दोब्बर हो । 

नेपाल राष्ट्र बैंकका अनुसार आव २०७७/७८ मा ३९ करोड ६७ लाख र आव २०७८/७९ मा ६५ करोड ८७ लाख रुपैयाँ विदेशी लगानी फिर्ता भएको थियो । आर्थिक अवस्था असहज भएका बेला ठूलो परिमाणमा विदेशी लगानी फिर्ता जाँदा सम्भावित लगानीकर्तामाझ नकारात्मक सन्देश प्रवाह हुने विज्ञहरू बताउँछन् । 

चालू आवको पहिलो ४ महीनामा १ अर्ब ८० करोड ७३ लाख रुपैयाँ विदेशी लगानी फिर्ता भएको नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यही अवधिमा नेपाल भित्रिएको वैदेशिक लगानी भने २ अर्ब २३ करोड ६० लाख रुपैयाँ बराबर छ । यो गत वर्षको सोही अवधिको तुलनामा साढे ६७ प्रतिशत कम हो । 

राष्ट्र बैंकस्थित स्रोतका अनुसार भारतको मणिपाल समूहले आफ्नो स्वामित्व विक्री गरेर उक्त रकम फिर्ता लगेको हो । मणिपाल समूहले नेपाल सरकारबाट ४९ वर्षका लागि जग्गा लीजमा लिएर सन् १९९४ मा मणिपाल एजुकेशन एन्ड मेडिकल ग्रूप (नेपाल) लिमिटेडअन्तर्गत पोखरामा मेडिकल कलेज र शिक्षण अस्पताल सञ्चालनमा ल्याएको थियो । विदेशी लगानीकर्ता फिर्ता गएको यो घटनाले उद्यमी व्यवसायीलाई लगानीमैत्री वातावरण दिने सरकारको प्रतिबद्धतामै प्रश्न उत्पन्न गरेको छ । 

मणिपाल समूहले सञ्चालन गरेको ७ सय ५० शैय्याको अस्पतालमा ११ सय कर्मचारी छन् । उक्त कलेजले प्रत्येक वर्ष १ सय विद्यार्थीलाई एमबीबीएस पढाउने अनुमति पाएको छ । मणिपाल समूहले शिक्षण अस्पताल र मेडिकल कलेज गतवर्ष भदौमा आनन्दराज बतासको बतास अर्गनाइजेशन र नारायण पौडेलको अटोवेज ग्रूपलाई ३ अर्ब २२ करोड ६० लाख रुपैयाँमा विक्री गरेको थियो । मणिपाल समूहको कर र अन्य दायित्वसमेत बेहोर्ने गरी बतास अर्गनाइजेशनले ६० र अटोवेज ग्रूपले ४० प्रतिशत उक्त संस्थामा लगानी 
गरेका छन् ।

यस समूहले भारतबाहिर दुबई, मलेशिया, एन्टिगुआलगायतमा शिक्षण अस्पताल र मेडिकल कलेजमा लगानी गरेको छ । उसले भारतबाहिर पहिलोपटक गरेको लगानी भने नेपालमै थियो । 

शिक्षण अस्पताल र मेडिकल कलेजमा कार्यरत कर्मचारीले बन्द, हडताल तथा आन्दोलन गर्दै अनेक झमेला दिन थालेपछि उक्त समूह नेपालबाट बाहिरिएको बुझिएको छ । असहज परिस्थितिमा सरकारले सहयोग नगरेपछि लगानीकर्ता निराश भएको बताइन्छ । 

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा यस्ता घटनाबाट नेपालमा लगानीको वातावरण नै छैन भन्ने नकारात्मक सन्देश जाने बताउँछन् । ‘वैदेशिक लगानीका लागि राजनीतिक, प्रशासनिक र श्रमसम्बन्धी अनुकूल वातावरण चाहिन्छ,’ थापाले भने । नेपालमा त्यस्तो वातावरण बन्न अझै बाँकी रहेको उनको भनाइ छ । 

थापाका अनुसार नेपालको कर्मचारीतन्त्र वैदेशिक लगानीमैत्री छैन । ‘ढिलासुस्ती, अनियमितता, नियतवश दुःख दिने, समयमा निर्णय नगर्ने र झुलाउने परिपाटीले लगानीकर्ता आजित भई फर्किने गरेका छन्,’ उनले भने, ‘यसले लगानी गर्न चाहनेलाई पनि निरुत्साहित गरिरहेको छ ।’  

लगानी बोर्ड नेपालका प्रवक्ता अमृत लम्साल पनि आन्दोलनजस्ता क्रियाकलापलाई निस्तेज र निरुत्साहित गरेर लगानीकर्ता टिकाउने वातावरण बन्न नसकेको स्वीकार्छन् । ‘वैदेशिक लगानी ल्याउन, टिकाउन र प्रतिफल दिन यो क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नुपर्छ । साथै यथोचित तरीकाले प्रवद्र्धन गर्नुपर्छ । अहिले त्यसको कमी देखिएको छ,’ प्रवक्ता लम्सालले आर्थिक अभियानसँग भने ।

अहिले राज्यका विभिन्न निकायबीच उपयुक्त तरीकाले समन्वय हुन नसकेको भन्दै प्रवक्ता लम्सालले थपे, ‘लगानी फिर्ता हुँदा सम्बद्ध सबैले त्यसको जिम्मेवारी लिनुपर्छ । एकद्वार प्रणाली, शीघ्र निर्णय एवं प्रक्रिया छोट्ट्याएर काम गर्ने पद्धति विकास गर्नुपर्छ ।’

विदेशी लगानी ल्याउन र टिकाउन पर्याप्त मात्रामा विदेशी लगानी भिœयाइरहेका देशहरूले अवलम्बन गरेका असल अभ्यासलाई उदाहरणका रूपमा लिएर सरकारले नीतिगत स्तरबाटै सुधार गर्नुपर्ने विज्ञहरू औंल्याउँछन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)