ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२००८ को विश्वव्यापी मन्दीकै ट्रेन्डमा सुनको भाउ, आर्थिक अनिश्चयले सुनमा खनिए लगानीकर्ता

२०७९ पुस, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी

काठमाडौं । हालैका दिनमा नेपाली बजारमा सुनको भाउ उकालो लागिरहेको छ । वैशाखमा केही दिन प्रतितोला १ लाख रूपैयाँमाथि उक्लिएर लाख रूपैयाँभन्दा तल झरेको सुनको भाउ मंसिर अन्त्यसम्म पनि ६ अंक पार गर्न सकेन । त्यसयता पुस ३ मा पहिलो पटक सुनको भाउ तोलाको १ लाख नाघ्यो । पुसको १४ गतेदेखि उकालो लागेको सुनको मूल्य पुस २० सम्म निरन्तर बढिरहेको छ । यो बीचमा सुनको भाउ तोलामा २ हजार रूपैयाँ बढिसकेको छ । पुस १४ गते तोलाको १ लाख ९०० रहेको सुनको भाउ १ लाख २ हजार ९०० पुगेको छ । 

मंगलबार अन्तरराष्ट्रिय बजारमा पनि सुनको भाउ ६ महीनाकै उच्च विन्दुमा पुगेको थियो । डिसेम्बर २८ मा बढ्न शुरु भएको सुनको भाउ आज जनवरी ४ सम्मै उकालो लागिरहेको छ । मंगलबारको दिनको कारोबारमा न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जमा स्पट गोल्ड प्रतिऔंस १ हजार ८५० डलरसम्म उक्लिएको थियो । बुधवारको कारोबारमा सुनको भाउ १ दशमलव शून्य ४ प्रतिशत अर्थात् झन्डै १९ डलर १९ सेन्टले बढेर १ हजार ८५५ मा पुगेको छ । 

गएको वर्षको नोभेम्बरदेखि नै अन्तरराष्ट्रिय सुन बजार उकालो लागिरहेको छ । शेयरमा बजारमा आएको तीव्र उथलपुथल, विश्व अर्थतन्त्र मन्दीमा जाने प्रक्षेपण र केन्द्रीय बैंकहरूबाट सुनको मागमा भएको वृद्धिका कारण हालैका महीनामा सुन बजारले टेवा पाइरहेको छ । 

सुनसँग विपरित सहसम्बन्ध ठानिएको अमेरिकी डलर मजबुत बनेको अनि लगानी गर्दा नडुब्ने ठानिएका अन्य सम्पत्तिहरूमा लगानी गर्ने प्रतिस्पर्धाका कारण सन् २०२२ मा सुनको भाउमा उतारचाढाव आएको थियो । तर, केन्द्रीय बैंकहरूकोे सुन खरिद, गरगहना बनाउने बढ्दो माग र सुनको सीमित आपूर्तिका कारण यस वर्ष भने सुनको भाउ बढ्ने ठोकुवा विश्लेषकहरूले गरिरहेका छन् । विश्व बजारमा सुनको भाउ यो वर्ष प्रतिऔंस २ हजार ५ सयदेखि ४ हजार डलरसम्म आउन सक्ने प्रक्षेपणहरू आइरहेका छन् । 

आर्थिक मन्दीको भय र शेयर बजार ओरालो लाग्ने खतराका साथसाथै कमजोर डलर अनि मुद्रास्फीति अपेक्षा गरिएको स्तरमा नओर्लिने सम्भावना आदिले गर्दा पनि यो वर्ष सुन बजारले टेवा पाउने स्याक्सो बैंकमा कमोडिटी रणनीतिज्ञ ओल हान्सेनले सीएनबीसीसँग बताएका छन् । अमेरिकी केन्द्रीय बैंकले महँगी नियन्त्रण गर्न शुरु गरेको आक्रामक ब्याजदर वृद्धिको अभियान सुस्त हुने संकेतले पनि सुनको भाउले टेवा पाउने विश्लेषण गरिएको छ । 

गएको वर्ष विश्वभर महँगी बढ्दा हेजिङको रूपमा सुनमा लगानी बढ्ने र सुनको भाउ बढ्ने अनुमान गरिएको थियो । तर, अपेक्षाकृत सुनको भाउ बढेन, बरु उल्टै घट्यो । भूराजनीतिक अनिश्चयको बेलामा पनि लगानीकर्ताहरूले शेयर लगायतका जोखिमयुक्त सम्पत्ति भन्दा सुनमा नै भरोसा गर्छन् । युक्रेनमाथि गएको वर्ष फेब्रुअरीको अन्त्यतिर रुसले गरेको आक्रमणले पनि सुनको भाउलाई टेवा दिने अपेक्षा गरिएको थियो । तर, त्यो अपेक्षा पूरा भएन । 

मार्चको पूर्वार्द्धमा प्रतिऔंस २ हजार ५० डलरमा पुगेको सुनको भाउ त्यसयता निरन्तर ओरालो लागेर सेप्टेम्बरको उत्तरार्द्धमा १ हजार ६६० डलरभन्दा तल आयो । नोभेम्बरदेखि भने बजारले उल्टो गति लिएको छ । 

सुन अहिलेसम्म नदेखिएको स्तरमा पुग्ला त ? 

फेडले दशकौं यताकै उत्कर्षमा पुगेको महँगी नियन्त्रण गर्न धमाधम ब्याजदर बढाएपछि गएको वर्ष सुनको भाउ बढेन भन्दा पनि हुन्छ । गएको तीन ओटा आर्थिक मन्दीमा सुनको भाउ २५ देखि ३२ प्रतिशतले बढेको थियो । यसपालि पनि यही चक्र दोहोरिने अनुमान गर्दा सुनको भाउ बढेर २ हजार २०० देखि २ हजार ४०० सम्म पुग्ने देखिन्छ । यतिसम्म बढ्ने प्रक्षेपण तर्कसंगत नै देखिन्छ । सन् २०२३ को उत्तरार्द्धमा आर्थिक मन्दी आए पनि सुनको भाउ त्यहाँसम्म नपुग्ने बताउँछन् एकथरी विश्लेषकहरू । 

आक्रामक ब्याजदर वृद्धि र आर्थिक सुस्ती अनि सम्भावित मन्दीको भयको मार यो वर्ष पनि शेयर बजारमा पर्ने देखिन्छ । तर, अधिकांश प्रमुख अर्थतन्त्रमा महँगी लक्षित स्तरमा रहन्छ कि रहन्न भन्नेमा चाहिँ अर्थशास्त्रीहरू एकमत छैनन् । यो वर्ष केन्द्रीय बैंकहरूले आक्रामक ब्याजदर वृद्धिलाई छोडेर डोभिश रहेमा यसले सुनको भाउमा ठूलो असर गर्न सक्छ । 

यस्तो अवस्थामा सुनको भाउ कम्तीमा पनि यो वर्ष २० प्रतिशतमाथि पुग्ने बताउँछन् गोल्ड माइनिङ ईटीएफका एरिक स्ट्रान्ड । 

डिसेम्बरको अन्त्यसम्ममा सीएनबीसीको एक कार्यक्रममा स्वीस एशिया क्यापिटलका प्रबन्ध निर्देशक तथा प्रमुख लगानी अधिकृत जुअर्ग केइनरले भने अहिलेको बजारको अवस्थाले सन् २००१ र सन् २००८ को स्थिति दोहोर्याएको बताएका थिए । त्यतिखेर सुनको भाउ ह्वात्तै बढेको थियो । डेढ वर्षभन्दा बढी समयमा सुनको भाउ प्रतिऔंस ६०० डलरबाट बढेर १ हजार ८०० डलरसम्म पुगेको थियो ।

अहिले पनि यस्तै खालको अवस्था दोहोरिन सक्ने र सुनको भाउमा १० वा २० प्रतिशत मात्रै नभएर सय प्रतिशतभन्दा बढीको वृद्धि हुने उनले बताएका थिए । ब्याजदर वृद्धि र आर्थिक मन्दीको भयबीच शेयर बजारमा उथलपुथल आउँदा सुनको भाउ यो वर्ष बढेर प्रतिऔंस ४ हजार डलरसम्म पुग्ने उनले बताएका थिए । यो अहिलेको दोब्बरभन्दा बढी हो । एजेन्सीहरूको सहयोगमा

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)