ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘डेरी प्रडक्ट’ आयातमा ५ वर्षमा ११ अर्ब बाहिरियो : कतारदेखि अमेरिकाका प्रडक्ट नेपालमा

२०७९ पुस, २०  
समाचार उपभोक्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रतिक्षा कडेल

काठमाडौं । नेपालीहरूले डेरी प्रडक्ट (दुग्धजन्य वस्तु) को आयातमा मात्रै वार्षिक अढाई अर्ब रुपैयाँभन्दा बढी रकम विदेश पठाउने गरेका छन् । भन्सार विभागको पछिल्लो ५ वर्षको तथ्याङ्क हेर्दा वर्षेनी न्युनतम १ अर्ब ८० करोडदेखि २ अर्ब  ६० करोड रुपैयाँसम्म डेरी प्रडक्टको आयातमा विदेश गइरहेको छ ।

सरकारले हरेक वर्ष देशलाई दुग्ध पदार्थमा आत्मनिर्भर बनाउने घोषणा गर्दै आएपनि यसको आयात भने कम हुन सकेको छैन । चालू आर्थिक वर्षको पहिलो पाँच महीनामा मात्रै पनि १ अर्ब रुपैयाँभन्दा बढी मूल्यका डेरी प्रडक्टहरू आयात भइसकेका छन् ।
नेपालले ५ महीनामा २४ लाख ८८ हजार किलो डेरी प्रडक्टको आयातमा १ अर्ब ६ करोड ८० लाख रुपैयाँ विदेश पठाएको छ । यो भनेको गत वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको साउनदेखि मंङ्सिरसम्ममा १९ लाख २६ हजार किलो डेरी प्रडक्ट आयात गर्न ९० करोड २१ लाख रुपैयाँ बाहिरिएको थियो ।

कस्ता डेरी प्रडक्ट आयात हुन्छन् ? कहाँ कहाँबाट आउँछन् ?
नेपालले स्किम्ड दूध, प्रशोधित दूध, बटर, क्रिम, चिज र अन्य दूधबाट बनेका समाग्रिहरू आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । जसमध्ये  सबैभन्दा धेरै २८ करोड ८८ लाख रुपैयाँको बच्चाहरूले खाने दूध, २१ करोड ११ लाख रुपैयाँको दूधबाट बनेको बच्चाको खाना, १७ करोड ५९ लाख रुपैयाँ बराबरको पाउडर दूध र १२ करोड ४१ लाख रुपैयाँ बराबरको चिज आयात भएको देखिन्छ । 

नेपालले भारत, जर्मनी, कोरिया, डेनमार्क, बेलायत, अमेरिका, बेल्जियम, चिन, जापान, कतार, ‍ओमन लगायतका देशहरूबाट डेरी प्रडक्ट आयात गरेको देखिन्छ । 

पाँच वर्षमा कति डेरी प्रडक्ट आयात भए ?
नेपालले पछिल्लो साढे पाँच वर्षमा मात्रै ११ अर्ब रुपैयाँ बराबरको डेरी प्रडक्ट आयात गरेको भन्सारको आंकडा छ ।

आव २०७४/७५ २ अर्ब ६० करोड रुपैयाँ बराबरको ८६ लाख २ हजार ४६० किलो डेरी प्रडक्ट आयत भएको थियो । आव २०७५/७६ मा परिमाण बढेर ८८ लाख ६६ हजार ५८५ किलो पुगे पनि मूल्य भने घटेर १ अर्ब ८२ करोड रुपैयाँमा सीमित भएको थियो । 
त्यसैगरी, आव २०७६/७७ मा २ अर्ब २० करोड रुपैयाँ बराबरको ८३ लाख १३ हजार ९०४ किलो डेरी प्रडक्ट आयात भएको छ । यस्तै,  आव २०७७/७८ मा १ अर्ब ९९ करोड रुपैयाँ बराबरको ४६ लाख २८ हजार १२० किलो र आव २०७८/७९ मा २ अर्ब १४ करोड रुपैयाँ बराबरको ४२ लाख ६० हजार ८१५ किलो डेरी प्रडक्ट आयात भएको भन्सारको तथ्याकं छ ।

५ वर्षमा आयात भएका डेरी प्रडक्टको परिमाण र मूल्य

आर्थिक वर्ष परिमाण (किलो) मूल्य (रुपैयाँ)
२०७४/७५ ८६०२४६० २६०५०७८०९३
२०७५/७६ ८८६६५८५ १८२२९२००४६
२०७६/७७ ८३१३९०४ २२०६६००९१३
२०७७/७८ ४६२८१२० १९९५०४०३९६
२०७८/७९ ४२६०८१५ २१४८०७२२१०
२०७९/८० (५ महीना) २४८८०६० १०६८००००००
जम्मा ३७१५९९४४ ११८४५७११६५८

आत्मनिर्भर बनाउने योजना नारामै सीमित
डेरी उधोग सघंका अध्यक्ष राजकुमार दाहाल आन्तरिक उत्पादनले माग धान्न नसकेर डेरी प्रडक्टको आयात बढिरहेको बताउँछन् । 

‘हाम्रो बजारमा अझै ३ हजार मेट्रिक टन दूध अपुग छ । हाम्रो आन्तरीक उत्पादन जम्मा २४ हजार मेट्रिक टन छ ।’  उनले आर्थिक अभियानलाई भने, ‘हामीलाई चाहिने  दूधको परिमाण भनेको २७ देखि २८ हजार मेट्रिक टन हो ।’
उपभोक्ताको माग धान्न पनि वर्षेनी अर्बौको   दुग्धजन्य वस्तु आयात गर्नु परेको उनले बताए ।

अहिले दूध उत्पादन हुने सिजन भएकाले केही दूध स्टक गर्न सक्नु पर्नेमा आन्तरिक उत्पादनले पुगनपुग माग धान्न मात्रै सकिरहेको दाहाल बताउँछन् ।

‘अहिले २ देखि ३ लाख लिटरसम्म अतिरिक्त दूधको उपलब्धता भएको भए त्यसलाई कन्भर्जन गर्दा ३/४ महीनाको माग धान्न पुग्थ्यो ।’ दाहालले भने, ‘तर, अहिले दूध स्टक गर्ने पीक समयमै दैनिक ५० लिटर दूध पनि बच्दैन ।’ 
आन्तरीक उत्पादन हुने दूध ठूलो मात्रामा छुर्पि बनाएर विदेश निर्यात गर्दा पनि आन्तरिक माग धान्ने गरी दूध उपलब्ध नभएको  उनको भनाइ छ ।

भन्सार विभागका अनुसार नेपालबाट वार्षिक ३ अर्ब रुपैयाँ बराबरको छुर्पी लगायत कुकुर र बिरालोका लागि दूधबाट बनाइएका खाना निर्यात हुने गरेको छ । त्यसका लागि ३ करोड लिटर भन्दा बढी दूध खपत हुने गरेको दाहालले बताए ।

नेपालबाट गत आर्थिक वर्षमा १७ लाख ४४ हजार ५०० किलो छुर्पी लगायत कुकुर र बिरालोको खाने कुरा निर्यात भएको थियो । जसको मूल्य २ अर्ब ९२ करोड रुपैयाँ रहेको थियो । जसको औसत मूल्य प्रतिकिलो १ हजार ६७० रुपैयाँ रहेको थियो ।

चालू आर्थिक वर्षको ५ महीनाममा पनि नेपालबाट १ अर्ब १० करोड रुपैयाँ बराबरको ५ लाख ९४ हजार किलो छुर्पी लगायत कुकुर र बिरालोका खाने कुरा निर्यात भएको देखिन्छ । जसको औसत मूल्य प्रतिकिलो करीब १ हजार ९०० रुपैयाँ रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)