ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

किन घट्यो एलपी ग्यास आयात ? पाँच महीनामा १ करोड किलो कम आयात

२०७९ पुस, २१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं ।  पछिल्लो समय ग्यासको आयात घटेको तथ्यांकले देखाएको छ । तरलता अभाव, औद्योगिक उत्पादनमा कमी, विकास निर्माणको काम दु्रत गतिमा अघि नबढ्नु, ग्यास खपत गर्ने कतिपय उद्योगले बिजुली प्रयोग गर्नुजस्ता कारण खपत घट्दा यसको आयातमा कमी आएको हो ।

चालू आर्थिक वर्ष (आव) २०७९/८० को मङ्सिरसम्ममा नेपालमा २० करोड ६३ लाख केजीभन्दा बढी एलपी ग्यास आयात भएको छ । अघिल्लो वर्ष सोही अवधिमा २१ करोड ६७ लाख केजीभन्दा बढी ग्यास आयात भएको थियो । 

नेपालमा घरायसी, व्यावसायिक र औद्योगिक क्षेत्रले कति अनुपातमा ग्यास खपत गर्छन् भन्ने यकीन तथ्यांक भने उपलब्ध छैन । नेपाल आयल निगमका अनुसार औपचारिक तथ्यांक नभए पनि कुल खपतको २५ प्रतिशत औद्योगिक, व्यावसायिक क्षेत्रमा प्रयोग हुने अनुमान छ । ‘औद्योगिक तथा व्यावसायिक क्षेत्रमा खासगरी होटेल, फलाम, स्टील, सिमेन्टलगायत उद्योगले ग्यास खपत गर्छन्,’ निगमका प्रवक्ता विनीतमणि उपाध्यायले भने । उनका अनुसार जगदम्बा, आरती स्ट्रिप्स प्रालिलगायत ठूला उद्योगले निगमसँग सम्झौता गरेर ग्यास लैजान्छन् ।

उपाध्यायले ग्यास आयात कम हुनु राम्रो भए पनि अहिले घटेको अनुपात एकदमै थोरै भएकाले उत्साहित हुन सकिने स्थिति नरहेको बताए । मागमा आएको संकुचनका कारण उद्योगहरूले पछिल्लो समय उत्पादन कटौती गरेकाले ग्यास खपत घटेको हुन सक्ने सम्भावना छ । 

पछिल्लो समय जलविद्युत्को उपलब्धता बढेपछि उद्योगहरूले ग्यासबाट गर्ने काम बिजुलीबाट गर्न थाल्दा ग्यासको माग घटेको अनुमान छ । जगदम्बा स्टीलका एक अधिकारी पछिल्लो समय उत्पादन केही घटेको र बिजुलीले विस्तारै ग्यासलाई विस्थापित गर्न थालेको बताउँछन् । 

विगतमा सिमेन्ट उद्योगले पनि ग्यास प्रयोग गर्थे । अहिले तिनीहरूले ग्यासलाई बिजुलीले प्रतिस्थापन गरेका छन् । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले अहिले धेरैजसो काम बिजुलीबाटै हुन थालेको बताए । सिमेन्ट उद्योगहरूले विद्युत् पर्याप्त पाएका कारण ग्यास प्रयोग घटाउँदै लगेको उनको भनाइ छ । 

चालू आवमा विकासको गति लगभग ठप्प जस्तै रहेको सरकारी तथ्यांकले देखाउँछ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार अहिलेसम्म सरकारले पूँजीगत बजेटको ११ दशमलव १६ प्रतिशत मात्रै खर्च गरेको छ । आयल निगमका अनुसार कुल डिजेल खपतमा २५ देखि ३० प्रतिशत अंश औद्योगिक प्रयोजनको हुन्छ । जलविद्युत् आयोजना निर्माणमा बढी डिजेल खपत हुने गरेकोमा अचेल तिनको काम ठप्प जस्तै रहेको निगम प्रवक्ता उपाध्यायको भनाइ छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)