ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

माघे संक्रान्ति नजिकिएसँगै बढ्यो तरुलको भाउ, प्रतिकिलो ५०० रुपैयाँसम्मका तरुल बजारमा

२०७९ पुस, २४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रतिक्षा कडेल

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा सोमवार तरुल बेच्न व्यस्त थिए, राजा साह । कालीमाटीमा १० वर्षयता तरुलको व्यापार गरिरहेका उनलाई दुई जना कामदारले पनि सघाइरहेका थिए । 
माघे संक्रान्ति नजिकिएसँगै ग्राहक बढ्न थालेपछि उनले तरुल बेच्न दुई जना कामदार राखेका हुन् । 

उनी मात्रै होइनन्, माघे संक्रान्ति नजिकिएसँगै तरुल व्यापारीलाई अहिले कामको चटारो बढेको छ । पछिल्लो समय तरुलको माग पनि बढेको छ । काठमाडौंको मुख्य तरकारी बजार कालीमाटी, बल्खुमा तरुल किन्ने ग्राहक बढेको व्यापारीहरू बताउँछन् । 

तरुल व्यापारी साह माघे संक्रान्ति नजिकिएसँगै तरुलको व्यापार ह्वात्तै बढेको बताउँछन् । ‘केही दिनयता दैनिक ५–१० क्विन्टल तरुल विक्री हुने गरेको छ । साताअघि भने दैनिक १–२ क्विन्टल तरुल विक्री हुने गरेको थियो,’ उनी भन्छन् । उनले पुसको चौथो सातादेखि माघ पहिलो सातासम्म तरुलको सर्वाधिक माग हुने गरेको बताए । 

माग बढेसँगै कालीमाटीमा भित्रिने तरुलको परिणाम पनि बढेको छ । ‘साताअघि दैनिक ३०–३२ टन तरुल आउँथ्यो । अहिले १०० टनको हाराहारीमा आउने गरेको छ,’ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले भने । 

मागसँगै तरुलको मूल्य पनि बढेको छ । साताअघिसम्म प्रतिकिलो ५० रूपैयाँ होलसेल मूल्य रहेको तरुल अहिले २० रुपैयाँ महँगो भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजारका अनुसार अहिले तरुलको होलसेल मूल्य प्रतिकिलो ६०–७० रुपैयाँ पर्ने गरेको छ । तरुलको खुद्रा मूल्य पनि सोही दरमा महँगिएको छ । अहिले तरुलको खुद्रा मूल्य प्रतिकिलो १२०–१३० रूपैयाँ पर्ने गरेको छ । 

यद्यपि जात अनुसार तरुलको मूल्य फरक रहेको व्यापारीहरू बताउँछन् । नेपाली बजारमा ‘घर तरुल’, ‘वन तरुल’, ‘हात्तीपाइले तरुल’, ‘पातले तरुल’, ‘आकाशे तरुल’, ‘मुढे तरुल’आदि पाइन्छन् । यीमध्ये सबैभन्दा महँगो ‘वन तरुल’ छ । त्यसको मूल्य प्रतिकिलो ४००–५०० रूपैयाँ पर्ने गरेको व्यापारीहरू बताउँछन् । सबैभन्दा बढी विक्री हुने तरुल भने ‘आकाशे’ तरुल रहेको व्यापारीको भनाइ छ । 

कहाँबाट भित्रिन्छ ?

कालीमाटी बजारमा ल्याइने तरुलमध्ये ९५ प्रतिशतभन्दा बढी हिस्सा नेपालमै उत्पादन भएको तरुल रहेको प्रवक्ता श्रेष्ठ बताउँछन् । उनका अनुसार सर्लाही, सुनसरी, धादिङ, मकवानपुर, चितवनमा उत्पादन भएको तरुल कालीमाटी बजारमा ल्याइने गरिएको छ । 

तीमध्ये सर्लाहीमा सबैभन्दा बढी तरुल उत्पादन हुने गरेको छ । श्रेष्ठका अनुसार कालीमाटी बजारमा ७० प्रतिशत तरुल सर्लाहीबाट आउने गरेको छ । 

कालीमाटीमा होलसेलमा तरुल व्यापार गर्ने १५ जना छन् । ती सबैले सर्लाहीबाट तरुल किन्ने गरेको तरुलका होलसेल व्यापारी महेश चौधरीले बताए । ‘हामीले सर्लाहीमा तरुल खेती गरिएको १०–१५ हजार कट्टा जमिन किन्छौं । त्यसपछि आफैले ज्याला लगाएर खनेर कालीमाटी ल्याउने गरेका छौं,’ उनले भने । 

सर्लाहीमा सामान्य किसानले पनि ६–७ बिगा (१२०–१४० कट्टा) सम्म तरुल खेती गर्छन् । व्यावसायिक हिसाबले लगाउनेले अधिकतम २५ बिघा (५०० कट्टा)सम्म लगाउने गरेको व्यापारीहरू बताउँछन् । आफूहरूले किसानबाट प्रतिकिलो ३० रूपैयाँमा तरुल ल्याउने गरेको उनले बताए । 

सर्लाहीपछि दोस्रो धेरै तरुल उत्पादन हुने जिल्ला हो– सुनसरी । त्यहाँ हात्तीपाइले तरुल उत्पादन हुने गरेको उनले बताए । 

कालीमाटीमा भित्रियो ४७५ मेट्रिक टन 

कालीमाटी बजारमा अहिलेसम्म ४७५ मेट्रिक टन तरुल भित्रिसकेको प्रवक्ता श्रेष्ठले बताए । ‘गत पुसमा १ हजार ३२६ मेट्रिक टन तरुल भित्रिएको थियो । यो पुसमा पनि त्यसकै हाराहारीमा भित्रिने अनुमान गरेका छौं । एक हप्ता अझै बाँकी छ । तरुल धेरै भित्रिने भनेको भोलि र पर्सिदेखि हो,’ उनले अभियानसँग भने । 

तरुलको खेतीसँगै होलसेल व्यापार गर्दै आएका अशोक चौधरीले यस वर्ष ५० गाडी तरुल कालीमाटीमा ल्याइसकेको बताए । उनले सर्लाहीमा २०–२२ बिघा जमिनमा तरुल खेती गरेका छन् । 

तरुलको माग स्वदेशी उत्पादनबाटै पुग्ने गरेको प्रवक्ता श्रेष्ठको भनाइ छ । ‘पहिले भारतकै भर थियो । केही वर्षयता हाम्रै उत्पादनले धानेको छ,’ उनले भने । अहिले भारतबाट १–२ टन मात्रै आउने गरेको उनले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)