ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘डेरी प्रडक्ट’ आयातमा बाहिरिन्छ वर्षेनि २ अर्ब

२०७९ पुस, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रतिक्षा कडेल

काठमाडौं । नेपालबाट डेरी प्रडक्ट (दुग्धजन्य वस्तु) को आयातमा वार्षिक २ अर्ब रुपैयाँभन्दा बढी विदेश जाने गरेको तथ्यांकले देखाएको छ । भन्सार विभागको पछिल्लो ५ वर्षको तथ्यांक हेर्दा यसबीचमा वार्षिक न्यूनतम १ अर्ब ८० करोडदेखि २ अर्ब ६० करोड रुपैयाँसम्म डेरी प्रडक्टको आयातमा विदेश गइरहेको देखिन्छ । सरकारले हरेक वर्ष देशलाई दुग्ध पदार्थमा आत्मनिर्भर बनाउने घोषणा गर्दै आए पनि यसको आयात घट्नुको सट्टा बढ्दै गएको देखिन्छ । चालू आर्थिक वर्ष (आव) को ५ महीनामै १ अर्ब रुपैयाँभन्दा बढीको डेरी प्रडक्ट नेपालमा आयात भइसकेको छ । यो ५ महीनामा २४ लाख ८८ हजार किलो डेरी प्रडक्टको आयातमा १ अर्ब ६ करोड ८० लाख रुपैयाँ विदेशिएको छ । यो भनेको गतवर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढी हो । गत आवको साउनदेखि मङ्सिरसम्ममा १९ लाख २६ हजार किलो डेरी प्रडक्ट आयात गर्न ९० करोड २१ लाख रुपैयाँ बाहिरिएको थियो ।

के आयात हुन्छ ? कहाँबाट आउँछ ?
नेपालले स्किम्ड दूध, प्रशोधित दूध, बटर, क्रिम, चिज र अन्य दूधबाट बनेका सामग्री आयात गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ । त्यसमध्ये सबैभन्दा धेरै २८ करोड ८८ लाख रुपैयाँको बच्चाले खाने दूध, २१ करोड ११ लाख रुपैयाँको दूधबाट बनेको बच्चाको खाना, १७ करोड ५९ लाख रुपैयाँ बराबरको पाउडर दूध र १२ करोड ४१ लाख रुपैयाँ बराबरको चिज आयात भएको देखिन्छ । नेपालले भारत, जर्मनी, कोरिया, डेनमार्क, बेलायत, अमेरिका, बेल्जियम, चीन, जापान, कतारलगायत देशबाट डेरी प्रडक्ट आयात गरेको देखिन्छ । नेपालले पछिल्लो साढे ५ वर्षमा ११ अर्ब ८४ करोड रुपैयाँभन्दा बढीको डेरी प्रडक्ट आयात गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

आत्मनिर्भर बनाउने योजना नारामै सीमित
डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल आन्तरिक उत्पादनले माग धान्न नसकेर डेरी प्रडक्टको आयात बढिरहेको बताउँछन् । ‘हाम्रो बजारमा अझै ३ हजार मेट्रिक टन दूध अपुग छ । हाम्रो आन्तरिक उत्पादन जम्मा २४ हजार मेट्रिक टन छ,’ उनले आर्थिक अभियानसँग भने, ‘हामीलाई चाहिने दूधको परिमाण भनेको २७ देखि २८ हजार मेट्रिक टन हो ।’ बजार माग धान्न पनि वर्षेनि अर्बौंको दुग्धजन्य वस्तु आयात गर्नुपरेको उनले बताए । अहिले दूध उत्पादन हुने सिजन भएकाले केही दूध स्टक गर्न सक्नुपर्नेमा आन्तरिक उत्पादनले पुग नपुग माग धान्न मात्रै सकिरहेको दाहाल बताउँछन् ।

‘अहिले २ देखि ३ लाख लिटरसम्म अतिरिक्त दूध उपलब्ध भए त्यसलाई कन्भर्जन गर्दा ३/४ महीनाको माग धान्न पुग्थ्यो,’ दाहालले भने, ‘तर, अहिले दूध स्टक गर्ने पिक सिजनमै दैनिक ५० लिटर पनि बच्दैन ।’

आन्तरिक उत्पादन हुने दूध ठूलो मात्रामा छुर्पी बनाएर विदेश निर्यात गर्दा पनि आन्तरिक माग धान्ने गरी दूध उपलब्ध नभएको उनको भनाइ छ । भन्सार विभागका अनुसार नेपालबाट वार्षिक ३ अर्ब रुपैयाँ बराबरको छुर्पीलगायत कुकुर र बिरालाका लागि दूधबाट बनाइएका खाना निर्यात हुने गरेको छ । त्यसका लागि ३ करोड लिटरभन्दा बढी दूध खपत हुने गरेको दाहालले बताए । नेपालबाट गत आवमा १७ लाख ४४ हजार ५०० किलो छुर्पीलगायत कुकुर र बिरालाको खानेकुरा निर्यात भएको थियो । त्यसबाट २ अर्ब ९२ करोड रुपैयाँ स्वदेश भित्रिएको थियो । ती वस्तुको औसत मूल्य प्रतिकिलो १ हजार ६७० रुपैयाँ थियो । चालू आवको ५ महीनामा पनि नेपालबाट १ अर्ब १० करोड रुपैयाँ बराबरको ५ लाख ९४ हजार किलो छुर्पीलगायत कुकुर, बिरालाका खानेकुरा निर्यात भएको देखिन्छ । त्यसको औसत मूल्य प्रतिकिलो करीब १ हजार ९०० रुपैयाँ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)