ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुनको मूल्य वृद्धिको प्रभाव : किन्नेभन्दा बेच्ने धेरै, कारोबार पनि घट्यो !

२०७९ पुस, २५  
समाचार उपभोक्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रतिक्षा कडेल

काठमाडौं । काठमाडौं, न्यूरोडस्थित एक सुन पसलमा सोमवार दिउँसो पुगेकी थिइन्, काभ्रेपलाञ्चोक, बनेपाकी सीता पाठक । उनी गरगहना किन्न वा बनाउन भने सुन पसल आएकी थिइनन् । उनी त्यहाँ आउनुको कारण थियो– गरगहना बेच्न । 

आर्थिक अभियानसँगको कुराकानीमा उनले पुरानो गरगहना बेच्न आएको बताइन् । ‘सुनको मूल्य बढ्यो । घरमा प्रयोग नहुने पुरानो सुन थियो डेढ तोलाजति, त्यही बेच्न आएकी हुँ,’ उनले सुनाइन् । उनले आफूसँग भएको ढुङ्ग्री, जुली बेच्न सुन पसल पुगेकी हुन् । सुनको मूल्य बढेपछि घरखर्च चलाउन बेच्न आएको उनले सुनाइन् । 

पछिल्लो समय सुनको मूल्य उकालो ग्राफमा छ । मंसिर २३ गतेयता (पुस १ गतेबाहेक) सुनको मूल्य लाखभन्दा बढीमा कारोबार भएको सुनको मूल्य पछिल्लो महिनामा मात्रै तोलामा ४ हजार रुपैयाँ बढिसकेको छ । गत पुस १ गते सुनको मूल्य तोलाको ९९ हजार ९०० रुपैयाँ तोकिएको थियो । सोमवार (आज) सुनको मूल्य तोलाको १ लाख ३ हजार ९०० रुपैयाँ कायम छ । 

सुनको मूल्य बढेपछि पछिल्लो समय सुन बेच्ने ग्राहकहरू बढेका छन् । रिद्धिसिद्धि ज्वैलर्सका राजन अधिकारी पछिल्लो समय सुन बेच्ने ग्राहकहरू बढेको बताउँछन् । ‘पहिले दैनिक १–२ जना सुन बेच्न आउँथे । अहिले दैनिक २५–३० जना आउने गरेका छन्,’ उनले भने । 

सुन महँगिएसँगै कारोबार पनि घटेको व्यवसायीहरूको गुनासो छ । ‘अघिल्ला वर्षमा पुसमा सुन किन्ने ग्राहक कमै हुन्थे । यो वर्ष त नगन्य नै छन्,’ उनले भने । 

पञ्चकन्या ज्वैलरीका शिव प्रधान पनि सुनको मूल्य बढेसँगै सुनको विक्री घट्दा कारोबारमा कमी आएको बताउँछन् । ‘पहिले दैनिक १५–२० तोला सुन विक्री हुन्थ्यो । अहिले दैनिक २–३ तोला मात्रै विक्री हुन्छ,’ उनी भन्छन् । 

शुभकामना ज्वैलरीका दिप्सन केसी सुनको मूल्य बढेसँगै मंसिर अन्तिम सातायता कारोबार घटेको बताउँछन् । ‘मंसिर तेस्रो सातासम्म कारोबार राम्रै थियो । त्यतिबेलासम्म सुन किन्न आउने ग्राहक ९० प्रतिशतजति थिए । तर, मूल्य उकालो लागेसँगै कारोबारमा कमी आएको छ । किन्नेभन्दा बेच्ने ग्राहक धेरै छन्,’ उनी भन्छन् । 

पछिल्लो समय सुन पसलमा आउने ग्राहकमध्ये ७० प्रतिशत विक्री गर्न आउने र ३० प्रतिशत मात्रै किन्ने आउने गरेको उनले बताए । मूल्य बढ्दा कारोबारमा असर परेको उनको भनाइ छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्य सुनको मूल्य बढेपछि नेपाली बजारमा पनि यसको प्रभाव देखिएको बताउँछन् । ‘अन्तरराष्ट्रिय बजारमै सुनको मूल्य प्रतिऔंस ३५ डलर बढेको छ, त्यसले नेपाली बजारमा पनि प्रभाव परेको छ,’ उनले भने । 

नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार सोमवार (आज) १ अमेरिकी डलरको विक्रीदर १३२ रूपैयाँ ०६ पैसा कायम भएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)