काठमाडौं । माघे संक्रान्ति आउन केही दिन बाँकी रहँदा ललितपुरका सूर्यदास जोशीलाई चाकु बनाउने चटारो छ । पुसको जाडोमा एकाबिहानै चिसोलाई वास्ता नगरी उनी कामदारहरूसँगै ललितपुर, टंगालस्थित जोशी चाकु कारखानामा चाकु बनाउन खटिइरहेका छन् ।
उनले करिब ६० वर्षअघिदेखि चाकु उत्पादन गर्न थालेका हुन् । उनको कारखानाबाट दैनिक १०० धार्नी चाकु उत्पादन हुने गरेको छ । उक्त कारखानामा ३० जना कामदार छन्, जसमा ८ चाकु बनाउने खटिन्छन् भने बाँकीले प्याकिङ र वितरण गर्छन् ।
उनको कारखानामा बनेको चाकु ललितपुर, काठमाडौं, भक्तपुरसँगै काभ्रेपलाञ्चोकको बनेपासम्म विक्री हुन्छ । उनले प्रति २०० ग्रामको चाकु ५० रुपैयाँमा विक्री गर्छन् । पर्वको समयमा चाकु बेचेर गरिने मासिक ६ लाखभन्दा बढी फाइदा हुने गरेको उनी बताउँछन् ।
चाकुका लागि दैनिक १५० धार्नीभन्दा बढी सख्खर विराटनगरबाट ल्याउने गरेको उनले बताए ।
नजिकिँदै गरेको माघे संक्रान्तिमा विशेषतः चाकु, घिउ र लड्डु खाने चलन छ । काठमाडौंको टोखा र ललितपुरको पाटन चाकु बनाइने नामले पनि प्रसिद्ध छन् ।
नेवार समुदायमा काजकिरियाको बेलामा पनि चाकु खाने गरिन्छ । त्यस्तै चिसो लागेका मानिसलाई चाकु खुवाएमा सन्चो हुने मान्यता छ । सुत्केरी महिला र शरीर कमजोर भएका बेला चाकु खाएमा शरीरमा तागत दिने बूढापाका बताउँछन् ।
माघे संक्रान्ति नजिकिएसँगै कामको चटारोमा छन् तिलको लड्डु (तिलौरा) बनाउने व्यवसायी पनि । तिलौरा बेच्ने गरेका कालीमाटीस्थित एसएस फुड प्रोडक्टका सुरज महर्जनलाई अहिले कामको भ्याइनभ्याइ छ । उनले दैनिक १०० किलो तिलौरा उत्पादन गर्छन् । तिलौराका लागि टोखाबाट चाकु ल्याउने गरेको उनी बताउँछन् ।
उनले १५० ग्रामको तिलौरा ११० रुपैयाँमा विक्री गर्छन् । उनले उत्पादन गरेको तिलौरा उपत्यकाका विभिन्न मार्टहरूमा पाइने गरेको छ । तिलौरा विशेषगरी माघे संक्रान्तिमा खाने गरिन्छ ।