ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारतबाट ५० हजार टन गहुँ आयात अलमलमा

२०७९ पुस, २७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । चार महीनाअघि नै ५० हजार मेट्रिक टन गहुँ भारतबाट आइसक्नुपर्नेमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूको ढिलासुस्ती र कृषि मन्त्रालयको गलत तथ्यांकका कारण अहिलेसम्म आयात हुन सकेको छैन । यसबाट देशभर सञ्चालनमा रहेका ४० मैदा मिलको उत्पादन बन्द भएको छ । मैदा र आँटासँग जोडिएका अन्य उद्योगको उत्पादनसमेत घटेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायण रेग्मीले नयाँ मन्त्री नआएसम्म फाइल अघि नबढ्ने बताए । १२ दिनअघि भारत सरकारबाट नेपालका लागि ५० हजार टन गहुँ निर्यातको स्वीकृति आए पनि मन्त्रालयबाट कुन उद्योगलाई कति टन दिने भन्ने चिठी भारतको सम्बद्ध मन्त्रालयमा नपुगेका कारण स्वीकृत कोटाको गहुँसमेत आयात हुन नसकेको हो ।

भर्खरै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएर आएका सचिव मधुकुमार मरासिनीले आफू भर्खरै हाजीर भएकाले कुन शाखामा के भइरहेको छ भन्ने अध्ययन गरिरहेको र अहिले नै सबै कुरा भन्न नसक्ने बताए ।

नेपाल फ्लोर मिल एशोसिएशनका अध्यक्ष कुमुद दुगडले सरकारले ४ महीनाअघि नै कोटा पठाएको भए अहिले दोस्रो खेप गहुँ भारतबाट आइसक्ने बेला भएको उल्लेख गरे । ‘स्वीकृत भएको ५० हजार टन ल्याउन एउटा पत्र पठाउन नसक्नु दुर्भाग्य हो,’ उनले भने । दुगडले गहुँ अभाव भएपछि मुलुकभरका ४० ओटा ठूला मैदा मिलको उत्पादन शून्य भएको दाबी गरे । केही दिन स्टकले धाने पनि छोटो समयमै चाउचाउ र बिस्कुट उद्योगसमेत बन्द हुने उनको भनाइ छ ।

‘तयारी अवस्थामा रहेको एउटा पत्र पठाउन पनि मन्त्री नै चाहिने अचम्मको कर्मचारीतन्त्र हाम्रो मुलुकमा छ,’ उनले थपे, ‘जनताले खानका लागि पिठो किन्न नसक्ने अवस्था सृजना हुँदा कर्मचारी मन्त्री कुरिरहेका छन् ।’

५० हजार टन गहुँ ७ प्रतिशतको दरले सबै मिललाई वितरण गर्न मन्त्रालयलाई एशोसिएशनले पत्र बुझाइसकेको जानकारी दिँदै दुगडले यो परिमाणले १ सातामात्र पुग्ने बताए । स्वदेशी उत्पादनको गहुँ वैशाखमा बजारमा आउँदासम्मका लागि नेपालका सबै मिललाई ३ लाख टन भए पुग्ने उनले बताए ।

एशोसिएशनका केन्द्रीय सचिव विकास वेगवानीले सरकारको ढिलासुस्तीका कारण भारतले गहुँ लैजा भनेर दिँदा पनि समयमा ल्याउन नसक्दा मिल बन्द गरेर बस्नुपरेको बताए । आफ्नो विशाल मैदा मिलको उत्पादन २ दिनदेखि ठप्प रहेको उनले जानकारी दिए ।

पहिलो खेपमा भारतबाट ५० हजार टन गहुँ आउँदा नेपालमा आँटा र मैदाको मूल्य सस्तिने व्यवसायीको भनाइ छ । नेपालमा अहिले गहुँको मूल्य किलोको ५२ रुपैयाँ छ । मैदा ७०, आँटा ७६, सुजी ८० र चोकर ४६ रुपैयाँ किलो पर्छ । यो भ्याट नजोडेको मूल्य हो ।

भारतमा गहुँको भाउ २८ रुपैयाँ ५० पैसा भारू (भारतीय रुपैया) प्रतिकिलो छ । मैदा ३२, आँटा ३४, चोकर २८ भारू प्रतिकिलोमा पाइन्छ । नेपालमा भन्दा भारतमा गहुँ किलोमा ५ रुपैयाँ ४० पैसा सस्तो छ ।

नेपालका ४० ओटा मिललाई ३ महीनालाई २ लाख ५० हजार टन गहुँले पुग्छ । त्यसपछि वैशाखदेखि स्वदेशी उत्पादन बजारमा आउने भएकाले अरू ३ महीनालाई सोही गहुँले धान्छ । त्यसपछिका लागि चाहिने गहुँ ल्याउन सरकारले बेलैमा भारत सरकारबाट कोटा स्वीकृत गराउनुपर्ने वेगवानीले बताए ।

गहुँ अभावमा नेपालका अधिकांश मैदा मिलको उत्पादन घटेपछि भारतबाट खुला सीमा हुँदै आँटा र गहुँको तस्करी बढेको व्यवसायीको दाबी छ । भारतभन्दा नेपालमा आँटा र मैदा महँगो पर्छ ।

स्वदेशी उद्योग जोगाउन भारतबाट तत्काल गहुँ आयात गर्नुपर्ने नेपाल उद्योग परिसंघका सदस्य तथा बाबा फ्लोर मिलका सञ्चालक भवेश राठी बताउँछन् । उनले भने, ‘सरकारले ४ महीनाअघि नै जीटूजीमार्फत नेपाललाई १ वर्ष पुग्ने गरी गहुँ आयात गर्नुपर्नेमा अहिले एउटा चिठी पठाउन नसकेर आयात रोकिएको सुन्नुपर्दा अचम्म लाग्छ,’ उनले भने ।

भारतले ८ महीनाअघि रूस–युक्रेन युद्धको कारण देखाउँदै गहुँ निकासीमा प्रतिबन्ध लगाएपछि भारतीय गहुँमा आश्रित नेपालका उद्योग प्रभावित भएका छन् । प्रतिबन्धअघि नेपालमा ५० रुपैयाँ किलो रहेको मैदाको भाउ अहिले ७० रुपैयाँ पुगेको छ । त्यस्तै ५५ रुपैयाँ किलो पर्ने आँटाको ७६ रुपैयाँ, ६० रुपैयाँ किलो पर्ने सुजीको ८० रुपैयाँ र ३८ रुपैयाँ किलोमा पाइने चोकरको ४६ रुपैयाँ मूल्य पुगेको छ । भारतबाट गहुँ आयात भए सबै उत्पादनमा १५ प्रतिशतले मूल्य घट्ने उद्योगी बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)