ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

५७ प्रतिशतले घट्यो सुन्तलाको आयात, दैनिक १ करोडभन्दा बढीको स्वदेशी सुन्तला खपत

२०७९ पुस, २७  
समाचार उपभोक्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रतिक्षा कडेल

काठमाडौं । यो वर्ष नेपाली सुन्तलाको उत्पादन बढ्दा ५७ प्रतिशतले आयात विस्थापित भएको छ । विगतमा नेपाली सुन्तालाको उत्पादकत्व राम्रो नहुँदा सुन्तलाको सीजनमै पनि भारत लगायतका मुलुकबाट ठूलो परिमाणमा सुन्तला आयात हुने गरेको थियो ।
तर, यो वर्ष भने नेपाली सुन्तला नै फालाफाल भएपछि आयातित सुन्तलाको परिमाण आधाभन्दा धेरैले घटेको हो ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो ५ महीनामा नेपालमा ३३ करोड ३३ लाख रुपैयाँ बराबरको ५५ लाख ९९ हजार ३१६ किलोग्राम सुन्तला आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधीमा भने ५६ करोड ५६ लाख रुपैयाँ बराबरको १ करोड २८ लाख ४ हजार ८४८ किलोग्राम सुन्तला आयात भएको थियो । यो वर्ष नेपालमा गत वर्षको तुलनामा सुन्तला आयातको परिमाण करीब ५७ प्रतिशतले घटेको छ । सुन्तला आयात गर्न बाहिरिने रकममा पनि करीब ४१ प्रतिशतले कमि आएको छ ।

दैनिक १ करोड रुपैयाँको सुन्तला खपत
नेपाली सुन्तलाको उत्पादन बढ्दा यसको खपतमा पनि उल्लेख्य सुधार आएको छ । पछिल्लो समय काठमाडौमा मात्रै दैनिक १ करोड रुपैयाँको सुन्ताला खपत भइरहेको पाइएको छ ।

कुलेश्वरस्थित फलफूल बजारबाट अहिले दैनिक १०० मेट्रिक टन सुन्तला विक्री भइरहेको छ । जसको मूल्य १ करोड रुपैयाँ भन्दा बढी रहेको कुलेश्वर फलफूल बजारका अध्यक्ष अमर बानियाँले आर्थिक अभियानलाई बताए ।

‘सुन्तलाको सीजन शुरू भएको दुई महीना भन्दा बढी भयो । अहिले कुलेश्वर बजारमा मात्रै दैनिक एक करोड रुपैयाँ बराबरको सुन्तला भित्रिन्छ छ ।’ बानियाँले भने, ‘नेपालमा पछिल्लो समय सुन्तलाको उत्पादन बढेकाले मूल्य सस्तिएको र खपत बढेको छ ।’
‘केही वर्ष अघिसम्म सीजनमै पनि भारतका सुन्तला मात्रै देखिन्थे । तर, अहिले सीजनमा भारतीय सुन्तला देखिएकै छैन भन्दा पनि हुन्छ ।’ उनले भने, ‘स्वदेशी सुन्तला मिठो हुनुका साथै मूल्य पनि सस्तो हुन्छ । त्यसैले पनि ग्राहकले नेपाली सुन्तला नै धेरै किन्छन् ।’ 
सुन्तला उत्पादनको पकेट क्षेत्र नै फेरियो
बानियाँका अनुसार काठमाडौमा आउने सुन्तला पहिले पहिले धादिङ, गोरखा, स्याङ्जा आसपासको मात्रै हुन्थ्यो । तर अहिले भने काठमाडौमा पश्चिमि जिल्ला रुकुम, सल्यानदेखि बागलुङ पर्वतसम्मका सुन्तला आउनेक्रम बढेको छ । पहिले भने त्यहाँको सुन्तला काठमाडौं आउने कुरा कल्पनै गरिन्न थ्यो ।

पछिल्ला वर्षहरूमा गोरखा, स्याङ्जा लगायतका ठाउँको सुन्तला काठमाडौं आउने क्रम घटेको पनि उनले बताए । त्यसको सट्टा अहिले बागलुङ, पर्वत लगायतका जिल्ला र सीमानाको सुन्तलाहरू धरै आउन थालेको उनले बताए ।

अहिले नेपाली सुन्तलाले नै बजारको माग धानिरहेको पनि उनले बताए । ‘अहिले भारतबाट फाट्टफुट्ट आउने भनेको एउटा किनो जातको सुन्तला मात्रै हो । जुन ग्राहकले मन पराएका छैनन् ।’ बानियाँले भने ।

नेपाली सुन्तलाको तुलनामा भारतीय सुन्तलाको मूल्य बढि हुन्छ । मूल्य बढी भएपनि स्वाद भने नेपाली सुन्तलाकै मिठो हुने व्यवसायीहरू बताउँछन् । भारतबाट आयातित सुन्तलाको औसत मूल्य प्रतिकिलो ६० रुपैयाँ परेको छ । जबकी नेपाली सुन्तला ६० रुपैयाँमा त उपभोक्ताले नै पाइरहेका छन् ।

‘ए’ ग्रेड र ‘सी’ ग्रेड छुट्ट्याउन नजान्दा झगडा
सुन्तालाको साइज अनुसार मूल्य पनि फरक फरक हुन्छ । सुन्तला पनि ए बी र सी ग्रेडका हुन्छन् । तर ग्रेड सम्बन्धी ज्ञान नहुने ग्राहकले भने ५० रुपैयाँको सुन्तलालाई १५० रुपैयाँ भनेर झगडा गर्ने गरेको कालिमाटीका खुद्रा व्यापारी कमल बस्नेतले बताए । 
स्थानीय बजारमा अहिले ‘ए’ ग्रेडको सुन्तलाको  मूल्य होलसेलमै १२० देखि १३० रुपैयाँसम्म पर्ने र खुद्रामा पुग्दा १५० देखि १६० रपैयाँसम्म पर्ने गरेको बस्नेतको भनाइ छ ।

त्यसैगरि, बी ग्रेडको सुन्तलाको मूल्य होलसेलमा ७५ रुपैयाँ र खुद्रा मूल्य ९० रुपैयाँ प्रतिकिलो र सी ग्रेडको सुन्तला होलसेलमा ६० रुपैयाँ र खुद्रा मूल्य ७५ रुपैयाँ प्रतिकिलो रहेको बस्नेतले बताए । बजारमा अहिले पर्वत, बागलुङ, सल्यान, धनकुटा लगायत छिमेकी जिल्लहरू धादीङ्ग, मकवानपुरका सुन्तला पनि आइरहेको उनले बताए ।

प्रतिहेक्टर दुई मेट्रिक टनले बढ्यो सुन्तला उत्पादन  
विगतका वर्षहरूको तुलनामा यो वर्ष सुन्तलाको उत्पादन बढेको कृर्षि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सन्जेलले जानकारी दिए । 

आर्थिक वर्ष २०७७/७८ सम्म नेपालमा ३३ हजार ८१५ हेक्टर क्षेत्रफलमा सुन्तला जातको फलफूल खेती गरिएको छ । त्यसमध्ये २२ हजार ७०२ हेक्टर क्षेत्रफलबाट उत्पादन शुरू भएको छ । जस अनुसार ०७७/७८ मा २ लाख ४५ हजार २७१ मेट्रिक टन सुन्तला जातका फलफूल उत्पादन भएको तथ्याङ्क छ । जसको उत्पादकत्व प्रति हेक्टर १० दशमलव ८० मेट्रिक टन छ । 

५ वर्ष अघि भने यस्तो उत्पादकत्व प्रतिहेक्टर ९ मेट्रिक टन मात्रै रहेको मन्त्रालयको तथ्याङ्क छ । आर्थिक वर्ष २०७२/७३ को तथ्याङ्क अनुसार नेपालमा ३१ हजार ४१३ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तला जातको खेतीमध्ये १९ हजार ६९१ हेक्टर क्षेत्रफलबाट उत्पादन शुरू भएको थियो । जसमा १ लाख ८० हजार २४८ मेट्रिक टन सुन्तला जातका फलफूल उत्पादन भएका थिए । जस अनुसार प्रतिहेक्टर उत्पादकत्व ९ दशमलव १५ मेट्रिक टन मात्रै थियो । पछिल्लो ५ वर्षमा नेपालमा सुन्तला जातका फलफूलमा प्रतिहेक्टर करीब दुई मेट्रिक टन उत्पादकत्व बढेको छ ।

यो आर्थिक वर्षको सुन्तला उत्पादनको तथ्याङ्क सार्वजनिक भइनसके पनि अहिले पनि सुन्तला उत्पादन राम्रो देखिएको सन्जेलले बताए । अहिले परमपरागत बिउबाट भन्दा पनि कलमी गरिएका बिउका बोटबाट हुने उत्पादन राम्रो हुँदै जाँदा समग्र उत्पादकत्व नै बढेको उनको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)