ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भीमदत्तमा ४ करोड ८९ लाख राजस्व संकलन

२०७९ पुस, २८  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले चालू आर्थिक वर्षको पहिलो ५ महीनामा ४ करोड ८९ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । नगरपालिकाका राजस्व तथा आर्थिक प्रशासन शाखा प्रमुख विक्रम सिंह भण्डारीका अनुसार नगरपालिकाले बहाल कर सबैभन्दा बढी ९१ लाख ८४ हजार रुपैयाँ असुली गरेको छ ।

यसैगरी व्यवसाय कर ७१ लाख ४७ हजार र बहाल–बिरौटी कर ५५ लाख रुपैयाँ संकलन गरेको छ । पूर्वाधार सेवाको उपभोगमा लाग्ने कर ३५ लाख ७५ हजार, पार्किङ शुल्क २४ लाख ११ हजार, भूमि तथा मालपोत कर २५ लाख ६८ हजार र सम्पत्ति कर १२ लाख ६९ हजार र साधारण सेवाशुल्क १५ लाख ४२ हजार रुपैयाँ संकलन गरेको छ । यसैगरी नक्सा पास दस्तुर १३ लाख, दण्ड जरीवाना शुल्क १४ लाख २० हजार, प्रशासनिक सेवाशुल्क १३ लाख १९ हजार र अन्य कर ३० लाख ५७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । नगरपालिकाले चालू आर्थिक वर्षमा २३ करोड ५० लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । राजस्व असुलीको अहिलेको अवस्था हेर्दा लक्ष्य प्राप्तिमा चुनौती देखिएको छ ।

‘पाँच महीनामा करीब २५ प्रतिशत राजस्व संकलन भएको छ,’ भण्डारीले भने, ‘यस वर्ष राजस्व आउने ठूला स्रोतहरूमा अवरोध हुँदा वार्षिक लक्ष्य भेट्न चुनौती छ ।’ जग्गाको कित्ताकाट रोकिएकाले मालपोत राजस्वमा कमी आएको नगरपालिकाले बताएको छ । त्यस्तै महाकाली नदीसहित अन्य खोलानालामा निर्माण सामग्री उत्खननको ठेक्का नलाग्दा रोयल्टी उठ्न सकेको छैन ।

संघीय प्रणाली अन्तर्गत पहिलोपटक स्थानीय सरकारको नेतृत्व भएको भीमदत्त नगरपालिकाले पछिल्ला वर्षहरूमा आन्तरिक आयमा निरन्तर बढाउँदै आएको थियो । तर गत आर्थिक वर्षदेखि भने आन्तरिक आय खस्कने संकेत देखिएको छ । चालू आर्थिक वर्षमा राजस्वको लक्ष्य नभेट्ने देखिएको भीमदत्तमा गत आर्थिक वर्षमा २१ करोड ६३ लाख ४४ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

निवर्तमान नगर प्रमुख सुरेन्द्र विष्ट नेतृत्वको स्थानीय सरकारले आर्थिक वर्ष २०७२/७३ देखि राजस्व सुधार कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याएपछि नगरपालिकाको आन्तरिक आय बढ्दै आएको थियो । नगरपालिकाको १० वर्षीय राजस्व सुधार कार्ययोजना अनुसार आर्थिक वर्ष २०८३/८४ मा आन्तरिक आय २८ करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)