ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रेलेखोला जलविद्युत्को ५० प्रतिशत काम सम्पन्न

२०७९ पुस, २८  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीमा पछिल्लो समय जलविद्युत् आयोजनाको निर्माणले गति लिन थालेको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाको काम एक वर्षमै ५० प्रतिशतभन्दा बढी सम्पन्न गरेको छ ।

हिमकन्सल्ट प्रालिले यो आयोजना निर्माण गर्न लागेको हो । आयोजना नदी प्रवाही (रन अफ दी रिभर) प्रकृतिको रहेको छ ।

२०७३ सालदेखि नारच्याङको बेसीदेखि लेकगाउँ हुँदै आयोजना निर्माण स्थलतर्फ पहुँचमार्ग निर्माण शुरू गरिएको थियो । आयोजनाको मुख्य संरचना निर्माण भने गतवर्षको फागुनदेखि थालिएको हो ।

अहिलेसम्म ५० प्रतिशत भौतिक प्रगति भएको र आगामी असारसम्ममा पूर्वाधार निर्माण सक्ने लक्ष्य रहेको आयोजनाका इन्जिनीयर आयुष भट्टराईले जानकारी दिए । ‘आयोजनाको बाँध स्थल, पाइपलाइन र विद्युत् गृहतर्फको काम तीव्र रूपमा अघि बढेको छ,’ दैनिक १३० भन्दा बढी मजदूर मेशिन/उपकरणसहित आयोजनामा परिचालन भएका छन्,’ उनले भने, ‘चिसो मौसमको प्रतिकूलता भए तापनि निर्माण धमाधम अघि बढाएका छौं ।’

आयोजनाको बाँध कालोखोलामा रहेको छ । त्यहाँबाट ३ हजार ६०० मिटर लामो पाइपलाइनमार्फत पानी लगेर हरिस्वाँरामा रहने विद्युत्गृहमा ५०५ मिटर हेडबाट खसालेर विद्युत् उत्पादन गरिनेछ ।

यस आयोजनामा पानी लैजान सुरुङमार्ग नबनाई पाइपको मात्रै प्रयोग गरिने भएको छ । आयोजनामा सिभिलतर्फ साकुरा पावर कन्स्ट्रक्सन कम्पनी, हाइड्रोमेकानिकलतर्फ वर्कशप अफ इन्जिनियरिङ र इलेक्ट्रोमेकानिकलतर्फ फोलो भेल इनर्जी प्रालिले ठेक्का लिएका छन् ।

आयोजनाको बाँधको काम ५० प्रतिशतभन्दा बढी सकिएको र पाइपलाइन राख्न पाइप ढुवानी तथा पूर्वाधार निर्माण भइरहेको आयोजनाका आवासीय इन्जिनियर लोकबहादुर नायकले बताए । उनका अनुसार लेकगाउँदेखि विद्युत्गृहसम्मको पहुँचमार्गको निर्माण सकिएर मुख्य पूर्वाधार निर्माण थालिएको छ ।

अहिले बाँध स्थलमा इन्टेक, डिसेन्डर र हेडवक्र्सको काम जारी छ । यस आयोजना निर्माणमा प्रतिमेगावाट रू. २० करोड लागत अनुमान गरिएको छ । हिमालयन बैंकको अगुवाइमा राष्ट्रिय वाणिज्य बैंंकले समेत गरी आयोजनामा ७० प्रतिशत ऋण लगानी गर्ने सम्झौता भएको छ ।

आयोजनाबाट उत्पादन हुने विद्युत् ४ किलोमिटर लामो ३३ केभी क्षमताको प्रसारण लाइन निर्माण गरी कालीगण्डकी कोरिडोर प्रसारण लाइनको दाना सबस्टेशनमार्फत राष्ट्रिय प्रणालीमा जोडिनेछ । ‘हाइड्रो भिलेज’को नामले परिचित म्याग्दीको नारच्याङमा यसअघि ५ मेगावाटको घलेम्दी खोला र ४२ मेगावाटको मिस्ट्रीखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भइसकेका छन् ।

विद्युत् उत्पादनका लागि दर्जनभन्दा बढी आयोजना दर्ता भएको यस क्षेत्रमा नीलगिरि हाइड्रो पावरले निर्माण गर्न लागेको ११० मेगावाट क्षमताको नीलगिरि पहिलो र नीलगिरि क्यासकेड जलविद्युत् आयोजनाको निर्माणले समेत तीव्रता पाएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)