काठमाडौं । पाकिस्तानको आर्थिक संकटबीच ठूला निर्यातकर्ताहरुको अर्डर पूर्ति गर्न आवश्यक डलरको अभावमा त्यहाँका तयारी पोशाक उद्योगहरु अर्डर कन्साइन्मेन्ट रद्द गर्न वा समयमा कन्साइन्मेन्ट पूरा गर्न नसकेपछि विलम्ब शुल्क तिर्नु पर्ने अवस्थामा पुगेका छन् । आर्थिक संकट अन्त्य नभएको अनि निर्यात घट्न थालेसँगै त्यहाँको टेक्सटाइल र योसँग सम्बन्धित क्षेत्रबाट झन्डै ७० लाख जनाले जागिर गुमाएको दाबी उद्योगहरुबाट आइरहेका छन् ।
यसैबीच भारतको टेक्सटाइल उद्योग पनि संकटोन्मुख रहेको हल्ला चल्न थालेको छ ।
भारतको कूल जीडीपीमा टेक्सटाइल क्षेत्रको अनुपात २ प्रतिशत भन्दा धेरै छ । त्यहाँको म्यानुफ्याक्चरिङ क्षेत्रमा यो क्षेत्रले १२ प्रतिशत हिस्सा ओगटेको छ । भारतको २ खर्ब डलरको टेक्सटाइल र लत्ताकपडा उद्योगले अहिले संकटको सामना गरिरहेको छ ।
युक्रेनी युद्धपछि विश्वभर महँगी आकाशिएको छ । महँगीका कारण खर्च गर्ने क्षमता खुम्चिएपछि अमेरिका, यूरोप र अन्यत्रका ठूला ग्राहकहरुले भारतीय लत्ताकपडामा गर्ने खर्च कम गरेका छन् । यसको असर भारतीय टेक्सटाइल उद्योगमा देखिन थालेको छ ।
भारतीय अर्थतन्त्र समग्रमा बलियो छ । केही प्रमुख अर्थतन्त्रहरुलाई यस आर्थिक वृद्धिको मामिलामा पछाडि समेत पारेको छ । तर यहाँको टेक्सटाइल क्षेत्र भने अपवादमा देखिन्छ ।
हालैका महीनामा अर्डरमा आइरहेको कमीहरुले २०२३ मा पनि यो क्षेत्रमा मन्दी नै आउने संकेत गरेको छ । यो क्षेत्रले अप्रत्यक्ष रुपमा ६ करोड जतिलाई काम दिएको छ भने ४ करोड ५० लाख भन्दा धेरैलाई प्रत्यक्ष रोजगारी दिएको छ । तर पछिल्लो समय यस क्षेत्रबाट भारी संख्यामा रोजगारी कटौती हुने जोखिम बढेको छ । रोजगारीको मामिलामा टेक्सटाइल कृषिपछि भारतको दोस्रो ठूलो रोजगारदाता क्षेत्र हो ।
रोजगारी र निर्यात आम्दानीमा यस क्षेत्रको सम्भावना देखेर भारत सरकारले टेक्सटाइल क्षेत्रको प्रवर्द्धनका लागि कयौं उपायहरू अपनाएको छ । मानव निर्मित रेशा र लत्ताकपडामा लगानी प्रवर्द्धन गर्न उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम ल्याइएको छ । तर हालैका महीनाहरूमा यो क्षेत्रले चुनौतीको सामना गरिरहेको छ । उत्पादन सुस्ताएको छ भने निर्यात लगातार घटिरहेको छ ।
सन् २०२२ को मार्चदेखि नै टेक्सटाइल क्षेत्रको उत्पादन निरन्तर घटिरहेको छ । कोरोना भाइरसको महामारी पूर्वको स्तरमा उत्पादन फर्काउन नसकेका उद्योगमा टेक्सटाइल पनि शीर्ष स्थानमा पर्छ । गएको वर्ष जुलाई सेप्टेम्बर अवधिमा तीव्र संकुचन देख्नेमा धातु र धातुका सामान निर्माता, निर्माण सामाग्री निर्माताका साथै टेक्सटाइल क्षेत्र पनि थियो । यो क्षेत्रको ग्रस भ्यालु एडिशन (जीभीए) चालू आवको सेप्टेम्बरसम्मको तीन ओटा त्रैमासमा खुम्चिएको थियो ।
निर्यात बजारमा बंगलादेश, भियतनाम र दक्षिण अफ्रिकाका केही देशहरुबाट आउने तयारी पोशाकहरुलाई सहुलियतपूर्ण दरको सुविधा दिँदा यी देशका सामानसँग प्रतिस्पर्धा गर्न भारतीय तयारी पोशाक उद्योगलाई गाह्रो भएको छ । यूरोपेली संघले सन् २००१ मा हातहतियार र अस्त्र बाहेक सबै अभियान शुरु गरेर अल्प विकसित देशका सामानहरुलाई कर र कोटारहित पहुँच दिइरहेको छ । सन् २००० पछि बंगलादेशको तयारी पोशाक उद्योग फष्टाउनु र निर्यात बढ्नुको मुख्य कारण पनि यही अभियान हो । यसमाथि चीन र अन्य केही देशले निर्यात गरिरहेका सस्ता सामानका कारण निर्यात थप प्रभावित भइरहेको छ ।
भारतले २०२१ मा ४३ अर्ब डलर बराबरको लत्ताकपडा निर्यात गरेको थियो । आगामी ५ वर्षमा १ खर्ब डलर मूल्य बराबरको कपडा निर्यात गर्ने लक्ष्य सरकारको छ । तर पछिल्लो समय यो लक्ष्य पूरा हुनेमा आशंका देखिएको छ । आयातमा भइरहेको वृद्धि पनि टेक्सटाइल उद्योगको लागि अर्को टाउको दुखाईको विषय बनेको छ । गएको वर्ष नोभेम्बरसम्मको ८ महीनामा भारतको टेक्सटाइल निर्यात भारुमा भन्ने हो भने झन्डै १ खर्बले बढेको छ । युक्रेनी युद्धपछि आयात झनै चुलिएको छ ।
घरेलु सामान महँगो हुनु अनि आयातित तयारी कपडा सस्तोमा पाइने भएकोले भारतीय टेक्सटाइल कम्पनीको घरेलु बजारमा विक्री सुस्ताएको छ । वर्षको शुरुमा विक्री उत्साहजनक रहेको भएपनि पछिल्लो समय उत्पादन नै कटौती गर्नु पर्ने अवस्था सृजना भएको छ । सन् २०२२ को मध्यसम्ममा विश्वको खुद्रा बजारमा लत्ता कपडाको विक्री तीव्र दरमा बढेको थियो । त्यसयता आकाशिएको महँगी र खस्किएको उपभोक्ता मनोबलका कारण विक्री सुस्ताएको छ । यो वर्षको सम्भावना पनि खासै सन्तोष मान्ने खालको छैन ।
भारतको अर्थतन्त्रको अन्य क्षेत्रमा वृद्धि चम्किलो भएपनि अर्थतन्त्रमा १६ प्रतिशतको अनुपात ओगट्ने उत्पादन क्षेत्र कच्चा पदार्थको मूल्य वृद्धि र कमजोर मागको चपेटामा आएको छ । कृषि र सेवा क्षेत्रका कारण समग्र अर्थतन्त्र उच्च दरमा बढ्दा पनि म्यानुफ्याक्चरिङ क्षेत्रमा वृद्धिको कुनै संकेत देखिएन । उपभोक्ताहरुले खाना र इन्धनमा बढी खर्च गर्नु पर्दा खर्च कम गर्दा पनि चल्ने क्षेत्रमा खर्च घटाइरहेका छन् । कम्पनीहरुलाई बढ्दो उत्पादन लागत उपभोक्ताको काँधमा सार्न गाह्रो भइरहेकै अवस्थामा टेक्सटाइल मात्रै होइन जुत्ता, फर्निचर, इलेक्ट्रोनिक्स र इलेक्ट्रिकल सामान बनाउनेहरु पनि मारमा परेका छन् ।
घरेलु स्तरमा कपासको उच्च मूल्य र अन्य लागतका कारण भारतको टेक्सटाइल उद्योग र निर्माताहरुको नाफा मार्जिन घटेको छ । आगामी गर्मीयामको लागि सीमापार अर्डर एक तिहाईले घटेको छ । अनि घरेलु माग सुस्ताएको छ । ईयू, अमेरिका जस्ता प्रमुख निर्यात बजारको अर्डर घट्दा कम्तिमा पनि ६ महीना उद्योगको लागि कठिन रहने अनुमान गरिएको छ । २०२२ मा कपासको भाउ कीर्तिमानी उचाईबाट ४० प्रतिशतले घटेको भएपनि विश्व बजारको तुलनामा कपास महँगै भएको गुनासो उद्योगीहरुले गरिरहेका छन् ।
बंगलादेश लगायत देशबाट आउने सस्तो सामानसँग प्रतिस्पर्धा गर्न गाह्रो हुँदा घरेलु बजारमा पनि विक्री कम भएर मुनाफा मार्जिन घटेको छ । श्रम लागत बढेको छ, बैंकको कर्जामा ब्यजादर पनि बढेको छ । आयातित कपासमा ११ प्रतिशतको महसुलका कारण पनि स्थानीय टेक्सटाइल मिलहरुलाई गाह्रो भएको छ । गएको वर्ष बेञ्चमार्क निफ्टी एकल अंकले घट्दा ठूला टेक्सटाइल कम्पनीको शेयर दोहोरो अंकले घटेका थिए ।
पाकिस्तानको तयारी पोशाक उद्योगमा अभूतपूर्व स्तरमा जागिर गुमेको खबर आइरहेको अवस्थामा भारतमा पनि टेक्सटाइल उद्योगमा रोजगारी कटौतीको भय बढेको छ । कयौं टेक्सटाइल निर्माताले नयाँ कर्मचारी भर्ती रोक्का गरेका छन् । सरकारले चाँडै राहत नदिए आफूहरुले कर्मचारी कटौती गर्ने चेतावनी उनीहरुले केही समय अगाडि दिएका थिए ।
हरेक वर्ष श्रम बजारमा छिर्ने लाखौं भारतीय युवायुवतिहरुलाई प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले पर्याप्त जागिर सुनिश्चित गर्न सकस भइरहेकै समयमा टेक्सटाइल उद्योगको समस्या बाहिरिएको छ । २/३ वर्ष देखि नै भारतको टेक्सटाइल उद्योग संकटभिमुख बनेको चिन्ता आइरहेका थिए । तर यो वर्ष यो चिन्ता झनै चुलिएको छ । यस्तोमा टेक्सटाइल उद्योगको निर्यात प्रतिस्पर्धा क्षमता बढाउन सरकारले टेक्सटाइल कर संरचनामा हेरफेर गर्ने आशा बढेको छ । एजेन्सीहरुको सहयोगमा