पर्वत । पर्वतमा नवीकरण नगरी अवैध रूपमा क्रसर तथा बालुवा उद्योग सञ्चालनमा रहेको पाइएको छ । घरेलु तथा पर्यटन कार्यालयमा दर्ता गराएको भए पनि यहाँका अधिकांश क्रसर तथा बालुवा उद्योग नवीकरण नगरी सञ्चालनमा रहेको पाइएको हो ।
पर्वतमा हालसम्म चारओटा क्रसर उद्योग दर्ता भएका छन् । दर्ता भई सञ्चालनमा रहेका उद्योग पनि लामो सयमदेखि नवीकरण गरिएका छैनन् । जिल्लाको जलजला गाउँपालिका–८ नाग्लीवाङमा विप्लव हमालको नाममा सञ्चालित ओम श्री दक्षिणकाली क्रसर उद्योग २०६७ मा दर्ता भएको थियो । उक्त उद्योग दर्ता भएको १२ वर्ष बितिसक्दा पनि नवीकरण भएको छैन । त्यस्तै २०५७ सालमा यामबहादुर मल्लको नाममा दर्ता भएर कुश्मा नगरपालिका–१ पाङमा सञ्चालित कालीगण्डकी क्रसर उद्योग हालसम्म नवीकरण नभएको पाइएको छ ।
त्यस्तै मोदी खोला क्रसर उद्योग २०६५ सालमा दर्ता भएको पाइन्छ । मोदी गाउँपालिका वडा नं ६ मा रत्नबहादुर क्षेत्रीको नाममा दर्ता भएको सो उद्योग हालसम्म नवीकरण भएको छैन । जिल्लामा सञ्चालित कतिपय विकास निर्माणका आयोजनाले काम सकिएपछि पनि क्रसर उद्योग चलाएर गिट्टी, बालुवा विक्री गर्दै आएका छन् । पर्वतमा खासगरी कालीगण्डकी नदीका किनारमा रहेका अधिकांश उद्योग अवैध रूपमा सञ्चालन हुँदै आएका छन् भने कतिपयले रातको समयमा लुकिछिपी नदी दोहन गर्ने गरेका छन् ।
पर्वतमा अवैध रूपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालय पर्वतले मंगलवार निर्देशन दिएको छ । गृह मन्त्रालयले देशका ७७ ओटै जिल्लामा गैरकानूनी रूपमा सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गराउन निर्देशन जारी गरेको एक हप्तापछि पर्वत जिल्ला प्रशासनले पनि बन्द गराउन निर्देशन दिएको हो । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै दर्ता तथा अनुमति नभई सञ्चालित क्रसर उद्योग, नदी तथा खानीजन्य ढुंगा, गिट्टी, बालुवा उद्योग र व्यवसाय बन्द गर्न निर्देशन दिएको छ ।
जिल्ला समन्वय समिति पर्वतका संयोजक तथा अनुगमन समितिका संयोजक विष्णुराम विकले घरेलु तथा पर्यटन कार्यालय पर्वतमा दर्ता भई नवीकरण नगरी सञ्चालन रहेका क्रसर उद्योग चारओटा रहेको र अन्य अवैध क्रसर उद्योगहरूको संख्या उल्लेख्य रहेको बताए ।