काठमाडौं । निर्माण कार्य शुरू भएको ३ वर्षभन्दा बढी भइसक्दा नागढुंगा सुरुङमार्ग आयोजना अनुमानित कुल बजेटको आधा भन्दा थोरै बजेट खर्च हुन सकेको छ ।
आधाभन्दा थोरै बजेट खर्च भए पनि सडक विभागले आयोजनाको निर्माण कार्य भने करीब २७ प्रतिशत बाँकी रहेको दावी गरेको छ । निर्माण कार्य करीब २७ प्रतिशत बाँकी रहेपछि विभागले यसको सञ्चालन व्यवस्थापनको तयारी शुरू गरेको छ । उक्त सुरुङको ७३ दशमलव ३० प्रतिशत निर्माण सम्पन्न भएको छ । विभागले सुरुङमार्ग सञ्चालनको जिम्मा १ वर्षसम्म जापानी निर्माण कम्पनी हाज्मा/आन्दो कर्पाेरेशनलाई नै दिने भएको छ ।
करीब २२ अर्ब रुपैयाँ लगानीको यो सुरुङमार्गमा हालसम्म १० अर्ब खर्च भएको छ । नेपालमा पहिलोपटक सडक सुरुङमार्ग निर्माण भई सकिने क्रममा रहेको छ । सुरुङमार्ग सञ्चालनका लागि आवश्यक जनशक्ति तयार गर्न १ वर्षसम्म जापानी कम्पनीलाई व्यवस्थापनको जिम्मा दिन लागेको विभागले भनाइ छ । विभागका महानिर्देशक अर्जुनजंग थापाले सुरुङमार्ग निर्माणले तीव्रता लिएपछि विभागले सञ्चालनका विषयमा हाज्मा/आन्दोका प्रतिनिधिसँग छलफल गरेको बताए ।
‘सुरुङमार्ग तयार भएपछि उनीहरूले नै सञ्चालन गर्नेछन् र उक्त अवधिमा नेपालीलाई तालीम दिनेछन्,’ थापाले भने, ‘सञ्चालनमा आएपछि ३ सिफ्टमा जनशक्ति राख्नुपर्छ । त्यसका लागि १ वर्षभित्र ५४ जनाले तालीम लिनेछन् ।’ निर्माणाधीन उक्त सुरुङमार्गमा दुईओटा कन्ट्रोल रूम हुनेछन् । सुरुङमार्गको पूर्वतर्फको नागढुंगास्थित टुटेपाखा र पश्चिमतर्फको धादिङस्थित सिस्नेखोलामा कन्ट्रोल रूम हुनेछन् ।
एम्बुलेन्स, दमकल, सीसीटीभी हेर्नलाई डेडिकेटेड टीम आवश्यक हुन्छ । यससँगै चौकीदारसमेत एक सिफ्टमा दुवैतर्फ गरी १८ जनासम्म कर्मचारी सुरुङमार्गमा आवश्यक हुने र उनीहरूलाई जापानी टोलीले १ वर्षसम्म तालीम दिने थापाले बताए । उनका अनुसार जापानी टोलीले यस अवधिमा सीसीटीभीमार्फत निगरानी र सुरक्षासम्बन्धी विषयमा तालीम दिनेछ । सुरुङमार्ग सञ्चालनका लागि आवश्यक नेपाली समूह भने विभागले तयार गर्नेछ । त्यसमा ट्राफिक प्रहरी, उपकरण चलाउने अपरेटर, एम्बुलेन्स चालक गरेर ३ सिफ्टमा जनशक्ति राख्न जापानी कम्पनीले प्रस्ताव गरेको उनको भनाइ छ । उक्त अवधिमा सुरुङमार्ग सञ्चालन विज्ञहरू ६/७ जना बस्नेछन् । उनीहरू हाज्मा/आन्दो कम्पनीका हुनेछन् ।
आयोजनामा मुआब्जा भने अझै टुंगो लागेको छैन । ‘चालू आर्थिक वर्षमा अर्थ मन्त्रालयले मुआब्जाका लागि बजेट दिएन,’ थापाले भने, ‘बलम्बुतर्फको मुआब्जाका लागि २५ करोड र बाँकी सिस्नेखोलाको गरेर करीब ३० करोड रुपैयाँ चाहिन्छ ।’ विभागले रकमान्तर गरेर यसको व्यवस्थापन गरेको उनको भनाइ छ ।
उक्त मुआब्जाको रकम अझै अर्थ मन्त्रालयबाट नपाएको उनले जानकारी गराए । २०७६ कात्तिकमा सुरुङमार्ग शिलान्यास भएको थियो । आयोजनाको म्याद आउँदो वैशाखसम्म छ । तर, कोभिड–१९ र जग्गा अधिग्रहणजस्ता कारणले काममा ढिलाइ भएको भन्दै २०८० असारसम्म आयोजनाको म्याद थपिएको छ । फ्लाइओभर बनाउन, सुरक्षा उपकरण राख्न र सुरुङमार्गभित्र लाइटिङको व्यवस्था गर्दा २ महीनाभन्दा बढी समय लाग्ने उनको भनाइ छ । ‘आउँदो दशैंसम्ममा सुरुङमार्ग सञ्चालनमा आउनेछ,’ थापाले भने ।
सुरुङमार्ग बनाउँदा नेपाली जनशक्तिलाई तालीम हुने र सुरुङका लागि जनशक्ति तयार हुने भनिएको थियो । त्यसअनुसार नै नेपाल इन्जिनीयरिङ अध्ययन संस्थानका प्रध्यापकहरूलाई तालीममा सहभागी गराइएको छ । यसका साथै विभागका प्राविधिक, नेपाली सेनाका प्रावधिक र निजीक्षेत्रका निर्माण कम्पनीका इन्जिनीयरहरूलाई पनि तालीममा सहभागी गराइएको थापाले बताए । यसबाट सुरुङमार्गसम्बन्धी बुझ्ने र सघाउने करीब ६० जना जनशक्ति तयार भएका छन् ।
‘अहिले साइटमा जापानीको संख्या न्यून छ,’ थापाले भने, ‘नेपाली इन्जिनीयर र प्राविधिक नै बढी छन् । नागढुंगा सुरुङमार्ग जापानी प्राविधिकको निगरानीमा नेपाली जनशक्तिले नै बनाउँदै छ भन्दा फरक पर्दैन ।’ उक्त सुरुङमार्ग त्रिभुवन राजमार्गको काठमाडौं जिल्लास्थित बलम्बुबाट शुरू भई आकाशटोल, त्रिवेणीघाट, दहचोक, टुटीपाखा हुँदै सोही राजमार्गको धादिङ जिल्लास्थित सिस्नेखोलामा जोडिनेछ ।
नेपाल सरकार र जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)बीच यो सुरुङमार्ग बनाउन सन् २०१६ मा सम्झौता भएको थियो । जाइकाको सहुलियत ऋणमा निर्माण भइरहेको यो सुरुङमार्गको कुल लागत २२ अर्ब रुपैयाँ अनुमान गरिएको छ, जसमध्ये जाइकाले १६ अर्ब र नेपाल सरकारले ६ अर्ब रुपैयाँ बेहोर्ने छन् । ‘यो सुरुङमार्ग बनेपछि अन्य सुरुङमार्ग बनाउन हिम्मत जुटेको छ,’ थापाले भने । सिद्धबाबा सुरुङमार्ग निर्माणको प्रक्रियामा छ भने दाउन्नेलगायत विभिन्न स्थानमा सरकारले सम्भाव्यता अध्ययन गरिसकेको छ ।