ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

यती एयरलाइन्सको विमान दुर्घटनाको समाचार ब्रेक गर्दा...

२०७९ माघ, २  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
पोखराको सेती खोंचमा आइतवार भएको यती एयरलायन्सको विमान दुर्घटनामा परेकाहरूको सोमबार बिहानैदेखि उद्धार तथा बेपत्ताको खोजी गरिँदै । तस्बिर : राधिका कँडेल/रासस
author avatar उत्तम ओझा

काठमाडौं । २०७९ माघ १ गते । देशभर माघे संक्रान्तिको रौनक थियो । नदी/ त्रिवेणीमा बिहान मान्छेको भिड थियो । कोही स्नान गर्दै थिए त कोही घर फर्किँदै । कोही भने घरमै चाकु, तिलको लड्डुलगायत परिकार खाँदै थिए । माघे संक्रान्तिको दिन नदी/त्रिवेणीमा स्नान गर्ने र चाकु तथा तिलको लड्डु खाने हिन्दू परम्परा छ । 

म भने आफ्नो नित्यकर्म सकेर बिहान साढे ९ बजे कार्यालय www.abhiyandaily.com पुगेर समाचार सम्पादनको काममा लागिसकेको थिएँ । काम थालेको करिब साढे १ घण्टापछि (बिहान ११ बजे) पोखरा बस्ने साथी दिवस बोहराले मेरो ह्वाट्सएप नम्बरमा कल गर्नुभयो । फोन उठाएँ । ‘यती एयरलाइन्सको विमान दुर्घटना भयो...।’ उहाँको कुरा सुनेर म झसंग भएँ । माघे संक्रान्तिको दिन दुर्घटनाको खबरले दुःखी बनायो । ‘ओहो ! बिहान बिहानै कस्तो समाचार सुन्नुपर्‍यो । कसैको मृत्युको खबरचाहिँ सुन्न नपरोस्, भगवान !’ मैले मनमनै भगवानसँग प्रार्थना गरें । 

दुर्घटनाको खबर थाहा पाएपछि मेरो अर्काे जिम्मेवारी थियो– समाचार सम्प्रेषण गर्ने । त्यो दायित्वको बोध थियो मलाई । अनि म लागे दुर्घटनाको सूचना पुष्टि गर्न । यसका लागि मलाई दिवसजीले नै सहयोग गर्नुभयो । उहाँले दुर्घटना हुँदै गर्दाको भिडियो पनि पठाइदिनुभयो । 

उहाँले यात्राबारेको आफ्नो युट्युब च्यानलका लागि भिडियो खिच्नुभएको थियो । उक्त भिडियो खिचेको ५ सेकेण्डमै विमान दुर्घटनामा परेको थियो । उहाँले खिच्नुभएको १० सेकेण्डको भिडियोको ५ सेकण्डमै विमान दुर्घटनामा परेको देख्न सकिन्छ । 

यसपछि म लागे सरकारी निकायबाट दुर्घटनाको सूचना पुष्टि गर्न । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्ताैलाको मोबाइलमा सम्पर्क गर्ने प्रयास गरें । तर, फोन रिसिभ भएन । जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ताको मोबाइलमा पनि सम्पर्क गर्ने प्रयास गरें । उहाँसँग पनि सम्पर्क भएन । अन्ततः जिल्ला प्रहरी कार्यालय, कास्कीबाट दुर्घटना भएको पुष्टि भयो । तर, क्षतिबारे स्पष्ट जानकारी आएन । 

अनि समाचार ब्रेक गरियो–पोखरा विमानस्थल नजिकै सेती खोंचमा यति एयरलाइन्सको विमान दुर्घटना (ब्रेकिङ) । यो समाचार पहिलोपटक ब्रेक गर्ने www.abhiyandaily.com नै थियो । समाचारमा ब्रेकिङ लेख्नुअघि कार्यालयमा रहेका सहकर्मी अनन्त्य सुन्दरजीलाई अरु मिडियामा समाचार नआएको कन्फर्म गरिदिन आग्रह गरें । उहाँले देशका नाम चलेका सबै न्युज एजेन्सीको साइटमा उक्त समाचार नआएको बताउनु भएपछि हामीले समाचारमा ‘ब्रेकिङ’ लेखेका थियौं । अर्थात् हामीभन्दा अघि उक्त समाचार कसैले ब्रेक गरेको थिएन । 

समाचार ब्रेकपछि पनि हामीले दुर्घटनाबारेको निरन्तर अपडेटका लागि जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख/प्रवक्ता र यती एयरलाइन्सका प्रवक्तासँग सम्पर्कको प्रयास गर्याैं । पछि यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्ताैलाले भने फोन रिसिभ गर्नुभयो । र, उहाँसँग दुर्घटनाबारे कुराकानीसमेत भयो । 

०००

चालक दलका ४ जना सदस्यसहित ७२ जना सवार रहेको यती एयरलाइन्सको नाइन एन–एएनसी कलसाइन रहेकाे एटीआर ७२ विमान दुर्घटनामा परी ६७ जनाको मृत्यु भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ । सरकारले उक्त दुर्घटनाको शोक मनाउन सोमवार (आज) बिदा दिएको छ । ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली ! 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

दिबस

[Jan 18, 2023 06:21am]

छोटो समयमै, सुनेको कुरामा मात्र भर नपरी,सरोकारवाला पक्षसँग समाचार संकलन र पुस्टी गरेर समाचार प्रेसण गर्नुभएको रहेछ। सहि समाचार दिन गर्नु पर्ने मिहिनेत/कसरतको लागी धेरै धेरै धन्यवाद।



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)