ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मधेसको जीडीपीमा सेवा क्षेत्रको योगदान सबैभन्दा बढी 

२०७९ माघ, ३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज  । मधेस प्रदेशको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा सेवा क्षेत्रको योगदान सबैभन्दा बढी देखिएको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार मधेसको जीडीपीमा सेवा क्षेत्रको योगदान ५३ दशमलव ६ प्रतिशत रहेको छ । 

प्रदेशको जीडीपी ५ खर्ब ४४ अर्ब ८१ करोड रुपैयाँ पुगेको विभागको आँकडा छ । देशको जीडीपी (४१ खर्ब ५ अर्ब ५४ करोड) मा मधेस प्रदेशको योगदान १३ दशमलव ३ प्रतिशत रहेको छ । 

मुख्य औद्योगिक कोरिडोर वीरगञ्जसमेत रहेको यो प्रदेशको जीडीपीमा उद्योग क्षेत्रको योगदान भने सबैभन्दा कम देखिन्छ । प्रदेशको जीडीपीमा उद्योग क्षेत्रको योगदान ११ दशमलव ९ प्रतिशतमात्र छ । 

नेपाल राष्ट्र बैंकले गरेको पछिल्लो अध्ययनले मधेसलाई भौगोलिक हिसावले समतल भू–भागमा रहनुका कारण आर्थिक क्रियाकलापका दृष्टिले समृद्ध हुन सक्ने प्रदेशको रुपमा औंल्याएको छ । 

कृषियोग्य भूमिको प्रचुरता, यातायात तथा औद्योगिक पूर्वाधार निर्माण गर्न तुलनात्मक सहज, श्रमको उपलब्धता र वैदेशिक व्यापारको लागि प्रमुख नाकासमेत भएकाले कृषि र औद्योगिक विकासको सम्भावना रहेको केन्द्रीय बैंकले सार्वजनकि गरेको प्रादेशिक आर्थिक गतिबिधिसम्बन्धी अध्ययन प्रतिवेदनले उल्लेख गरेको छ । 

धार्मिक तथा सांस्कृतिक महत्वको जनकपुर, बाराको गढिमाई, वीरगञ्ज, सप्तरीलगायतका क्षेत्रमा धार्मिक तथा सबै प्रकारका पर्यटकहरूलाई आकर्षित गर्न सकिने अध्ययनले देखाएको छ । 

जनकपुर क्षेत्रका मानव निर्मित पोखरी तथा ताल तलैया र शहरको उचित सरसफाई तथा श्रृंगार गरी मनोरञ्जनात्मक गतिविधिहरूको प्रवद्र्धनले आन्तरिक तथा बाह्य दुवै किसिमको गुणस्तरीय पर्यटकहरूको आगमन वृद्धि गर्न सकिने उल्लेख छ । यसका लागि मिथिला कला तथा संस्कृतिको संरक्षण र विकासमा जोड दिइएको छ । 

बाराको सिम्रौनगढ, जलेश्वर र छिन्नमस्ता जस्ता ऐतिहासिक र धार्मिक महत्वका तीर्थस्थलहरूमा धार्मिक तथा सांस्कृतिक पर्यटन विकासको सम्भावना औंल्याइएको छ । 

मधेश प्रदेशको सीमा भएर बग्ने सप्तकोशी नदी साहसिक जलयात्राका लागि उपयोग गर्न सकिने राष्ट्र बैंकको अध्ययनमा छ ।  भारतसँग खुल्ला सिमाना भएकोले पर्यटन पूर्वाधार विकास तथा प्रचार प्रसार गर्न सकेमा स्तरीय पर्यटक भित्र्याउन सकिने संभावना पनि अध्ययनले देखाएको छ । 

मधेश प्रदेशको ताजा माछा लोकप्रिय रहेकोले स्तरीय होटल तथा रेष्टुरेन्टको स्थापना गरेर माछापालन हुने स्थानहरूमा मत्स्य पर्यटन विकास गर्न सकिने पनि अध्ययनको निष्कर्ष छ ।  

भौगोलिक रुपमा सहज प्रदेश भएकाले शिक्षा, स्वास्थ्य तथा खेलकुद क्षेत्रलाई समावेश गरी एकीकृत पर्यटन कार्यक्रम संचालन गर्न सकिने सम्भावनालाई प्रतिवेदनले जोड दिएको छ ।  मधेशमा बैंक तथा वित्तीय संस्थाहरूको स्रोत तथा साधनलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गरी आर्थिक वृद्धि तथा उत्पादकत्व वृद्धि गर्न सकिने उल्लेख छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)