काठमाडौं । राष्ट्र बैंकले बिहीवार जारी गरेको रिपोमा ७ दशमलव १४ प्रतिशतभन्दा कम ब्याजदर कबोल गर्ने बैंक तथा वित्तीय संस्थाका बोलपत्रलाई अस्वीकार गरेको छ ।
१० अर्ब रुपैयाँ बराबरको १४ दिने अवधिको रिपो जारी गरेको बैंकले ३ अर्ब ८० करोड रुपैयाँ मात्रै जारी गरेको छ । जसमा न्युनतम ब्याजदर ७ दशमलव १४ प्रतिशतदेखि अधिकतम ८ दशमलव १४ प्रतिशतसम्म कबोल गर्ने बैंक तथा वित्तीय संस्थाले मात्रै राष्ट्र बैंकबाट पैसा पाएका छन् ।
६ ओटा बैंक तथा वित्तीय संस्थाहरूले पेश गरेको २६ ओटा बोलपत्रमा १० अर्ब ८० करोड रुपैयाँ माग गरिएको थियो । तर, राष्ट्र बैंकले ३ अर्ब ८० करोड रुपैयाँ मात्रै जारी गरेको छ ।
राष्ट्र बैकले ७ दशमलव १४ प्रतिशतभन्दा कम ब्याजदर कबोल गरेर आएका बोलपत्रलाई अस्वीकार गरेको देखिन्छ । यसको अर्थ अर्कों ७ अर्ब रुपैयाँका लागि बैंकहरूले ७ दशमलव १४ प्रतिशतभन्दा कम ब्याजदर कबोल गरेको देखिन्छ ।
राष्ट्र बैंकले यस अघि पुस १४ गते जारी गरेको ५० अर्बको रिपोमा भने बैंक तथा वित्तीय संस्थाले न्युनतम ७ दशमलव ५४ प्रतिशतसम्म ब्याजदरमा पैसा पाएका थिए । त्यतिबेला औसत ब्याजदर ८ दशमलव ०९ प्रतिशत रहेको थियो ।
बैंक तथा वित्तीय संस्थाहरूले माघ १ गतेबाट लागू हुने गरी बचतको ब्याजदर घटाइसकेका छन् । अब कर्जाको ब्याजदर घटाउने स्थिति सृजना गरेर कर्जा विस्तारको लक्ष्य हासिल गर्न राष्ट्र बैंकले मौद्रिक उपकरणहरू चलाएको बैंकको भनाइ छ । तर उसले ७ दशमलव १४ प्रतिशत भन्दा कम ब्याजदरमा भने बजारमा पैसा पठाउन चाहेको देखिन्न ।
अहिलेकै ब्याजदरमा कर्जा विस्तार हुन नसक्ने निष्कर्ष सहित ब्यजादर घटाउन र मौद्रिक नीतिले लक्षित गरेको कर्जा विस्तारको लक्ष्य हासिल गर्न राष्ट्र बैंकले मौद्रिक उपकरण चलाएको बताएको थियो । तर राष्ट्र बैंकले अहिले बजारमा चलेको अन्तर बैंक ब्याजदरभन्दा कममा पैसा दिन नमानेपछि उसले ६ अर्ब २० करोड रुपैयाँ जारी नै नगरेको देखिन्छ ।
अहिले एक अर्को बैंकबाट लिने अन्तर बैंक सापटी माघ २ गते ६ दशमलव १९ प्रतिशतमा झरेको थियो । त्यसकारण बैंंकहरूले अहिले त्यहि रेसियोको आधारमा कम ब्याजदर कबोल गरेकै कारण राष्ट्र बैंकले सबै पैसा जारी नगरेको देखिन्छ।
पुस १४ गते जारी ४५ दिन अवधिको रिपो आगामी माघ २९ गतेसम्म परिपक्व हुँदै छ । त्यस्तै आज जारी भएको रिपो भने माघ १९ गते नै परिपक्व हुनेछ ।