ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२४ मैदा मिलले भारतबाट ३० हजार टन गहुँ ल्याउने

२०७९ माघ, ६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल मैदा उद्योग संघको सिफारिशका आधारमा २४ ओटा मैदा मिललाई भारतले निर्यात अनुमति दिएको ५० हजार मेट्रिक टन गहुँमध्येबाट ३० हजार ४ सय ८९ टन ल्याउन कोटा बाँडफाँट गरेर अनुमतिका लागि भारतीय दूतावासमा सिफारिश पठाएको छ । दूतावासले भारतीय वाणिज्य मन्त्रालयलाई पत्र पठाएपछि उद्योगीले आफ्नो सम्पर्कमा रहेका भारतीय व्यापारीसँग किनेर गहुँ ल्याउनेछन् ।

मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले भारतले नेपालमा निर्यात गर्ने अनुमति दिएको ५० हजार मेट्रिक टनमध्येबाट २४ उद्योगको नामै तोकेर ३० हजार ४ सय ८९ टन मार्च (चैत १५) सम्ममा ल्याइसक्ने गरी सिफारिश गरिएको बताए । उनका अनुसार बाँकी गहुँ आयातका लागि व्यवसायीलाई कोटा दिइनेछ ।

भारतले १० महीनाअघि रूस–युक्रेन युद्ध र उत्पादनमा आएको कमीलाई कारण देखाउँदै गहुँ निकासीमा प्रतिबन्ध लगाएको थियो । त्यसबाट भारतीय गहुँमा निर्भर नेपाली उद्योग प्रभावित भएका छन् । भारत विश्वका ठूला गहुँ उत्पादक मुलुकमध्येको एक हो । भारतको निर्यात प्रतिबन्धअघि नेपालमा ५० रुपैयाँ किलो रहेको मैदाको भाउ ७० रुपैयाँ पुगेको छ । त्यस्तै ५५ रुपैयाँ किलोको आँटाको भाउ ७६ रुपैयाँ, ६० रुपैयाँ किलोको सुजीको भाउ ८० रुपैयाँ र ३८ रुपैयाँ किलोमा पाइने चोकरको मूल्य ४६ रुपैयाँ पुगेको छ । भारतबाट गहुँ आयात गर्न पाए सबै उत्पादनको मूल्य १५ प्रतिशतले घट्ने उद्योगी बताउँछन् ।

नेपालमा अहिले गहुँको मूल्य ५२ रुपैयाँ किलो छ । त्यस्तै प्रतिकिलो मैदाको ७०, आँटाको ७६, सुजीको ८० र चोकरको ४६ रुपैयाँ मूल्य छ । यो मूल्यमा मूल्य अभिवृद्धिकर जोडिएको छैन । भारतमा गहुँको मूल्य प्रतिकिलो भारतीय (भारू) २८ रुपये ५० पैसे पर्छ । त्यस्तै मैदा ३२, आँटा ३४, चोकर २८ भारू किलोमा पाइन्छ ।

नेपालका मैदा मिलहरूलाई वार्षिक १० लाख मेट्रिक टन गहुँ आवश्यक पर्ने व्यवसायी बताउँछन् । ४० प्रतिशत नेपालको उत्पादनले धान्छ । बाँकी ६० प्रतिशत भारतबाट आयात गर्नुपर्ने नेपाल फ्लोर मिल एशोसिएशनका अध्यक्ष कुमुद दुगडले बताए । दुगडका अनुसार गहुँ आपूर्ति समयमा हुन नसक्दा दुई दर्जनभन्दा बढी उद्योगको उत्पादन ठप्प भएको छ ।

एशोसिएशनका सचिव विकास बेगवानीले भारतबाट गहुँ आएपछि यहाँको मूल्य १५ प्रतिशतसम्म सस्तो हुने बताए । उनका अनुसार आँटा र मैदामा किलोमा १० रुपैयाँसम्म मूल्य सस्तो पर्छ । बेगवानीले भारतबाट पहिलो खेपमा आउने कोटाको गहुँले २ सातामात्रै पुग्ने भएकाले सरकारले ३ लाख टन गहुँ थप माग गर्नुपर्ने बताए । तीन लाख टन गहुँ आए वैशाखसम्मलाई पुग्ने र त्यसपछि नेपालकै गहुँ बजारमा आउने उनले बताए ।

तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले खाद्यान्न संकट नहोस् भनेर भारतीय वाणिज्य मन्त्रालयसँग गहुँ माग गरेपछि भारतले ५० हजार टन निकासीका लागि अनुमति दिएको थियो ।

त्यसपछि साउन १९ गते मन्त्रालयले मैदा मिलका सञ्चालकहरूलाई भारतको कुन व्यवसायीबाट कति परिमाणमा गहुँ ल्याउने हो, गतवर्ष गहुँको खपत कति थियो लगायत जानकारीसहित आवेदन दिन भनेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)