ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आयात प्रतिबन्धको असर : वीरगञ्ज भन्सारबाट लक्ष्यको ६२ प्रतिशतमात्रै राजस्व संकलन

२०७९ माघ, ६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । देशकै मुख्य नाकाको रुपमा रहेको वीरगञ्ज भन्सारले चालू आर्थिक वर्ष (आव) २०७९/८० को ६ महीनामा लक्ष्यको आधा भन्दा केही बढिमात्र राजस्व संकलन गरेको छ ।

वीरगञ्ज भन्सार कार्यालयले चालू आवको साउनदेखि पुससम्मको ६ महीनामा लक्ष्यको तुलनामा ६२ दशमलव ४ प्रतिशतमात्र राजस्व संकलन गरेको कार्यालयले जानकारी दिएको छ । 

वीरगञ्ज भन्सार कार्यालयका अनुसार यो ६ महीने अवधिका लागि भन्सार विभागले १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो ।तर, वीरगञ्ज भन्सारले भने ७६ अर्ब ५४ करोड रुपैयाँ मात्रै संकलन गरेको छ । 

विदेशी मुद्रा सञ्चितिमा परेको दबाब समाधान गर्न सरकारले लिएको व्यापार नियन्त्रणको नीतिको प्रभावले राजस्व घटेको भन्सारका अधिकारीहरूले बताउँछन् । व्यापारमा आएको गिरावटको असर राजस्व संकलनमा देखिएको उनीहरूको भनाइ छ । 

‘यहाँबाट राजस्वमा मुख्य योगदान दिने सवारीका साधन र पेट्रोलियम पदार्थको आयात हो । चालू वर्षमा यी दुवै वस्तुको आयात खस्किएको छ । गाडीको आयातमा त लामो समय प्रतिबन्ध नै लाग्यो,’ वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले भने । 

गत आर्थिक वर्ष २०७८/७९ को दोस्रो चौमासदेखि नै आयात नियन्त्रण गरेको सरकारले गत बैशाखदेखि गाडी, महँगा मोबाइल र मदिराको अयातमा पनि रोक लगाएको थियो । अहिले यस्ता विलासी वस्तुको आयातमा प्रतिबन्ध हटाएको छ । त्यसयता पनि कतिपय वस्तुको आयातमा नगद मार्जिनको प्रावधान कायमै राखेको थियो । हालैमात्र आयातमा यस्तो मार्जिन हटेको छ । 

विदेशी मुद्राको सञ्चिति जोगाउन खोज्दा सरकारले चालू खर्च नै नधान्ने गरी राजस्व संकलन भएको जानकारहरू बताउँछन् । विदेशी मुद्राको सञ्चिती जोगाउँदा एउटा प्वाल टालिएपनि अर्को प्वाल परेको  जानकारहरू बताउँछन् ।

गाडीको आयात खुले पनि बजारमा माग नभएको र बैंकहरूले कर्जा लगानी नगरेको भन्दै आयातकर्ताले गाडी भित्र्याएका छैनन् । वीरगञ्ज नाकामा आइसकेका सवारी साधनसमेत भन्सारको यार्डमै थन्किएका छन् । 

विगतमा दैनिक ३०/३५ ओटा गाडी जाँचपास हुने गरेकोमा अहिले आयातकर्ताले दिनमा बल्लतल्ल ३/४ ओटा गाडीमात्रै छुटाएको बरुवालले जानकारी दिए । एकीकृत जाँच चौकी (आईसीपी) भन्सारको यार्डमा अहिले २ हजारभन्दा बढी गाडी थुप्रिएको नेपाल इन्टरमोडल यातायात विकास बोर्डका वीरगञ्ज कार्यालयका प्रमुख कमल ज्ञवालीले बताए ।

कुन शीर्षकमा कति राजस्व ? 
वीरगञ्ज भन्सारले आयाततर्फ भन्सार महसुल ४८ अर्ब रुपैयाँ उठाउनु पर्नेमा २६ अर्ब रुपैयाँमात्रै उठाएको भन्सारको तथ्यांक छ । त्यस्तै मूल्य अभिवृद्धिकरतर्फ ३४ अर्ब रुपैयाँ संकलन भएको छ । यो शीर्षमा ४४ अर्ब रुपैयाँ संकलनको लक्ष्य राखिएको थियो । 

अन्तः शुल्क १२ अर्ब रुपैयाँ उठाउने भनिएकोमा साढे ५ अर्ब रुपैयाँमात्र संकलन भएको देखिन्छ । गाडीको आयात ठप्प भएकाले अन्तःशुल्कको लक्ष्य नपुगेको भन्सारका अधिकारीहरूले बताएका छन् । अघिल्ला वर्षहरूमा यो शीर्षकमा लक्ष्यको तुलनामा अत्याधिक राजस्व आउने गरेको भन्सारको तथ्यांक छ ।  

पेट्रोलियम पदार्थमा लिँदै आएको पूर्वाधार करतर्फ ६ अर्ब रुपैयाँ उठेको छ । यस्तो कर संकलनका लागि वीरगञ्ज भन्सारलाई साढे ९ अर्ब रुपौयाँ लक्ष्य तोकिएको थियो ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)