ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सेतो हात्ती बन्दै चोभार सुक्खा बन्दरगाह

२०७९ माघ, ९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रकाश जोशी

काठमाडौं । सञ्चालनमा आएको झन्डै १ वर्षपछि पनि काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह प्रयोगमा नआएपछि सेतो हात्ती बन्ने खतरा बढेको छ । सुक्खा बन्दरगाह सञ्चालनमा आएयताको अवधिमा ७७ ओटा कन्टेनर भित्रिएका छन् । यहाँबाट तीनओटा कन्टेनर मात्र बाहिरिएको अभिलेख छ ।

तीन वर्ष लगाएर डेढ अर्ब रुपैयाँभन्दा बढी लागतमा तयार गरिएको चोभार सुक्खा बन्दरगाह गत चैतमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । बन्दरगाह २ सय २० रोपनी क्षेत्रफलमा फैलिएको छ । यो बन्दरगाहमा एकपटकमा ५ सयओटा कन्टेनर पार्किङ गर्न मिल्छ ।

देशको सबैभन्दा ठूलो शहर काठमाडौंमा सामान आयात र यहाँबाट निर्यात सहज बनाउने साथै वीरगञ्ज, भैरहवालगायत भन्सारमा जाम कम गर्ने उद्देश्यले चोभारमा यति ठूलो सुक्खा बन्दरगाह निर्माण गरिएको हो । तर, बन्दरगाह सञ्चालनमा देखिएको शुरुआती निराशासँगै पूर्वाधार खेर जाने चिन्ता बढेको छ ।

बन्दरगाह सञ्चालनको जिम्मेवारी पाएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल बन्दरगाह सोचेअनुसार चल्न नसकेको बताउँछन् । ‘सुक्खा बन्दरगाहबाट नजिक पर्ने काठमाडौं–निजगढ फास्ट ट्र्याक नबन्दा सञ्चालनमा समस्या भएको छ,’ उनले भने, ‘निजीक्षेत्रको सहयोग पनि खासै छैन । सरकारले पनि बाध्यकारी व्यवस्था गरेको छैन ।’

सरकारले उपत्यकाभित्र आउने निश्चित सामग्रीलाई समय तोकेर चोभार सुक्खा बन्दरगाहबाटै ल्याउने व्यवस्था गरेको खण्डमा सहज हुने कार्यकारी निर्देशक गजुरेलको भनाइ छ । नेपालमा सबैभन्दा बढी सामान भित्रिने वीरगञ्ज नाकाबाट प्रवेश गरेका अधिकांश सामान काठमाडौं उपत्यकामा आउने गर्छ । अहिले काठमाडौं भित्रिने कन्टेनरले प्रयोग गर्ने थानकोटको बाटोबाट बल्खु हुँदै चोभार जान र आउन ८/१० किलोमीटर बढी पर्छ । यो बाटोको बन्दरगाहनजिकको भाग साँघुरो पनि छ । यसरी बाटो बढी खर्चिलो र असहज भएको कारण चोभार सुक्खा बन्दरगाहमा आउन कन्टेनरहरूले आनाकानी गरिरहेका छन् ।

चोभार आउने कन्टेनरले वीरगञ्ज भन्सार र चोभार भन्सारमा गरेर दुईपटक प्रक्रिया पूरा गर्दा कठिनाइ झेल्नुपरेको व्यवसायी बताउँछन् । साथै भन्सार विभागले जीपीएस सिस्टममा चर्को जरीवाना तोकेको पनि उनीहरूको गुनासो छ ।

जीपीएस सिस्टमको ताला सीमा नाकाबाट चोभार सुक्खा बन्दरगाहस्थित भन्सारसम्म आउने क्रममा खुलेको खण्डमा २ सय प्रतिशतसम्म जरीवानाको व्यवस्था गरिएको छ । ‘यो निकै ठूलो जरीवाना हो । कुनै कारणले ताला खुल्न गएमा के गर्ने ? त्यसो हुनुभन्दा त वीरगञ्ज वा भैरहवा भन्सारमा चेक गराएर ल्याउँदा सहज भयो नि,’ नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले भने ।

उपाध्यक्ष श्रेष्ठका अनुसार सरकारलाई चोभार सुक्खा बन्दरगाह राम्रोसँग चलाउन केके गर्नुपर्छ भनेर सुझावसहितको पत्र पठाइएकोमा सम्बोधन हुन सकेको छैन । ‘यति खर्चेर निर्माण भएको बन्दरगाहको कुशल सञ्चालनमा सरकारी तत्परता नै देखिँदैन,’ उनले भने ।

भन्सार विभागले भने व्यवसायीले चोभार सुक्खा बन्दरगाह प्रयोग नै नगरी कुरा बनाइरहेको बताएको छ । ‘शुरूमा प्रयोग गर्नुपर्‍यो । अनि कहाँ समस्या आउँछ, के कारणले समस्या आउँछ, सुधार गर्नै नसकिने भन्ने त होइन,’ भन्सार विभागका उपमहानिर्देशक डिलाराम पन्थीले भने । जरीवाना व्यवसायी बढी जिम्मेवार होऊन् भन्ने उद्देश्यले तोकिएको उनको भनाइ छ ।

बन्दरगाहको आधा भागमा आन्तरिक टर्मिनल
बन्दरगाहमा धेरै कम मात्रै कन्टेनर आउन थालेपछि तत्कालका लागि आन्तरिक टर्मिनल बनाएर प्रयोगमा ल्याउन लागिएको इन्टरमोडल यातायात विकास समितिले जानकारी दिएको छ ।

समितिका कार्यकारी निर्देशक गजुरेलले आधा भागलाई लजिस्टिक हबका रूपमा विकास गर्ने र त्यसमा पार्किङ, लेबलिङलगायत काम गरिने बताए । यो विषयमा व्यवसायीसँग कुरा भइसकेको र व्यवसायीकै मागअनुरूप यस्तो गर्न लागिएको उनको भनाइ छ ।


सुक्खा बन्दरगाह सञ्चालनमा आएयताको अवधिमा ७७ ओटा कन्टेनर भित्रिएका छन् । यहाँबाट तीनओटा कन्टेनर मात्र बाहिरिएको अभिलेख छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)