काठमाडौं । बागमती कोरिडोरको ललितपुर खण्डबाट हिडिरहँदा सानेपादेखि कुपण्डोल गुंसिगालसम्म बागमती नदी किनारसँगै हरियाली दृश्य देखिन्छ । सडकबाट यात्रा गरिहँदा किनारमा के खेती भइरहेको होला भन्ने उत्सुक्ता जाग्यो ।
काठमाडौं-ललितपुर सीमाना बागमती किनारमा पुग्दा खेतमा सागसब्जी गोडमल गर्दै गरेका कृषक महिलाहरू भेटिए । कंक्रिटका भवन र धुलाम्मे सडकले अस्तव्यस्त उपत्यकाको भित्री क्षेत्रमा खाली जमीन नै देख्न सकिन्न । त्यसमाथि खेतीपाती भइरहेको हराभरा ठाउँ देख्दा अच्चमै लाग्यो ।
नदी किनारको जग्गा सबै सरकारी हो । सरकारी जग्गा भए पनि स्थानीयले खेतीपाती गर्न छोडेका छैनन् ।कुनै पनि बेला सरकारले खेतीपाती गरिरहेको ठाउँ खाली गराउन सक्ने जानकारी हुँदाहुँदै पनि उनीहरूले खेतीपाती गर्न भने छोडेका छैनन् । रैथाने कृषकहरूले आफ्नो सास रहेसम्म खेतीपाती गरिरहने बताए ।
उनीहरूले त्याहाँ सागसब्जी, काउली, लसुन, आलु, रायो, धनियाँलगायत तरकारी र मकैखेतीसमेत गरिरहेका छन् । उनीहरूले खेती गरिरहेको ठाउँबाहेक उक्त क्षेत्रमा तल र माथि पार्क, खेल मैदानलगायत संरचना निर्माण भइसकेका छन् ।
एक दिन उनीहरूले बनाएको हरियाली माथि पनि डोजर लाग्ने छ । त्यसपछि बीच शहरमा रहेको सानो हराभरा ठाउँ उजाड बन्नेछ ।