ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धितोपत्र बजारसँगै बढ्यो कर संकलन

२०७९ माघ, १०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । पुस महीना धितोपत्र बजारका लगानीकर्तासँगै सरकारका लागि समेत फलदायी देखिएको छ । पुस महीनाको कारोबारमा लगानीकर्ताको सम्पत्ति मूल्य अर्थात् कुल बजार पूँजीकरण पनि करीब ४ खर्ब रुपैयाँले बढेको छ भने सरकारको कर संकलन पनि दुई गुणाभन्दा बढीले वृद्धि भएको छ । मङ्सिर मसान्तसम्म २७ खर्ब २१ अर्ब ११ करोड २२ लाख रुपैयाँ रहेको कुल बजार पूँजीकरण पुस मसान्तसम्मको कारोबारमा ३१ खर्ब ३ अर्ब १५ करोड ६९ लाख रुपैयाँ कायम भएको हो ।

पुस महीनामा धितोपत्र बजारका लगानीकर्ताले धितोपत्र कारोबारबाट नाफा कमाएबापत सरकारलाई ३४ करोड ७३ लाख ६२ हजार रुपैयाँभन्दा बढी पूँजीगत लाभकर बुझाएका छन् । धितोपत्र राफसाफ कार्यको जिम्मेवारी पूरा गर्ँआएको सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेले पुस महीनामा मङ्सिरको तुलनामा पूँजीगत लाभकर दुई गुणाभन्दा बढीले वृद्धि भएको बताए । उनका अनुसार मङ्सिर महीनामा १५ करोड २४ लाख ९१ हजार रुपैयाँभन्दा बढी मात्र पूँजीगत लाभकर संकलन भएको थियो । मङ्सिर महीनाको तुलनामा पुस महीनामा सरकारको धितोपत्र बजारबाट हुने आम्दानी १९ करोड ४८ लाख ७० हजार रुपैयाँभन्दा बढीले वृद्धि भएको जानकारी सीडीएससीका प्रवक्ता न्यौपानेले दिएका छन् ।

नयाँ सरकार गठनसँगै सकारात्मक बनेको बजारमा अल्पकालीन लगानीकर्ता हाबी भएको देखिन्छ । त्यसैले पुस महीनामा अल्पकालीन लगानीकर्ताले सबैभन्दा बढी पूँजीगत लाभकर तिरेको देखिएको छ । सीडीएससीका अनुसार कुल पूँजीगत लाभकरमध्ये अल्पकालीन लगानीकर्ताबाट २४ करोड ६८ लाख ६७ हजार रुपैयाँभन्दा बढी र दीर्घकालीन लगानीकर्ताबाट १० करोड ४ लाख ९४ हजार रुपैयाँभन्दा बढी संकलन भएको हो ।

मङ्सिर महीनाको पूँजीगत लाभकर भने दीर्घकालीन लगानीकर्ताबाट बढी संकलन भएको थियो । मङ्सिरमा अल्पकालीन लगानीकर्ताबाट ६ करोड ३० लाख रुपैयाँभन्दा बढी र दीर्घकालीन लगानीकर्ताबाट ८ करोड ९४ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएको थियो । सरकारले १ वर्षभन्दा बढी समय शेयर कायम गरी विक्री गर्ने लगानीकर्तालाई दीर्घकालीन र १ वर्षभन्दा कम समय शेयर कायम गरी विक्री गर्ने लगानीकर्तालाई अल्पकालीन लगानीकर्ताको रूपमा विभाजन गर्दै कर संकलन गर्ने गरेको छ । अल्पकालीन लगानीकर्ताले ७ दशमलव ५ प्रतिशत र दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था सरकारले गरेको हो ।

भारित औसत लागतका आधारमा धितोपत्र बजारका लगानीकर्ताले पूँजीगत लाभकर तिर्दै आएका छन् । लामो समय घटेको बजार केही उकालो लागेसँगै अल्पकालीन लगानीकर्ता नाफा बुक गर्न सक्रिय भएको जानकार लगानीकर्ता बताउँछन् । लगानीकर्ता डम्बरुवल्लभ घिमिरेले धितोपत्र बजारका लगानीकर्ताले तिरेको कर धितोपत्र बजार विकासकै लागि गर्नुपर्नेमा जोड दिएका छन् । धितोपत्र बजार बढ्दा यो क्षेत्रका लगानीकर्तासँगै सरकारी आम्दानीसमेत वृद्धि भई समग्र देशको अर्थतन्त्रलाई सहयोग पुग्ने भएकाले यो क्षेत्रको विकासका लागि सरकारले विशेष ध्यान दिनुपर्ने घिमिरेको भनाइ छ । धितोपत्र बजारले ऐतिहासिक विन्दु कायम गरेको समयमा सरकारले एकै महिनामा ३ अर्ब रुपैयाँभन्दा बढी कर संकलन गरेको स्मरण गराउँँदै घिमिरेले अर्थतन्त्रको ऐनाका रूपमा धितोपत्र बजारलाई हेर्नुपर्ने बताउँछन् ।

२०७८ साल साउन महिनामा सरकारले हालसम्मकै सर्वाधिक रू. ३ अर्ब २४ करोड ६९ लाखभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको थियो । धितोपत्र दोस्रो बजारले २०७८ साल भदौ २ गते हालसम्मकै उच्च ३ हजार २०० विन्दु पार गरेको थियो । बजारले उच्च विन्दु कायम गर्दा लगानीकर्ताबाट सर्वाधिक पूँजीगत लाभकर संकलन भएको थियो ।

विगत १ वर्षभन्दा बढी समयदेखि घटेको धितोपत्र दोस्रो बजार पुस ४ गतेदेखि उकालो लाग्न थालेको हो । १ हजार ८५८ दशमलव ९० विन्दुदेखि उकालो लागेको नेप्से परिसूचक पुस मसान्तसम्मको कारोबारमा २ हजार १४९ दशमलव ३९ विन्दुमा बन्द भएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)