काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलवार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक २०२२ मा नेपालले कुल १०० अंकमा ३४ अंक प्राप्त गर्दै ११०औं स्थानमा ओर्लेको छ । अघिल्लो सूचकांकमा नेपाल ३३ अंकका साथ ११७औं स्थानमा थियो । यसले अघिल्लो वर्षको तुलनामा २०२२ मा नेपालमा भ्रष्टाचार घटेको संकेत गर्छ ।
विश्व बैंक, वर्ल्ड इकोनोमिक फोरम, ग्लोबल इन्साइट, बर्टेल्सम्यान फाउन्डेशन, वर्ल्ड जस्टिस प्रोजेक्ट र भेराइटिज अफ डेमोक्रेसी प्रोजेक्ट (भी–डीईएम)सहित ६ ओटा संस्थाद्वारा प्रकाशित सर्वेक्षणलाई भ्रष्टाचार अवधारणा सूचकांक २०२२ को आधार मानिएको छ ।
यसमा सरकारद्वारा सार्वजनिक पदाधिकारीहरूको कामकारबाहीको निगरानी, नागरिक समाजलाई राज्यको सूचनामा पहुँच र सीमित व्यक्तिहरूको राज्य सञ्चालनमा पकडबारे विश्व बैंकले सर्वेक्षण गरेको छ । वर्ल्ड इकोनोमिक फोरमले आयातनिर्यात, सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्कापट्टा र न्यायिक निर्णयमा भ्रष्टाचारबारे सर्वेक्षण गरेको छ ।
त्यस्तै ग्लोबल इन्साइटले व्यापार, व्यवसाय, ठेक्कापट्टा, आयातनिर्यातमा घूस र भ्रष्टाचारबारे सर्वेक्षण गरेको छ । बर्टेल्सम्यान फाउन्डेशनले पदको दुरुपयोगमा सार्वजनिक पदाधिकारीमाथि कतिको कारबाही हुन्छ र सरकारको भ्रष्टाचार नियन्त्रणको प्रयास कतिको सफल छ भन्ने सर्वेक्षण गरेको छ ।
वर्ल्ड जस्टिस प्रोजेक्टले सरकार, न्यायालय, संसद् र सुरक्षा निकायका प्रतिनिधिद्वारा निजी स्वार्थका लागि सार्वजनिक पदको दुरुपयोग विषयमा सर्वेक्षण गरेको छ भने भी–डीईएम ले राजनीतिक भ्रष्टाचारअन्तर्गत संसद्, कार्यपालिका र न्यायपालिका सम्बद्ध भ्रष्टाचारको व्यापकताजस्ता विषयमा सर्वेक्षण गरेको छ ।
नेपाललाई कुल १०० अंकमा विश्व बैंकले ३५, वर्ल्ड इकोनोमिक फोरमले ३८, ग्लोबल इन्साइटले ३५, बर्टेल्सम्यान फाउन्डेशनले ३३, वर्ल्ड जस्टिस प्रोजेक्टले ३० र भी–डीईएमले ३० अंक दिएका छन् । ट्रान्सपरेन्सी इन्टरनेशनलले संसारका १८० देशमा भ्रष्टाचारको अवस्थाबारे अध्ययन गरेको थियो । पछिल्लो सूचकांकमा यसपालि डेनमार्क ९० अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक बनेको छ भने सोमालिया १२ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रूपमा सूचीकृत भएको छ । यस वर्षको औसत अंक ४३ रहेको र विश्वका दुई तिहाइ मुलुकमा भ्रष्टाचार गम्भीर समस्याका रूपमा रहेको ट्रान्सपरेन्सीले उल्लेख गरेको छ । उसले भ्रष्टाचारविरुद्ध विश्वभर नै प्रभावकारी कार्य हुन नसकेको, भ्रष्ट सरकारले नागरिकको सुरक्षा गर्ने क्षमता नराख्ने, फलस्वरूप नागरिक वितृष्णा द्वन्द्वमा रूपान्तरण हुने पनि उल्लेख गरेको छ ।
भ्रष्टाचार अवधारणा सूचकांक २०२२ अनुसार दक्षिण एशियाली राष्ट्रमध्ये भुटान ६८ अंक प्राप्त गरी २५, मालदिभ्स ४० अंक प्राप्त गरी ८५ र भारत ४० अंक प्राप्त गरी ८५ स्थानमा छ । त्यस्तै श्रीलंका ३६ अंकका साथ १०१, पाकिस्तान २७ अंकका साथ १४० र बंगलादेश २५ अंकका साथ १४७ नम्बरमा छ । २४ अंक प्राप्त गरेको अफगानिस्तान १५० स्थानमा छ । यसले अफगानिस्तानमा दक्षिण एशियाका मुलुकमध्ये सबैभन्दा बढी भ्रष्टाचार हुने संकेत गर्छ ।
दक्षिण एशियाली क्षेत्रमा भ्रष्टाचारविरोधी कदमलाई बेवास्ता गरिएको ट्रान्सपरेन्सीको भनाइ छ । सरकारहरूलाई भ्रष्टाचारविरोधी प्रतिबद्धतालाई प्राथमिकता दिन, सूचनाको हक कायम राख्न तथा निजी प्रभाव कम गर्दै भ्रष्टाचार र त्यसबाट उत्पन्न हुने द्वन्द्वबाट मुक्त हुन उसले आग्रह गरेको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले भ्रष्टाचारविरुद्ध हालै नेपाल सरकारबाट भएको प्रतिबद्धताको कार्यान्वयन, स्वार्थको द्वन्द्वको सम्बोधन, दण्डहीनताको अन्त्य, कानूनको पालना र नियन्त्रणमुखी निकायहरूको प्रभावकारितामार्फत सुशासन अभिवृद्धि गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ ।
मंगलवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष पद्मिनी प्रधानांगले यस्ता प्रयास सार्थक भए भविष्यमा सूचकांकमा नेपालको अवस्था सुध्रिने बताइन् । ‘सरकारबाट अहिले भ्रष्टाचार नियन्त्रणका लागि कार्यरत संस्थासँग समन्वय भइरहेको छ । साथै राज्यबाट प्रतिबद्धता पनि आएको छ,’ उनले भनिन् । अध्यक्ष प्रधानांगले प्रतिबद्धता मात्रै नभएर ठोस कार्यान्वयन पनि जरुरी रहेको धारणा राखिन् ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका महासचिव मदनकृष्ण शर्माका अनुसार नेपालमा भ्रष्टाचार व्यापक र छर्लङ्ङ छ । राज्यले यसविरुद्ध सशक्त रूपमा प्रस्तुत हुने हो भने चाँडै स्थिति सुध्रिने सम्भावना छ । उनले भ्रष्टाचार नियन्त्रणको शुरुआत र कारबाही तल्लो तहबाट माथितिर नभई माथिबाट तलतिर जानुपर्ने बताए ।
ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार अवधारणा सूचकांकमा १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्ट जनाउँछ । साथै ५० भन्दा कम अंक प्राप्त भएमा बढी भ्रष्टाचार हुने मुलुक मान्ने गरिएको छ ।