ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डस्टी कार्गो ढुवानीमा आईसीपी र बन्दरगाह दुवै तत्पर : किन तयार छैनन् आयातकर्ता ?

२०७९ माघ, १८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
डस्टी कार्गोका लागि सुक्खा बन्दरगाहमा प्रिस्टाइनले तयार पारेको रेल लाइन । फाइल तस्वीर : आर्थिक अभियान
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । वीरगञ्ज नाकाबाट हुने अयात निर्यात सहजीकरणका पूर्वाधार एकीकृत जाँच चौकी (आईसीपी) र सुक्खा बन्दरगाह सञ्चालकबीच डस्टी कार्गो व्यवस्थापनमा एक प्रकारको प्रतिस्पर्धा देखिएको छ । दुवै संरचना सञ्चालकले यस्तो कार्गो लोडअनलोड र ढुवानीको पूर्वाधार तयार पारिएको बताएका छन् ।

तर, वीरगञ्ज नाकाबाट डस्टी कार्गो भित्र्याउने आयातकर्ता यी पूर्वाधारबाट आयात असहज भएको भन्दै सरोकारका स्थानीय निकायदेखि मन्त्रालयसम्ममा धाइरहेका छन् । आइतवार मात्रै वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारीले अर्थमन्त्री विष्णु पौडेल र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई भेटेर पुरानै रुट (रक्सौल–मितेरीपुल–वीरगञ्ज) बाट यस्तो कार्गो भित्र्याउन पाउने व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

एक महीनायता यस्तो कार्गो आईसीपीबाट मात्रै ल्याउन पाउने व्यवस्था गरिएको छ । नेपाल र भारत सरकारका सम्बद्ध निकायले यो नाकाको सम्पूर्ण आयातनिर्यात कारोबार आईसीपीबाट गर्न गत पुस १७ (जनवरी १) देखि उक्त व्यवस्था कार्यान्वयन गरेका हुन् ।

प्रतिरेक २२ लाख ३१ हजार रुपैयाँले बढेको ढुवानी लागत

यसअघि सिमेन्ट र फलाम उद्योगको कच्चा पदार्थ, स्ल्याग, आइरन ओर, कोइला, मलखाद र नुनजस्ता केही वस्तु पुरानै नाकाबाट भित्रिन्थ्यो । अहिले यस्ता वस्तु आईसीपीबाटै ल्याउनुपर्ने भएको छ । डस्टी कार्गो आईसीपीतर्फ गएपछि ढुवानी खर्च ह्वात्तै बढेको आयातकर्ताको गुनासो छ ।

डस्टी कार्गोका लागि नेपालतर्फको आईसीपीको १० नम्बर लेन छुट्ट्याएको आईसीपी सञ्चालक नेपाल इन्टरमोडेल यातायात विकास समितिको वीरगञ्ज कार्यालयका प्रमुख कमल ज्ञवालीले जानकारी दिए । यो लेनमात्र पर्याप्त नभएको आयातकर्ताले बताउने गरेका छन् ।

३ महीना बित्यो, बन्दरगाहमा आएन कार्गो
वीरगञ्ज सुक्खा बन्दरगाहले पनि यस्तो कार्गो ढुवानीका लागि आवश्यक पूर्वाधार मिलाइएको बताएको छ । सरकारले बन्दरगाह सञ्चालक प्रिस्टाइन भ्याली ड्राइपोर्टलाई बन्दरगाहमा डस्टी कार्गो व्यवस्थापनको स्वीकृति दिइसकेको छ ।

डस्टी कार्गो सञ्चालनका लागि ३ महीनाअघि नै स्वीकृति लिएर आवश्यक पूर्वाधार तयारी अवस्थामा राखे पनि आयातकर्ता बन्दरगाहमा आउन नखोजेको प्रिस्टाइनका कार्यकारी निर्देशक बी मोहनले आर्थिक अभियानलाई बताए । रक्सौलसम्म रेलमार्फत आएको कार्गो बन्दरगाहमा सीधै रेलबाट भित्र्याउन सहज हुने दाबी मोहनको छ ।

रक्सौलबाट आईसीपीसम्मको अत्यन्तै साँघुरो सम्पर्क सडक

भारतको रक्सौलबाट वीरगञ्जमा रहेको बन्दरगाहसम्म रेलसेवा जोडिएको छ । प्रिस्टाइनले बन्दरगाहमा डस्टी कार्गोका लागि बेग्लै रेल लाइन निर्माण गरेको छ । धूलो नियन्त्रणका लागि पानीको फोहरा, पर्खाललगायत पूर्वाधारमा २ करोड रुपैयाँ खर्च गरिएको सञ्चालकले बताएको छ ।

बन्दरगाहमा डस्टी कार्गोका लागि रेलको सिंगल लाइनमात्रै भएकाले बढी रेक आएको अवस्थामा रक्सौलमै पालो पर्खिएर बस्नुपर्ने आयातकर्ता माधव राजपालको भनाइ छ । यो नाकाबाट महीनामा औसत ३० रेक यस्तो सामान आउने भए पनि कहिलेकहीँ एकै दिन तीनओटासम्म रेक आउने आयातकर्ताको भनाइ छ ।

बन्दरगाहमा आइसकेका रेल तत्काल खाली गरेर ढुवानीको व्यवस्था मिलाउन सकिने र यसो गर्दा आयातकर्तालाई जरीवानाको भार नपर्ने प्रिस्टाइन भ्यालीको दाबी छ । सुक्खा बन्दरगाह आसपास क्षेत्रमा गोदामको प्रबन्ध मिलाउन पनि सकिने कार्यकारी निर्देशक मोहनले बताए ।

आईसीपीका अप्ठ्यारा
रक्सौलबाट आईसीपीसम्मको सम्पर्क सडक अत्यन्तै साँघुरो भएको, आईसीपीसम्म पुग्ने बाईपास सडकमा अत्यधिक जामलगायत कारण तत्कालका लागि साविक नाकाबाटै भित्र्याउन पाउनुपर्ने माग आयातकर्ताले अघि सारेका छन् ।

अहिले आईसीपीबाट भइरहेको ढुवानीमा अधिक समय, पार्किङ शुल्कलगायत अतिरिक्त खर्च बढेको संघका उपाध्यक्षसमेत रहेका राजपालले बताए । प्रतिरेक ढुवानी लागत २२ लाख ३१ हजार रुपैयाँले वृद्धि भएको संघको भनाइ छ । अहिलेकै अवस्थामा आईसीपीबाट ढुवानी गर्दा महीनामा १० रेक पनि कार्गो पनि भित्र्याउन नसकिने संघको दाबी छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)