ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गड्डाचौकी नाका : लक्ष्यअनुसार राजस्व उठाउन जाँचपासमा कडाइ

२०७९ माघ, १९  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

महेन्द्रनगर । कार्यालय परिसर बाहिर कर्मचारीहरू कुर्सी राखेर बसेका छन् । भारतीय नाकाबाट सामान आयात गर्ने व्यवसायी लाइन लागेर सामान चेकजाँच गराउँछन् ।  सामग्री चेकजाँच र तौल लिएपछि कर्मचारीले उनीहरूलाई राजस्व तिर्न चिट दिन्छन् । सेवाग्राही राजस्व तिरेर पूर्वी गेटबाट बाहिरिन्छन् ।

यो दृश्य हो, नेपालको पश्चिमी नाकामा रहेको कञ्चनपुर भन्सार कार्यालयको । कञ्चनपुरको गड्डाचौकीस्थित भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व उठाउन सामान जाँचपासमा कडाइ गरेको छ । भन्सार कार्यालय प्रमुख धु्रवकुमार विश्वकर्मा राजस्व संकलनका लागि कार्यालय परिसरमा आफै खटिएका छन् ।

‘भन्सारको राजस्व चुहावट रोक्न कार्यालय बाहिरै बसेर आयातित सामग्रीको चेकजाँच गरिरहेका छौं,’ भन्सार प्रमुख विश्वकर्माले भने ‘आज ९ दिन भयो, कार्यालय परिसरमै बसेर भन्सारमा आएका सामानको निगरानी गरिरहेका छौं, भन्सारका सेवा  सहज रूपमा प्रदान गरेर राजस्व संकलन बढाउनु हाम्रो मुख्य उद्देश्य हो ।’ कञ्चनपुर भन्सारबाट ठूलो मात्रामा साइकल क्यारिङमार्फत सामान आयात हुने गरेको छ । यस नाकाको राजस्वको प्रमुख स्रोत नै साइकल क्यारिङमार्फत गरिएको आयातको कर हो ।

ग्रामीण भेगका निम्न आयस्तर भएका स्थानीयले जीविकोपार्जनका लागि भारतीय सीमा बजारबाट साइकलमा सामान ल्याउने गरेका छन् । उनीहरूले भारतीय सीमावर्ती बजार वनबासाबाट सामान ल्याएर महेन्द्रनगर र झलारी बजारसम्म बेच्ने गरेका छन् । ‘साइकलमा ठूलो मात्रामा सामान आयात हुने गरेको छ । कर्मचारी अभावले राम्रोसँग सामान चेकजाँज नहुँदा कतिपयले सामान लुकाएर राजस्व छल्ने गरेका  थिए,’ भन्सार कार्यालय प्रमुख विश्वकर्माले भने ‘आफै खटिएर चेकजाँच गरिरहेको छु, अहिले राजस्व संकलनमा वृद्धि भएको छ ।’ साइकल क्यारिङबाट पहिले दैनिक १ लाख रुपैयाँसम्म राजस्व संकलन हुने गरेकोमा चेकजाँचमा कडाइ गरिएपछि दैनिक २ लाखदेखि ३ लाख रुपैयाँसम्म असुली हुन थालेको उनले बताए ।

कार्यालय प्रमुख विश्वकर्माका अनुसार लक्ष्य अनुसार राजस्व उठ्न नसकेपछि भन्सार नाकामा कडाइ गरिएको हो । कञ्चनपुर भन्सार कार्यालयले चालू आर्थिक वर्षको ६ महीनामा २८ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएकोमा १९ करोड रुपैयाँ मात्र असुली भएको छ । यस नाकाबाट दैनिक उपभोग्य सामग्री बढी मात्रामा आयात हुने गरेको छ भने निर्यात शून्यप्रायः छ । महाकाली नदीमा रहेको वनबासा पुलको भार क्षमता कम हुँदा मालवाहक ठूला गाडी आवतजावतमा भारतले रोक लगाएको छ ।

भन्सार कार्यालयले सामानको प्रकृतिका आधारमा १० प्रतिशतदेखि ५३ प्रतिशतसम्म कर तिराउने गरेको छ । गड्डाचौकी नाकामा दैनिक डेढ सयदेखि तीन सय जनाले साइकल तथा मोटरसाइकलमा सामान भित्र्याउने गरेका छन् । राजस्व चुहावट पूर्णरूपमा नरोकिदाँसम्म नियमित चेकजाँच गरिने भन्सार कार्यालयले बताएको छ ।

यता, भन्सारमा कडाइ गरिएपछि साइकलमा सामान क्यारिङ गर्ने सेवाग्राहीले भने आम्दानी घटेको गुनासो पोखेका छन् । भारतबाट साइकलमा सामान ल्याउने गरेका स्थानीय सुरेन्द्र पाण्डेले भन्सारले चेकजाँचमा कडाइ गरेपछि दैनिक तीन सयदेखि पाँच सय रुपैयाँ मात्र आम्दानी भएको बताए । विगतमा साइकल क्यारिङबाट एक हजारदेखि १५ सय रुपैयाँसम्म आम्दानी हुने गरेको साना व्यवसायी बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)