ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धौवादीको फलामले आयात २५% घटाउने

२०७९ माघ, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । नेपालमा धेरै आयात हुने वस्तुको दोस्रो स्थानमा फलाम र यससँग सम्बन्धित सामग्री छ । आयातको पहिलो नम्बरमा पेट्रोलियम पदार्थ रहेको भन्सार विभागको तथ्यांकले देखाउँछ । धौवादी फलाम खानी सञ्चालनमा आए फलाम र फलामजन्य वस्तुको आयात घटाउन सकिन्छ ।

निजीक्षेत्रलाई समेत साझेदार बनाउने योजनासहित स्थापना गरिएको धौवादी फलाम कम्पनी लिमिटेड अहिले सरकारी स्वामित्वमा छ । फलाम र फलामजन्य वस्तु आयातको आँकडा र बजारको अवस्था विश्लेषण गर्दा उक्त खानी सञ्चालनमा आएपछि आयात २५ प्रतिशतले घटाउन सकिने अनुमान गरिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. जनकबहादुर चन्दले आयात न्यूनीकरण र स्वदेशमै रहेको कच्चा पदार्थ उपयोगले व्यापारघाटा कम गर्ने बताए ।

‘कम्पनीले फलाम तथा फलामजन्य वस्तु आयातको विश्लेषण गरेको छ,’ सीईओ चन्दले भने, ‘खानी सञ्चालनमा आएपछि यसको आयात २५ प्रतिशतले घटाउन सकिने प्रक्षेपण छ ।’ अहिलेसम्मको तथ्यांक र खानीको रिजर्भ विश्लेषण गर्दा दैनिक १६ सय टन फलाम निकाल्दा उक्त अनुपातमा आयात घटाउन सक्ने देखिएको उनको भनाइ छ । कम्पनीको अध्ययनले उक्त खानीमा १५ करोड मेट्रिक टनभन्दा बढी कच्चा फलामको भण्डार रहेको देखाएको छ । यसमध्ये खानी सञ्चालनमा आएर दैनिक १६ सय टन फलाम निकाल्दा २५ प्रतिशतले आयात कम गर्न सकिने उनको भनाइ छ ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार चालू आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्ममा नेपालले ७८ अर्ब १२ करोड ३६ लाख रुपैयाँ बराबरको फलाम तथा फलामजन्य वस्तु आयात गरेको छ । गत आर्थिक वर्ष २०७८/७९ को तुलनामा यसपालिको आयात कम हो । केन्द्रका अनुसार गत आवको यो अवधिसम्म नेपालले ९६ अर्ब ५१ करोड २४ लाख रुपैयाँ बराबरको फलाम तथा फलामजन्य वस्तु आयात गरेको थियो । आयातित फलामबाट निर्माण सामग्री, कृषि उपकरण, ग्रिल, मेशिनरीलगायत तयार हुन्छ ।

धौवादीको खानीबाट उत्पादन हुने फलामबाट पनि बिलेट (स्टीलको कच्चा पदार्थ)देखि निर्माण सामग्रीसम्म बनाउन सकिने प्रारम्भिक अध्ययनले देखाएको छ । अहिले कम्पनीले खानीको सम्भाव्यता अध्ययन गरिरहेको छ । यसको प्रतिवेदन चैत मसान्तभित्रमा तयार हुने सीईओ चन्दले जानकारी दिए । अध्ययनले व्यावसायिक रूपमा खानीबाट कति फलाम उत्खनन, उत्पादन गर्न सकिन्छ, प्लान्ट कस्तो हुने र कहाँ राखिनेलगायत कुरा स्पष्ट पार्नेछ ।

अहिलेको सम्भाव्यता अध्ययन नेपाली कम्पनीसहित दुईओटा भारतीय कम्पनीको ज्वाइन्ट भेन्चर (जेभी)बाट भइरहेको छ । सम्भाव्यता अध्ययनपछि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुनेछ । सरकारले प्रत्येक वार्षिक बजेटमा सोही आर्थिक वर्षमा धौवादीबाट फलामको व्यावसायिक उत्पादन हुने घोेषणा गर्दै आएको छ । कम्पनीका निर्देशक शैलेश थापा भने अझै धेरै काम गर्न बाँकी रहेको बताउँछन् ।

‘अहिले सम्भाव्यता अध्ययन गरिँदै छ । त्यसपछि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन ८ महीनाजति लाग्छ,’ थापाले भने, ‘यसपछि प्लान्ट निर्माण गर्न २ वर्ष लाग्छ । व्यावसायिक उत्पादनका लागि कम्तीमा ३ वर्ष लाग्ने अनुमान छ ।’ अहिले यो खानीसम्म पुग्न पूर्व–पश्चिम राजमार्गको नवलपरासीस्थित डन्डाबाट सडक बनाइँदै छ । बिजुलीका लागि नेपाल विद्युत् प्राधिकरणले ‘धौवादी प्रसारण लाइन युनिट’ बनाएर काम गरिरहेको उनले बताए ।

प्राधिकरणले प्रसारण लाइन र सबस्टेशनको काम गर्दै छ । १३२ केभीए र २२० केभीएको प्रसारण लाइन निर्माणका लागि सर्वेलगायत काम भइरहेको थापाको भनाइ छ । सरकारको ५० प्रतिशत शेयर रहने यो कम्पनीमा गण्डकी प्रदेशको ३ प्रतिशत र स्थानीयको २ प्रतिशत शेयर हुने भनिएको छ । प्रदेश र स्थानीयको शेयर अंशका लागि पहल भइरहेको चन्दले बताए ।

निजीक्षेत्रको ४५ प्रतिशत शेयर हुने भनिएको छ । सम्भाव्यता अध्ययन भएपछि मात्रै निजीक्षेत्रलाई आह्वान गरिने उनको भनाइ छ । धौवादी फलाम खानी १० किलोमीटर लम्बाइ, १५ देखि ३० मीटर चौडा र १०० मीटर गहिराइमा अवस्थित छ । खानीमा छड बनाउन सकिने गुणस्तरको फलाम देखिएको छ । यसको आधिकारिक पुष्टिका लागि खानी तथा भूगर्भ विभागले पाँच टन फलाम चीन पठाएको थियो । खानी पूर्वी नवलपरासीको हुप्सकोट गाउँपालिका ५ मा छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)