काठमाडौं । जीवन बीमा कम्पनीहरूले आफ्नो कारोबारको आकार बढाउन निष्कासन गरेका बीमालेख धेरैले किनून् भनेर प्रयास गरिरहेका हुन्छन् । बीमालेख विक्री संख्याले कम्पनीको वर्तमान र भविष्य निर्धारण गर्छ ।
बीमालेख विक्रीमा बीमाको किसिम, बीमा अवधि र बोनस दरको हात हुन्छ । देशमा सञ्चालित जीवन बीमा कम्पनीहरूको सावधिक बीमा योजना सबैभन्दा बढी विक्री भएको पाइन्छ ।
कम्पनीहरूले ल्याउने सावधिक बीमा योजना पनि फरकफरक अवधिका हुन्छ । १५ वर्ष वा त्यस आसपासका सावधिक बीमा योजना बढी विक्री भएको तथ्यांकले देखाउँछ ।
१५ वर्ष वा त्यस आसपासका सावधिक बीमा योजनामा अपवादबाहेक अधिकतम बोनस दर दिएका कम्पनीहरूले बढी बीमालेख विक्री गर्न सफल भएको हुँदा सबै कम्पनीले आकर्षक बोनस दर राख्न प्रयत्न गर्छन् ।
यसरी हुन्छ बोनस दर निर्धारण
बोनस दर निर्धारण गर्दा बीमा कम्पनीहरूले एकच्युरीबाट प्रत्येक वर्षको सम्पत्ति र दायित्वको वास्तविक मूल्य निर्धारण गराउनुपर्छ । एकच्युरीबाट भएको मूल्य निर्धारण बीमा कम्पनीहरूले नेपाल बीमा प्राधिकरणमा पेश गर्नुपर्ने कानूनी व्यवस्था छ ।
कम्पनीले एकच्युरीबाट गरेको वास्तविक मूल्य निर्धारण आर्थिक वर्ष सकिएको ५ महीनाभित्र प्राधिकरणमा पेश गर्नुपर्ने व्यवस्था छ ।
बीमा कम्पनीहरूले पठाएको वास्तविक मूल्य निर्धारण ठीक छ कि छैन भनेर हेर्न बीमा प्राधिकरणमा पनि एकच्युरी हुन्छ । बीमा प्राधिकरणको एकच्युरीपछि कम्पनीहरूले त्यसमा समीक्षा गर्छन् ।
कम्पनीहरूको समीक्षापछि प्राधिकरणले बोनस दर स्वीकृत गर्छ । बीमा प्राधिकरणले स्वीकृत गरेको बोनस दर नै कायम हुन्छ ।