काठमाडौं । भारत सरकारले आर्थिक वर्ष २०२३/२४ को बजेटमार्फत सुन आयातमा भन्सार महशुल बढाएको छ । वित्तमन्त्री निर्मला सीतारमणले सुन आयातमा लाग्ने भन्सार महशुल साढे १२ प्रतिशत गरेकी हुन् ।
नेपाल र भारतबीच खुला सिमाना एवं निर्बाध व्यापार रहेकाले भारतीय बजारमा सुनको भाउ बढ्नेबित्तिकै नेपाली बजारमा स्वत: त्यसको असर पर्ने जानकार बताउँछन् । अर्कोतिर नेपालको उत्तरी छिमेकी चीनले सुनमा सामान्य दरमा कर लगाउने गरेको छ । यस्तोमा चीनबाट नेपाल हुँदै भारत निकासीको सम्भावना नकार्न नसकिने व्यवसायी बताउँछन् । कारोना महामारीपछि चीनले नेपालसँगका नाका बन्द गरेकाले तत्काललाई नेपाललाई ट्रान्जिट बनाएर चिनियाँ सुन भारत पुर्याउने सम्भावना निकै कम देखिन्छ ।
यसबाहेक अन्य देशबाट अवैध तरीकाले नेपालमा सुन ल्याएर भारत पुर्याउने सम्भावना पनि बढेर जाने बताइन्छ । ‘यस्तो सम्भावना नरहने होइन, रहन्छ । सरकारले आफ्ना सुरक्षा एवं जाँच संयन्त्रमार्फत यसको नियन्त्रण गर्नुपर्छ,’ नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले भने । उनले यस्ता क्रियाकलापबाट नेपाली बजार पनि प्रभावित बन्न सक्ने बताए ।
नेपालले वैधानिक रूपमा दुबई, टर्की, हङकङका साथै अस्ट्रेलियाबाट सुन आयात गरिरहेको छ । नेपालमा व्यवसायीले सुन आयात गर्न पाउँदैनन् । प्रचलित व्यवस्थाअनुसार नेपालमा सुन बैंकहरूले आयात गर्छन् । व्यवसायीले बैंकबाट किन्छन् ।
भारत सरकारले सुन आयातमा लाग्ने भन्सार महशुल वृद्धि गरेसँगै नेपाली बजारमा भारतको तुलनामा सुनको भाउ प्रतितोला हजारदेखि १५ सय रुपैयाँ सस्तो पर्ने व्यवसायी बताउँछन् । यस्तोमा भारतीय ग्राहक सीमावर्ती नेपाली बजारमा आएर किन्न सक्ने महासंघ अध्यक्ष शाक्यको भनाइ छ ।
‘भारतीय ग्राहक नेपाली बजारमा आएर सुन किन्ने सम्भावना रहन्छ । यसो भयो भने राम्रै हुन्छ । नेपाली व्यवसाय बढ्नेछ, धेरैले रोजगारी पाउनेछन्,’ उनले भने । नेपाल सरकारले अहिले प्रतिदिन १० किलो सुनमात्रै बजारमा कारोबारका लागि पठाउने नीति लिएको छ । रूस–युक्रेन युद्धपछि अन्तरराष्ट्रिय आर्थिक गतिविधिमा परेको प्रभावका कारण नेपालमा पनि विदेशी मुद्रा सञ्चिति कम हुँदै गएपछि सुन आयातमा बाहिरिने डलरको मात्रा कम गर्न सरकारले प्रतिदिन बजार पठाउने सुनको परिमाण घटाएर १० किलो कायम गरेको छ । व्यवसायीले भने सिजनमा १० किलो सुन कम हुने भन्दै मात्रा बढाउनुपर्ने माग गरिरहेका छन् ।
‘१० किलो सुन कम हुन्छ । सरकारले कम्तीमा पनि २० वा २५ किलो सुन दैनिक रूपमा बजार पठाउन आवश्यक छ,’ महासंघका उपाध्यक्ष पवनकुमार सोमानीले आर्थिक अभियानसँग भने । उनले बजारलाई चलायमान बनाई राख्न सुनको मात्रा वृद्धिको विकल्प नभएको बताए ।
तर, भारतले सुन आयातमा लाग्ने कर बढाएपछि नेपालमा यसको भाउ घटेकाले बजारमा सुनको परिमाण बढाउँदा डलरमा खरीद गरेर भारूमा बेच्नुपर्ने अवस्था सृजना हुन सक्ने यथार्थलाई दृष्टिगत गर्दै सरकारले १० किलोको सीमा नबढाउने सम्भावना उत्तिकै देखिन्छ । यसै भयो भने लामो समयदेखि सुनको आपूर्ति बढाउनुपर्ने अडान राख्दै आएका व्यवसायीको माग सम्बोधन नहुने स्थिति रहनेछ ।