ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

करोडौं लगानीका चिस्यान केन्द्र बेकामे

२०७९ माघ, २६  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

पर्वत । पर्वतका विभिन्न ठाउँमा रहेका चिस्यान केन्द्र बेकामे बनेका छन् । तरकारी तथा फलफूलको भण्डारण गर्न बनेका अधिकांश चिस्यान केन्द्र प्रयोगमा आउन सकेका छैनन् भने कतिपय आंशिक रूपमा मात्र चलेका छन् ।

कृषि ज्ञान केन्द्र पर्वतका अनुसार जिल्लाभित्र विभिन्न प्रकृति र उद्देश्यका आठओटा चिस्यान केन्द्र छन् । तिनको क्षमता ६४ दशमलव ५ मेट्रिक टन छ । १० मेट्रिक टन क्षमताका भोक्सिङ, शालिजा र बनौंमा रहेका तीनओटा चिस्यान केन्द्रमा सिजनको बेला आलु भण्डारण गरिन्छ । त्यसैगरी बाँसखर्कमा १० मेट्रिक टन क्षमताको एक र कुर्घामा २ दशमलव ५ मेट्रिक टन क्षमताका दुईओटा चिस्यान केन्द्रमा सुन्तला र आलु भण्डारण गरिँदै आएको छ ।

‘हामी चिस्यान केन्द्र बनाउन बजेट माग गर्छौं, लागिपर्छौं, तर दिगो रूपमा सञ्चालन नहुँदा किसानले अपेक्षित लाभ लिन सकेका छैनन्,’ कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापाले भनिन्, ‘राज्यले भौतिक संरचनाका लागि मात्र बजेट विनियोजन गर्नुभन्दा निर्माणपछिका जटिलता, प्राविधिक ज्ञान, सहुलियत विद्युत् लगायत पक्षमा समेत ध्यान दिनुपर्छ ।’ चिस्यान केन्द्र निर्माण गरे पनि कृषकले भण्डारण नगरी ठेक्कामै आफ्ना उत्पादन बेच्ने गरेको थापाले बताइन् । कृषिउपज संकलन तथा भण्डारणका प्राविधिक ज्ञान कृषकहरूमा नहुँदा चिस्यान केन्द्रको प्रयोग कम भएको उनको भनाइ छ ।

पाँच वर्षअघि कुश्मा नगरपालिका–९ कटुवाचौपारीको बाह्रबिसेमा निर्मित चिस्यान केन्द्रमा आलु भण्डारण हुँदै आएको छ । त्यसअघि प्राविधिक ज्ञानको अभावमा कतिपय कृषिउपज कुहिने गरेको थियो । पछिल्लो समय सफल रूपमा आलु भण्डारण हुँदै आएको सञ्चालक राजबाबु पिसीले जानकारी दिए ।

पैयुँ गाउँपालिका–४ हातेमालोचोकमा चिस्यान केन्द्र निर्माण सम्पन्न भए पनि सञ्चालनमा आउन सकेको छैन । पैयुँको चिस्यान केन्द्र निर्माणमा कृषि पूर्वाधार विकास तथा कृषि यन्त्रीकरण प्रवर्द्धन केन्द्र ललितपुर र पैयुँ गाउँपालिकाको ११/११ लाख रुपैयाँ लगानी भएको छ । तर विद्युत् जडानमा समस्याले सञ्चालनमा आउन नसकेको पैंयु गाउँपालिकाको कृषि शाखाका नायव प्राविधिक सहायक सन्दिप तिवारीले बताए । मोदी गाउँपालिकाको पातिचौरमा निर्माणाधीन रहेको चिस्यान केन्द्र भने हालसम्म पनि अलपत्र छ । कृषिउपज संकलन, अल्पकालीन भण्डारण, ढुवानी, चिस्यान केन्द्रमा भण्डारण लगायत प्राविधिक ज्ञान र सहुलियतपूर्ण विद्युत् उपलब्ध भए चिस्यान केन्द्र दिगो रूपमा चल्ने सरोकारवालाहरू बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)